यूएईबाट ९४ गर्भवती महिलासहित १४८ नेपाली स्वदेश फर्किए

डिसी नेपाल
५ असार २०७७ १२:२७
20
Shares

काठमाडौँ । यूएईको दुबईबाट ९४ गर्भवती महिलासहित १४८ नेपाली स्वदेश फर्किएका छन् । उनीहरु नेपाल एयरलायन्सको आरए २२९२ नम्बरको न्यारोबोडी चार्टड जहाजमार्फत स्वदेश फर्किएका हुन् ।

एनआरएनए यूएईका उपाध्यक्ष पासाङ शेर्पाका अनुसार १ सय १ जना महिला र ४७ जना पुरुष स्थानीय समयअनुसार शुक्रबार बिहान करिब ५.१० बजे काठमाडौँका लागि उडेका हुन् । बिमान पूर्वनिर्धारित समय अनुसार ४ घण्टा ढिला उडेको थियो ।

स्वदेश फर्कनेहरुमा ९४ गर्भवती महिला, २७ गर्भवती महिलाका श्रीमान, ९ दीर्घ रोगी बिरामी, ३ जेष्ठ नागरिक,१ जना प्यारालाइसिस भएका बिरामी, १० वर्किङ भिसा सकिएका र अन्य केहि जना यात्रु रहेको शेर्पाले बताए ।

त्यस्तै सोही उडानमा एक जनाको शव पनि पठाइएको छ । ब्रेन ट्युमरका कारण ज्यान गुमाएका सिन्धुपाल्चोकका पेमा नुर्बु यल्मोको शव पठाइएको शेर्पाले जानकारी दिए ।

उक्त उडानबाट स्वदेश फर्कने नेपालीहरुको सूचि नेपाल सरकारले निर्धारण गरेको प्राथमिकताका आधारमा आबुधाबीस्थित नेपाली राजदूतावासले तयार गरेको हो ।

यूएईबाट नेपाल एयरलाइन्स, हिमालय एयरलाइन्स, फ्लाइ दुबई र एयर अरबियाले काठमाडौँ उडानका लागि अनुमति पाएका छन् ।

यूएईको आबुधाबीबाट हिमालय एयरलाइन्सले २०, २३ र २४ जुनमा समस्यामा परेका नेपालीहरु बोकेर काठमाडौँका लागि उडान गर्नेछ । त्यस्तै नेपाल एयरलाइन्सको अर्को उडान भने २१ जुनमा हुनेछ ।

नेपाल सरकारले कोरोना संक्रमणका कारण विभिन्न मुलुकमा अलपत्र परेका नपाली नागरिकलाई स्वदेश फर्काउने निर्णय गरेसँगै विभिन्न मुलुकमा रहेका नेपाली कामदार स्वदेश फर्किने क्रम जारी छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *