बेलायतबाट दोस्रो चार्टर्ड विमानमार्फत ८३ नेपाली काठमाडौँका लागि उडे

डिसी नेपाल
१२ असार २०७७ १९:३५

लण्डन । करोना महामारीका कारण बेलायतमा अडकिएका थप ८३ नेपाली शुक्रबार नेपालका लागि उडेका छन् । उनीहरु एनआरएनए यूकेको पहलमा बेलायतस्थित नेपाली दूतावासले प्रवन्ध गरेको दोस्रो चार्टर फ्लाइटमा नेपाल फर्किएका हुन् ।

उनीहरु शुक्रबार दिउँसो लन्डनको गेटविक एयरपोर्टबाट नेपाल उडेको एनआरएनए यूकेकी अध्यक्ष पुनम गुरुङले जानकारी दिएकी छिन्।

नेपाल फर्कने नेपालीहरुको विदाईका लागि नेपाली राजदूतावास लण्डनका प्रवक्ता शरदराज आरण, गैरआवासीय नेपाली संघकी अध्यक्ष पुनम गुरुङ्ग, महासचिव फडिन्द्र भट्टराईलगायतका पदाधिकारी विमानस्थलमा पुगेका थिए । उनीहरुको विदाईको लागि बेलायतस्थित नेपाली सामाजिक संघसँस्थाका प्रतिनिधीसमेत विमानस्थल पुगेका थिए ।

यसअघि बुधवार पहिलो चार्टर्ड विमान जजिरा एयरलाइन्सको उडानबाट १ सय ४६ नेपाली स्वदेश फर्किएका थिए । १ सय ५८ जना क्षमता रहेको जहाजको लागि दोस्रो चार्टर फ्लाइटका लागि सोसाइटी इन्टरनेसनल ट्राभल्स सर्भिसेजको लागि एनआरएनए यूकेका सल्लाहकार तथा क्याट यूकेका अध्यक्ष जीबन सेनले स्थानीय ब्यबस्थापनको जिम्मा लिएका थिए ।

यसअघि गैरआवासीय नेपाली संघ युके र नेपाली दूतावासले संकलन गरेको सूचिमा रहेका ४ सय २० जनाले नेपाल जान इच्छा देखाएका थिए । पहिले जान ईच्छुक भएकाहरु पनि भाडा सोचे भन्दा महंगो भएका कारण पछिल्लो समयमा नजाने मनस्थितीमा पुगेको एनआरएनए यूकेकी अध्यक्ष पुनम गुरुङले बताइन् ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *