अप्ठ्यारोमा परेका नेपालीलाई ल्याउन आइतबार साउदीको रियादबाट नेपाल एयरलाइन्सले उडान भर्ने
फाईल तस्बिर
काठमाडौँ । कोरोनाका कारण साउदीमा अप्ठ्यारोमा परेका नेपालीलाई स्वदेश फर्काउन नेपाल एयरलाइन्सले रियादबाट उडान भर्ने भएको छ।
रियादस्थित नेपाली दूतावासका अनुसार नेपाल बायु सेवा निगमको जहाजले २१ जुन आइतबारसाउदी अरबको राजधानी रियादबाट उडान भर्न लागेको हो ।
उक्त उडानबाट स्वदेश फर्कने नेपालीहरुको सूचि नेपाल सरकारले निर्धारण गरेको प्राथमिकताका आधारमा राजदूतावासले तयार गरी नेपाल एयरलाइन्सको रियादस्थित आधिकारिक सम्पर्क व्यक्तिलाई पठाइएको दूतावासले जनाएको छ ।
सो चार्टर उडानका लागि नेपाल एयरलाइन्सले अमेरिकी डलर ४ सय ६५ (साउदी रियाल करिब १७ सय ४४) भाडा तोकेको छ ।
यसरी स्वदेश फर्कने नेपालीले कोभिड-१९ को संक्रमण नभएको प्रमाणपत्र साथैमा राख्नुपर्नेछ । दूतावासले कोरोनाको परीक्षण सकभर आफ्नो कम्पनीमार्फत् गर्ने व्यवस्था गर्न अनुरोध गरेको छ । आफ्नो कम्पनीमार्फत सम्भव नहुनेहरुले आफूलाई थाहा भएको वा पायक पर्ने स्थानमा परीक्षण गराउन दूतावासले सुझाएको छ ।
कोरोना परीक्षणका लागि दूतावासले समेत रियादमा उपयुक्त स्थान खोजी गरिरहेको र सो स्थानको बारेमा चाँडै नै जानकारी गराइने दूतावासको भनाइ छ ।
दूतावासका अनुसार स्वदेश फर्किनेले विमानमा चढ्नुअघि कोरोना संक्रमण नियन्त्रण सम्बन्धी नेपाल सरकारले निर्धारण गरेको क्वारेनटाइनलगायत सम्पूर्ण प्रावधानहरु पालना गर्नेछु भनेर हस्ताक्षर गर्नुपर्नेछ ।

No ads found for this position

डिसी नेपाल
Facebook Comment