८ फरार अभियुक्त पक्राउ

डिसी नेपाल
१५ असोज २०७७ २१:०७

गलकोट । जिल्ला प्रहरी कार्यालय बागलुङले आठ फरार अभियुक्तलाई आज पक्राउ गरेको छ । जिल्ला अदालतले फैसला सुनाई कैद तथा जरिवाना भुक्तान गर्न बाँकी रहेका विभिन्न मुद्दाका फरार अभियुक्तलाई पक्राउ गरी जिल्ला अदालतमा पेश गरेको प्रहरी नायब उपरीक्षक राजेन्द्र रेग्मीले जानकारी दिए ।

गोबध मुद्दामा पाँच महिना १७ दिन कैद सजाय भुक्तान गर्न बाँकी जैमिनी नगरपालिका–६ का गगन नेपाली र २२ वर्षीय कृष्णबहादुर नेपालीलाई पक्राउ गरिएको छ । यस्तै सार्वजनिक मुद्दामा रु दुई हजार जरिवानाका जैमिनी–६ का ३० वर्षीय रामबहादुर नेपालीलाई पक्राउ गरिएको छ ।

यसैगरी आगलागी मुद्दामा जैमिनी–८ छिस्तीका ७४ वर्षीय बलबहादुर सुनार विकलाई पाँच महिना ६ दिन कैद भुक्तान गर्नलाई पक्राउ गरिएको हो । यस्तै जबर्जस्ती करणीमा नौ महिना २१ दिन कैद भुक्तान गर्न बाँकी रहेका जैमिनी–९ का ३३ वर्षीय भुवन अधिकारी पक्राउ गरिएको हो ।

यसैगरी लुटपिट मुद्दामा ढोरपाटन नगरपालिका–१ का ४५ वर्षीय अर्जुन गौचनलाई रु पाँच हजार जरिवाना, कुटपिट मुद्दामा चार महिना २८ दिन कैद र रु एक हजार ५०० जरिवाना तोकिएका बडिगाड गाउँपालिका, दर्लिङका २९ वर्षीय डोरबहादुर घर्ती र दीपेन्द्र बुढालाई पक्राउ गरी जिल्ला अदालतमा पेश गरिएको सूचना अधिकारी रेग्मीले जानकारी दिए । रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *