नेपालमा पनि बेलायत जस्तै फेरि लकडाउनको अवस्था आउन सक्छ!

तर्कबहादुर थापा
२१ पुष २०७७ १३:२६

काठमाडौं। कोरोना भाइरस पहिचान भएको १ वर्षपछि बेलायतले तेस्रो पटक लकडाउन ग-याे। बेलायतमा कोरोना भाइरसको नयाँ स्वरुप अनियन्त्रितरुपमा फैलिएपछि तेस्रो पटक लकडाउनका घोषणा गरेको हो।

बेलायत आसपासका देशहरुमा पनि नयाँ स्वरुपको कोरोना भाइरसका विरामीहरु फेला परेका छन्। अहिले बेलायतसँग सबै देशहरुले जल, थल तथा हवाई सम्बन्ध विच्छेद गरेका छन।

भारतमा बेलायतबाट आएका करिव ३८ जनामा नयाँ स्वरुपको कोरोना भाइरस फेला परिसकेको छ। कोरोना भाइरसभन्दा करिव ७० प्रतिशत बढी फैलिनसक्ने क्षमता राख्ने नयाँ स्वरुपको भाइरसले भारतमा पनि आफ्नो अड्डा जमाउन थालेको छ।

भारतमै निर्मित खोपको तेस्रो परीक्षण सफल भए पनि नयाँ स्वरुपको कोरोना भाइरसका कारण भारत सरकार चिन्तित छ। नेपालमा भने राजनीतिक उथलपुथलका कारण नयाँ भाइरस सर्ने सम्भावना प्राप्त रहेको जनस्वास्थ्य विज्ञ डा रवीन्द्र समिर बताउँछन्।

डा. समिरका अनुसार कोरोना भाइरसभन्दा ७० प्रतिशत बढी फैलन सक्ने क्षमता राख्ने कोरोनाको नयाँ स्वरुपको भाइरसका लागि सरकार र राजनीतिक दल गम्भिर देखिएका छैनन्।

राजनीतिक दलले पनि आफ्नो राजनीतिक स्वार्थका लागि जनताको स्वास्थ्यमा खेलबाड गरिरेको उनको भनाइ छ। प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि नेपालमा क्रियाशिल राजनीतिक दलहरुले विरोधको नाममा जनमास जम्मा गर्ने, शक्ति प्रदर्शन गर्ने लगायतका कामहरु गरिरहेका छन्।

सावधानी अपनाउन अनुरोध गरिरहँदा राजनीतिक दलहरु भने केन्द्रदेखि वडासम्म कार्यकर्ता परिचालन गरेर नाराबाजीमा जुटेका छन्। कोरोनाको महामारीले जनजीवन अस्तव्यस्त हुँदा नदेखिएका पार्टीका कार्यकर्ता अहिले सडकमा पचासौं हजारको संख्यामा नारावाजीका लागि देखिनु दुःखद भएको विज्ञको गुनासो रहेको छ।

राजनीतिक दलका यी कार्यक्रमहरुले जनताको स्वास्थ्यमा ठूलो खेलवाड भएको विज्ञहरुको भनाइ छ। जनस्वास्थ्य विज्ञ डा. रविन्द्र पाण्डे गत सेप्टेम्बरमा पनि विश्वका केही देशहरुमा फेला परेको बताउँछन्।

डिसी नेपालसँग कुरा गर्दै डा. पाण्डेले भने, ‘गत सेप्टेम्बरमा स्पेन, दक्षिण अफ्रिका र अमेरिकालगायतका देशहरुको कृषि फार्महरुमा देखिएको थियो। त्यो बेलामा नफैलिएका कारण यसलाई त्यतिधेरै महत्वका साथ हेरिएन। बेलायतको दक्षिणपूर्वी भागबाट फैलिएको कारण बाहिर आएको हो।’

‘पुरानो कोरोना भाइरस भन्दा ७० प्रतिशत बढी फैलिन सक्ने क्षमता राख्दछ,’ डा. पाण्डेले भने, ‘यो भाइरस चाँडो फैलिने भएका कारण नेपालमा अस्पताल, स्वास्थ्यकर्मी लगायत जनजीवन पनि तहसनहस हुन सक्छ। हामीले बेलैमा यस्ता विषयमा सजक भएर, पुरानै स्वास्थ्य मापदण्डलाई अझै कडाइका साथ पालना गर्नु पर्छ।’

अन्य देशमा भुसको आगो जस्तै फैलिएको कोरोना भाइरसको नयाँ स्वरुपलाई लिएर विकसित मुलुक धेरै सचेत देखिएका छन्। बेलायतजस्तो बिकसित मुलुकले तेस्रो पटक लकडाउन गरेको छ र आफ्ना नागरिकलाई अत्यावश्यक काम नगरेसम्म घरबाट बाहिर ननिस्किन भनेको छ।

कोरोनाबाट बच्न आफैं आत्मअनुशासित हुनुपर्ने विज्ञहरु बताउँछन्। ‘हामीले आफैलाई आत्म अनुसाशित गरेनौं भने कोरोनाको पहिलो चरण भन्दा दोश्रो चरणमा अझ धेरै दुःख पाउँछौं। त्यसैलो राजनीति गर्ने नेता, उनीहरुको पछिलाग्ने हामी जनता सबैले बेलैमा बुद्धि पुर्याउनु आवश्यक छ। नत्र, पहिलेको भन्दा धेरै खतरा हुन सक्छ,’ जनस्वाथ्यविद पाण्डे भन्छन्।

नेपालमा डिसेम्बर १३ पछि करिव ३ सय जना बेलायतबाट नेपाल आएका छन्। नेपाल आएका मध्ये ५ जनामा पोजेटिभ देखिएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार उनीहरुको स्वाब परीक्षणका लागि हङकङ पठाइएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले स्वाब परीक्षणको रिपोर्ट नआइसकेको बताए।

‘बेलायतबाट आएका ५ जनालाई कोरोना पोजेटिभ देखिएको छ। उहाँहरुको स्वाबलाई बाहिर पठाइएको छ। हामीले जीन सीक्वाइन्सिङ गर्दैछौं,’ प्रवक्ता डा. गौतमले डिसी नेपालसँग भने, ‘कोरोनाको पुरानै भाइरस छ वा नयाँ भाइरस छ भन्ने कुरा केहीपछि थाहा हुन्छ।’ डा. गौतमका अनुसार स्वास्थ्य मन्त्रालयले बनाएका स्वास्थ्य सम्बन्धि मापदण्डहरुलाई अझै कडाइकासाथ पालना गर्नु पर्छ।

‘हामीले स्वास्थ्य मापदण्डलाई अझै कडाईका साथ पालना गर्नुको विकल्प छैन। यो रोग कोरोना जस्तै हो। तर, चाडो संंक्रमण गराउने भएकाले मास्क, सेनिटाइजर र भौतिक दुरीलाई अझै फ्लोअप गर्नु पर्छ,’ बेलायतमा लकडाउन भएको स्मरण गराउँदै प्रवक्ता गौतमले भने, ‘नेपालमा पुनः लकडाउन नहोस भन्ने चाहनुहुन्छ भने स्वास्थ्य सम्बन्धी मापदण्डहरु कडाईका साथ पालना गर्नुहोस्। यदि लापरवाही गर्नुहुन्छ भने पुनः लकडाउन गर्नुपर्ने अवस्था आउछ।’

जनस्वास्थ्य विज्ञ र स्वास्थ्य मन्त्रालयले समेत सावधानी अपनाउन अनुरोध गरिरहँदा राजनीतिक दलहरु भने केन्द्रदेखि वडासम्म कार्यकर्ता परिचालन गरेर नाराबाजीमा जुटेका छन्। कोरोनाको महामारीले जनजीवन अस्तव्यस्त हुँदा नदेखिएका पार्टीका कार्यकर्ता अहिले सडकमा पचासौं हजारको संख्यामा नारावाजीका लागि देखिनु दुःखद भएको विज्ञको गुनासो रहेको छ।

यतिबेला पार्टीहरुले राजनीतिक नारा भन्दा पनि जनताको स्वास्थ्यमा ध्यान दिन सरकारलाई उनीहरुले आग्रह गरेका छन्। दोश्रो चरणमा कोरोना फैलिनका लागि नेपालमा राजनीतिक पार्टीका भेला, सभा सम्मेलन र गोष्ठीहरुले अनुकुल वातावरण निर्माण गरेको उनीहरुको भनाइ छ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *