अस्ट्रेलियाको गार्डनर्स फल्समा पौडी खेल्न पानीमा हाम्फालेका नेपालीको डुबेर मृत्यु

डिसी नेपाल
१४ माघ २०७७ १२:४८

काठमाडौं। अस्ट्रेलियाको क्विन्सल्याण्ड राज्यको मलेनीमा रहेको गार्डनर्स फल्समा पौडी खेल्नका लागि हाम्फालेका एक नेपालीको डुबेर मृत्यु भएको छ । ती नेपाली पानीभन्दा केही माथि चट्टानबाट पानीमा हाम्फालेका थिए । पानीमा हाम्फालेपछि उनी हराएका थिए र १० मिनेटसम्म देखिएका थिएनन् । प्रत्यक्षदर्शीहरुलाई उद्धृत गर्दै एबीसी न्यूजले लेखेअनुसार उनी १० मिनेटपछि एकपटक सतहमा देखिएका थिए र फेरि डुबेका थिए ।

उनी मंगलबार बेलुकी स्थानीय समयअनुसार ५ बजे डुबेको बताइएको छ । उद्धारकर्ताहरुले बेलुकी करिब ८ बजेतिर उनको शव फेला पारेका थिए । करिब ४० वर्षका ती नेपाली करिब १८ महिनादेखि अस्ट्रेलियामा बस्दै आएको बताइएको छ । उनको परिवारसँग सम्पर्क गर्ने प्रयास भइरहेको समाचारमा जनाइएको छ । उनी नेपाली हुन् भन्ने खुलेपछि उनको नाम र थप विवरण खुलाइएको छैन ।

उनी अस्ट्रेलियामा क्यालोन्ड्रामा बस्दै आएको बताइएको छ । कार्यवाहक इन्स्पेक्टर जोन माहोनीका अनुसार ती नेपाली राम्रोसँग पौडिन नजान्ने भएको विश्वास गरिएको छ । त्यहाँ पौडी खेलिरहेका एक व्यक्ति किरोन वाकरका अनुसार पानीको एक किनारातर्फ पानीभित्र चट्टानहरु छन् र ती चट्टानहरु बाहिरबाट देखिँदैनन् । ती नेपाली हाम्फाल्दा चट्टानमा ठोक्किएर पौडी खेल्न नसक्ने भएको हुनसक्ने समेत अनुमान गरिएको छ । सनसाइन कोस्टका मेयर मार्क जेमिसनले मृतकको परिवारप्रति समवेदना व्यक्त गरेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *