नाकाबन्दीले झन बलियो भयो कतार

डिसी नेपाल
२४ पुष २०७७ २१:३८

रियाद (बीबीसी) साउदी अरबको प्राचीन शहर अल उलाको हेरिटेज साइडकोमा शान्तिपूर्ण माहोलमा यसै हप्ता गल्फ कोअपरेशन काउन्सिल –जीसी)का देशहरुबीच भएको ‘एकजुटता र स्थिरता’ सम्झौताले खाडी देशहरुको सम्बन्धमा एक नयाँ शक्ति उत्पन्न भएको छ।

खाडी देशरुको वार्षिक शिखर सम्मेलनमा यो सम्झौताको घोषणा गर्दै साउदी क्राउन प्रिन्स मोहम्मद बिन सलमानले भने, ‘यो सम्झौताले हाम्रो खाडी, अरब र इस्लामी एकजुटता र स्थिरतालाई पुष्टि गर्छ।’

यसअघि उनले कतारका अमीर तमीम बिन हमद अल थानीलाई सबैका अगाडि अंगालो हालेर उनको स्वागत गरेका थिए। यसले साउदी अरब एक कदम अगाडि बढेर कतासँग राजनीतिक सम्बन्ध विस्तार गर्न इच्छुक रहेको संकेत गर्छ।

खाडीका ६ देशका साथै इजिप्ट, टर्की र ईरानले पनि यो सम्झौताको स्वागत गरेका छन्। ईरानका विदेशमन्त्रीले एक ट्वीट गर्दै भनेका छन्, ‘दबाब र जबरजस्ती असुलीविरुद्ध बलियोसँग लडेकोमा कतारलाई मुबारक। हाम्रा अन्य अरब छिमेकीहरुका लागि ईरान न त दुश्मन हो न उनीहरुका लागि खतरा। अब बलियो क्षेत्रका लागि हाम्रो प्रस्तावलाई गम्भीरतापूर्वक लिने समय आएको छ।’

कुवेत र अमेरिकाको सल्लाहामा पहल

साढे तीन वर्षसम्म साउदी अरब, सँयुक्त अरब इमिरेट्स (यूएई), बहराइन र इजिप्टले हवाई, जमीन र समुद्रको बाटोमा नाकाबन्दी गरेर कूटनीतिक सम्बन्ध तोडेर यो सानो खाडी देशमाथि बलियो दबाब बनाएका थिए।

यी चार देशहरुले २०१७ मा ३० लाखभन्दा कम जनसंख्या रहेको र तेल तथा ग्यासको भण्डारले भरिएको देश कतारविरुद्ध आतंकवादलाई समर्थन गरेको आरोप लगाएका थिए। उनीहरुले आतंकवादको समर्थन नगर्न, ईरानसँग धेरै सम्बन्ध नराख्न र दोहास्थित अलजजिरा टेलिभिजन बन्द गर्न माग गरे।

कतारले आतंकवादको समर्थन गरेको आरोपलाई अस्वीकार गर्यो भने अल जजिरामाथि कुनै प्रतिबन्ध लगाएन।

यस्तो अबस्तामा चारै देश कतारसँग राजनीतिक सम्बन्ध बहाल गर्न र नाकाबन्दीलाई समाप्त गर्न किन तयार भए? भन्ने प्रश्न उठ्छ। हालका महिनाहरुमा अमेरिका र कुवेतले यो गतिरोध समाप्त गर्न प्रयास गरेको बताइन्छ। खास गरेर कुवेतले पर्दा पछाडिबाट दुबै पक्षलाई मनाउन निकै प्रयास गरेको थियो। बीबीसीक पश्चिम एशिया विशेषज्ञ फ्र्यांक गार्डनर भन्छन्, ‘धेरैजसो कुवेत र केही अमेरिकाको महिनौंको अनथक कूटनीतिक प्रयासको नतिजामा कतारविरुद्धको नाकाबन्दी समाप्त भएको छ।’

यो त ठिक छ, सम्झौताको कुरा केही महिनादेखि जारी थियो र जीसीसीको बैठक हरेक वर्ष हुन्छ। त्यसो भए अचानक सम्झौता कसरी तय भयो ? के अमेरिकी चुनावमा राष्ट्रपति डोनाल्ड ट्रम्पको हार यसको तत्कालिन कारण थियो?

जवाहरलाल नेहरु विश्वविद्यालयमा पश्चिमी एशिया मामिलाका विशेषज्ञ प्रोफेसर आफताब कमाल पाशाको जवाफ छ, ‘हो। उनी भन्छन्, ‘यसको तत्कालिन कारण ट्रम्प पराजित हुनु र जो बाइडेनले दुई हप्तापछि सत्ता सम्हाल्नु हो। बाइडेनले स्टपष्ट रुपमा ईरानसँग केही शर्तसहित परमाणु सम्झौतामा सहभागी हुने बताइसकेका छन्। र उनले साउदी अरबलाई पत्रकार जमाल खशोज्जीको हत्यालाई उनले एक मानवअिधकार मामिला घोषित गर्ने र छानविन गर्ने चेतावनी दिएका छन्।यमनमा साउदी अरब र यूएईको सैन्य कारबाहीको पनि छानविन हुनेछ। उता कतारका अमीर थानीले पनि केही लचकता देखाए। जसले गर्दा मामिला सुल्झाउन सहज भयो।’

सम्बन्ध किन खराब भएको थियो ?

कतार बलियो भएर उभिनुको एक कारण थियो, उ आतंकवादको समर्थन देश होइन भन्ने विश्वास। खासमा इस्लामकि ब्रदरहुड वा इख्वान उल मुस्लिमीन इजिप्ट र साउदीको दृष्टिकोणमा एक आतंकवादी संगठन हुन्। जबकी कतार, प्यालेस्टाइन र टर्की यी संगठनलाई मात्र कट्ट इस्लामी संस्थाका रुपमा हेर्छन्।

कतारले चरमपन्थको सर्मथन गरेको आरोपलाई अस्वीकार गर्छ, उसले गाजा, लीबिया र अन्य स्थानमा राजनीतिक इस्लामवादी आन्दोलनको समर्थन गरेको छ। विशेष गरेर पारम्पारिक मुस्लिम ब्रदरहुड जस्ता संस्थाहरु जसलाई खाडीका देशहरुको दृष्टिकोणमा एक चरमपन्थी संगठन हुन्।

अर्को कारण कतारमाथि ईरानसँग बलियो सम्बन्ध नराख्न दबाब। उसले त्यो दबाबलाई विदेश नीतिविरुद्ध एक प्रहारका रुपमा हेर्छ। तर जीसीसीको एक सदस्य भएकाले उसले जीसीसीले तय गरेको नीतिलाई लागु गर्नुपर्छ। खासमा यी चार देश र कतारबीच २०१४ मै सम्बन्धमा तिक्तता आएको थियो। त्यतिबेला यी चार देशले कतारबाट आफ्ना दूत फिर्ता बोलाएका थिए।

मित्रहरुको सहयोग

यस संकटका क्रममा कतारको शक्ति यसका मित्र देशहरुको सहयोग पनि थियो। यस पूरा साढे ३ वर्षमा टर्कीले कतारलाई व्यापक समर्थन दियो। यसअघि पनि कतारको झकाव टर्कीतर्फ देखिन्थ्यो।

नाकाबन्दीभन्दा एक वर्ष पहिला कतारले टर्कीलाई एक सैन्य अड्डा बनाउन अनुमति दिएको थियो। कतारको यो कदमले साउदी र यूएई दुःखी भएका थिए। र यी देशहरुले कडा प्रतिक्रिया पनि दिएका थिए। तर, कतारले एक सानो देश भए पनि शक्तिशाली मित्र रहेको सन्देश दियो। यो घटनाले तिक्तता बढाउँदै लियो र जून २०१७ मा नाकाबन्दीसम्म पुग्यो।

कतारको जित भयो ?

संकटबाट घेरिएको कतारलाई राम्रोसँग थाहा थियो, उसका विरुद्धको कारबाही स्वभाविक होइन र अन्तमा उसको जित हुनेछ। नाकाबन्दी समाप्त गर्नका लागि कतारसँग १३ वटा शर्त राखिएको थियो। एक दुईबाहेक कतारले कुनै पनि शर्त मानेन।

उदाहरणका लागि चार महत्वपूर्ण शर्त, अल जजिरामाथि प्रतिबन्ध, ईरानसँग सम्बन्धलाई सिमित गर्नुपर्ने, चरमपन्थी संगठनमाथि अंकुश लगाउनुपर्ने र टर्कीको सैन्य अड्डा बन्द गर्नुपर्ने। कतारले यी कुनै पनि शर्त मानेन। फ्र्यांक गार्डनरले यो कतारको जित भएको बताए। उनले भने, ‘साउदी अरब र यूएईले मिलेर एक काल्पानिक संकट उत्पन्न गराएका थिए, जुन धेरै समयसम्म टिक्न सक्थेन।’ कतारलाई नाकाबन्दीले समस्या भए पनि उसले घुँडा टेकेन।

अर्कोतर्फ साउदी र यूएईलाई विश्वास थिएन, कतारले आफ्नो सैन्य क्षमता यति बढाउने छ, जो एक क्षेत्रीय शक्तिका रुपमा उदाउनेछ। संकटभन्दा पहिला कतारको वायु सेनासँग मात्र १२ जेट फाइटर थिए। प्रोफेसर पाशाका अनुसार अब कतारसँग २५० फाइटर छन्। यसका साथै केही ड्रोन पनि किनेको छ। अमेरिका, फ्रान्स, टर्की, इजरायलबाट पनि हतियार किनेर कतार बलियो भएको हुन सक्ने पाशा बताउँछन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *