नेपाली युवाले वृद्ध जापानी महिलालाई लाखौं ठगिनबाट बचाए, फुकुशिमा पुलिसबाट सम्मानित
काठमाडौं। एक नेपाली युवाले वृद्ध जापानी महिलालाई लाखौं ठगिनबाट बचाएका छन् । एक स्टोरमा क्लर्कको रुपमा कार्यरत ती नेपालीले वृद्ध महिलालाई इन्टरनेट फ्रडमा ठगिनबाट जोगाएकोमा फुकुशिमा पुलिसले उनलाई प्रशंशा पत्रले सम्मानित गरेको छ ।
फुकुशिमा पुलिस स्टेशनलाई उद्धृत गर्दै एसिया वनले जनाएअनुसार ती वृद्ध महिला ती नेपालीले काम गर्ने स्टोरमा डेढ लाख जापानी येन (१ लाख ६५ हजार नेपाली रुपैयाँ) बराबरको विद्युतीय मुद्रा किन्न आएकी थिइन् । जनवरी १८ को दिन बेलुका आएकी ती महिलाको कुरा सुनेपछि ती नेपाली क्लर्क सशंकित भएका थिए ।
नेपाली युवाले महिलालाई यो पैसा आफैं प्रयोग गर्ने हो वा केका लागि हो भनेर सोध्दा ती महिलाले झुक्किएर आफूले खोलेको एक वेबसाइटमा यो पैसा पठाउन लागेको बताएकी थिइन् । महिलाले आफूले पठाएको केही पैसा फिर्ता आउने पनि बताएकी थिइन् । महिलाको कुरा सुनेर नेपाली युवालाई यो अनलाइन स्क्याम हुन सक्ने शंका लागेको थियो । उनले महिलालाई विद्युतीय मुद्रा नकिन्न भने पनि उनले ‘मैले गल्ती गरें’ भनिरहिन् । अन्ततः १० मिनेटपछि महिला पुलिस बोलाउन राजी भइन् ।
महिलाका अनुसार उनले योबाहेक अन्य स्टोरमा समेत गएर अरु ४ लाख येन (४ लाख ४० हजार नेपाली रुपैयाँ) बराबरको विद्युतीय मुद्रा किन्ने योजना बनाएकी थिइन् । ३५ वर्षका ती नेपालीको पहिचान खुलाइएको छैन । उनी विगत १२ वर्षदेखि जापानमा बस्दै आएका छन् । उनी २००९ मा टोक्योमा रहेको एक स्कुलमा भर्ना भएर पढ्नका लागि जापान गएका थिए ।
२०११ मा जापानमा ठूलो भूकम्प गएपछि उनी फुकुशिमाको इवाकीमा स्वयंसेवकको रुपमा काम गरेका थिए । उनले जापानी महिलासँग बिहे गरेका छन् । उनका एक छोरा छन् र उनी परिवारसहित फुकुशिमामा बस्छन् । ‘जब ती महिलाले मलाई धन्यवाद दिइन् मलाई खुसी लाग्यो’ पुलिस स्टेशनका प्रमुख केइसी साइतोबाट प्रशंशापत्र पाएपछि उनले भने ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment