कोरोना अवधियता ६३ हजारभन्दा बढीले लिए श्रम स्वीकृति

डिसी नेपाल
५ फागुन २०७७ १४:१९
148
Shares

काठमाडौं। कोरोना संक्रमण महामारीदेखि २९ माघसम्म वैदेशिक रोजगारीका लागि पुनः नयाँ र वैधानिकरण गरी ६२ हजार जनाभन्दा बढीले श्रम स्वीकृति लिएका छन्। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जारी गरेको साप्ताहिक रिपोर्टका अनुसार ६२ हजार सात सय ४६ जनाले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका हुन्।

यसमा कति महिला–पुरुषले श्रम स्वीकृति लिए भन्ने बारे भने उल्लेख गरिएको छैन्। मन्त्रालयका अनुसार पुनःश्रम स्विकृतितर्फ सबैभन्दा बढी ३९ हजार आठ सय २४ जनाले श्रम स्विकृति लिएका छन् भने पुनःश्रम स्वीकृतिपछि २० हजार ६ सय १८ जनाले नयाँ श्रम स्वीकृति लिएका छन्। त्यस्तै, वैधानिकरणतर्फ दुई हजार तीन सय चार जनाले श्रम स्वीकृति लिएका छन्।

यसैगरी पाँच सय चार जना गैरनेपाली नागरिकलाई नयाँ श्रम स्विकृति दिएको पनि मन्त्रालयले उल्लेख गरेको छ। मन्त्रालयको रिपोर्टअनुसार पाँच सय ८३ गैरनेपालीको श्रम स्वीकृति नवीरकण गरिएको छ।

मन्त्रालयका अनुसार कोरोनालगायत समस्यामा परेका १९ हजार पाँच सय दुई जना नेपालीको एकै हप्तामा उद्धार गरिएको मन्त्रालयले जनाएको छ। उनीहरुको २२ माघदेखि २९ माघसम्म उद्धार गरिएको हो। कोरोनालगायत समस्यामा परेका दुई लाख ७८ हजार तीन सय ५४ जनाको उद्धार गरिएको छ।

त्यसैगरी, विदेशबाट कोरोना महामारीले रोजगार गुमाएर फर्किँदै गर्दा नेपालमा बेरोजगारीको संख्या बढेको छ। मन्त्रालयका अनुसार सात लाख ४३ हजार एक सय ६२ नेपालीले बेरोजगारको सूचीमा आफ्नो नाम दर्ता गराएका छन्।

त्यस्तै, प्रधानमन्त्री रोजगार कार्यक्रअन्तर्गत १६ हजार पाँच सय ६२ जनाले रोजगार पाएको मन्त्रालयले जनाएको छ। तर बेरोजगार दर्ता गराएकामध्ये कतिले रोजगार पाए भन्ने सन्दर्भमा मन्त्रालयले कुनै विवरण समावेश गरेको छैन।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *