पराजुलीको पुस्तक फ्रान्सको ‘फर्स्ट नोवेल पुरस्कार’का लागि मनोनित
काठमाडौं। नेपाली जनजीवनका बारेमा साहित्य लेख्दै आएका लेखक प्रज्वल पराजुलीको उपन्यास ‘ल्याण्ड ह्वेर आइ फ्ली’ फ्रान्सको प्रसिद्ध ‘फर्स्ट नोवेल पुरस्कार’का लागि मनोनित भएको छ । मूल रुपमा अंग्रेजी भाषामा लेखिएको यो उपन्यासको फ्रेन्च अनुपाद यो प्रतिष्ठित पुरस्कारका लागि मनोनयनमा परेको हो । लेखक पराजुली नेपाली आमा र भारतीय पिताका छोरा हुन् । सिक्किमको गान्तोकमा जन्मिएका पराजुली अहिले न्यूयोर्क र कलकत्तामा बस्दै आएका छन् ।
द सिक्किम क्रोनिकलका अनुसार दुई हप्ता अघि मात्र उनको यो उपन्यासले ‘एमिली गुइमेट पुरस्कार’को मनोनयनमा पनि स्थान बनाएको थियो । यो पराजुलीको पहिलो उपन्यास हो । यो उपन्यासले यतिसम्म लोकप्रियता पाएको थियो कि यसलाई बेलायतमा त्यहाँको इन्डिपेन्डेन्ट अखबारले, अमेरिकामा त्यहाँको कान्सास सिटी स्टारले, भारतमा द हिन्दूस्तान टाइम्स र अन्य प्रकाशनहरुले ‘वर्ष पुस्तक’को रुपमा छानेका थिए । भोग इण्डियाले छानेका दक्षिण एसियाका महान उपन्यासको सूचीमा भएका ८ उपन्यासमध्ये यो पनि एउटा हो ।

यो पुस्तक बेलायतमा ‘द डिलान थोमस प्राइज’, अमेरिकामा ‘द स्टोरी प्राइज’का लागि पनि सर्टलिस्टमा परेको थियो । दक्षिण अफ्रिकाको ओप्राह बुक क्लवका पनि यसले स्थान बनाएको थियो । ‘ल्याण्ड ह्वेर आइ फ्ली’ विश्वका विभिन्न स्थानमा बसिरहेका ४ नेपाली–भारतीय दाजुभाइ र दिदीबहिनीहरुको कथा हो जो आफ्नो हजुरआमाको ८४ औं जन्मदिनका लागि सिक्किमको गान्तोकमा जम्मा हुन्छन् ।
‘फर्स्ट नोवेल प्राइज’ एक फ्रेन्च र एक विदेशी लेखकलाई दिइन्छ । यो पुरस्कारको घोषणा आगामी अक्टोबर २६ मा हुँदैछ । पराजुलीको यसअघिको लघुकथा संग्रह ‘द गोर्खाज डटर’ (गोर्खालीकी छोरी) पनि अन्तइतै लोकप्रिय भएको थियो । मूल रुपमा अंग्रेजीमा लेखिएको यो कथा संग्रह बेस्ट सेलर बनेको थियो ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment