सुरक्षासहितको रोजगार, सम्मान र आर्थिक स्वतन्त्रता तर्फ अबको महिला आन्दोलन

तर्कबहादुर थापा
२५ फागुन २०७७ ७:२६
196
Shares

काठमाडौं । गुनासो १ :  मेरो घर पहिला बैतडी हो। अलिहे कञ्चनपुरमा बस्छु। २ वर्षको उमेरमा विहे भयो। ९ वर्षको उमेरदेखि घर धान्न थालेँ। ११ वर्षको उमेरमा छोराले जन्म लियो। मेरो श्रीमानले अर्कै केटीसँग प्रेम गर्न थाल्नु भयो। विवाह गर्न पाएन भनेर मानसिक सन्तुलन गुमाउनु भयो। सासुआमाले अलछिना भन्न थाल्नुभयो। आत्महत्या गर्न जंगल गएँ ..

गुनासो २ :  म सुर्खेतबाट हो। १५ वर्षसम्म पुरुषहरुले समिति सञ्चालन गरे। कसैले केही मागेनन्। मैले सचिवको जिम्मेवारी सम्हालेको १ वर्षमै हिसाब खोज्न आए। मलाई चुनौति दिए। तै पनि मैले गरेर देखाएँ…

गुनासो ३ :  हामीलाई धेरै बोल्ने समय पनि दिइँदैन। तै पनि म बोल्छु। म पर्साबाट हो। मैले जंगलको रक्षा गर्नका लागि भारतीयहरुसँग पनि लडेकी छु। हामीलाई बोल्न नदिएकै कारण माथि उठ्न दिइँदैन। जहाँ पनि हामीलाई बोल्ने समय छुट्याइन्छ…

माथि उल्लेख गरिएका प्रतिनिधि गुनासामात्र हुन। नारी दिवसको अवसरमा हरियो वनले आयोजना गरेको कार्यक्रममा आफ्ना अनुभव राख्ने वक्ताहरुले गरेका गुनासा अझै कति थिए। १११औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाउँदा समाजमा अझै यस्ता घटनाहरु यत्रतत्र रहेको अनुभूति हुने गरी सात वटै प्रदेशबाट प्रतिनिधित्व गर्नेहरुले आफ्ना अनुभव सुनाएको थिए।

१११औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाउन देशभरबाट प्रतिनिधित्व गरेर काठमाडौं जम्मा भएका उनीहरु अनेकौं समस्या थिए। अहिले पनि महिलाहरुलाई समाजले गर्ने व्यवहारका कारण चिन्तित देखिन्थे। उनीहरु अझै पनि राज्यले महिलालाई सुरक्षा सहितको रोजगारीको व्यवस्था गर्न नसकेको सुनाई रहेका थिए।

एउटा कार्यक्रममा माथि उल्लेखित प्रतिनिधि गुनासा सुनिरहँदा अर्को कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली भन्दै थिए ‘यत्र नार्यस्तु पूज्यन्ते रमन्ते तत्र देवताः। जहाँ नारीको पूजा हुन्छ त्यहाँ देवताको बास हुन्छ। हामी नारीलाई पूजा गर्ने सम्भताबाट आएका मान्छे हौं। पूर्वीय सभ्यतामा नारीको नामबाट छोराहरुको परिचय दिइन्थ्यो। कुन्तिपुत्र अर्जुन।’

नेपालमा नारी समानता र अधिकार धेरै पहिलाबाट सुरु भएको उनको भनाइ थियो। प्रधानमन्त्री ओलीले नेपालमा विक्रमसम्बत् २००८ सालमा महिलाले पहिलो पटक मतदान गर्ने अधिकार प्राप्ति गरेको बताए। उनले भने, ‘२००७ सालमा प्रजातन्त्र आएपछि २००८ सालमा नेपालमा महिलाहरुले मतदान गर्न पाएका हुन्। अहिले हामीले विकसित भनेको अमेरिकामा त्यसको ठिक १३ वर्षपछिमात्र त्यो अधिकार पाएका हुन्।’

प्रधानमन्त्री ओलीले पूर्वीय दर्शमा महिलालाई दिएको दर्जा केही टाठाबाठाले आफ्नो अनुकुल परिभाषित गरेर प्रयोग गरेकै कारण अहिले अन्य देशहरुभन्दापछि परेको जस्तो देखिएको बताए।

सुरक्षा सहितको सम्मान र रोजगारको लागि अबको आन्दोलन

कृषि तथा पशुपंक्षिमन्त्री पद्मा अर्यालले अबको आन्दोलन सुरक्षासहितको सम्मान र रोजगारमा केन्द्रित रहने बताइन्। उनले नारीहरुले १११ वर्षसम्म आन्दोलन गरिरहँदा केही कुरिति र कुसंस्कारको अन्त्य गरेको उल्लेख गरिन्।

‘सृष्टि संचालनमा महिला पुरुषको उत्तिकै भूमिका छ।’ मन्त्री अर्यालले भनिन्, ‘हामीले एक्लै जान खोज्दा कहिँ पनि पुगिँदैन। पुरुष र महिला एक सिक्काका दुई पाटा हुन। एक पाटो कमजोर भयो भने अर्को पाटोको त्यति अर्थ रहँदैन। त्यसैले, हाम्रा आन्दोलन पुरुष विधोरी हैनन्, सुरक्षा सहितको सम्मान र रोजगारको लागि अबको आन्दोलन हुनुपर्छ।’

विश्वका अन्य मुलु्कहरु भन्दा नेपालमा महिलाहरुले बढी अधिकार पाएको उनको तर्क थियो। उनले भनिन्, ‘हामीले विकसित भनेका मुलुकहरुमा पनि महिलाहरु अझै हामी जति स्वतन्त्र छैनन्। नेपामा राष्ट्रपति महिला हुनुहुन्छ। अब प्रधानमन्त्री, सुरक्षा निकायको प्रमुख, लगायतका ठाउँहरुमा महिलालाई पु¥याउन हाम्रो अभियान हुनुपर्छ।’

महिला जागरण घरघरबाट हुनुपर्छ

नायिका मनिषा कोइरालाले महिला जागरण हरघरबाट हुनु पर्ने बताएकी छन्। डिसी नेपालसँग कुराकानी गर्दैै कोइरालाले हरघरमा छोरा र छोरीलाई गरिने व्यवहार नसुधारेसम्म जति पटकका महिला दिवस मनाइए पनि अर्थ नहुने बताइन्।

उनले भनिन्, ‘हामीले घरमा छोरा र छोरीमा गर्ने विभेद हटाउन जरुरी छ। छोरालाई राम्रो बोर्डिङ छोरीलाई कमसलको स्कुलमा पढाउने संस्कारको अन्त्य हुन जरुरी छ। छोरा राति जतिबजे घर आए पनि हुने कारण नसोधिने, छोरी केही समयमात्र ढिलो हुने वित्तिकै कारण सोधिने यो सोचाईँको अन्त्य हुन जरुरी छ।’

कोइरालाले महिला र पुरुष दुबैलाई समान व्यवहारकार कारणमात्र दुबै पक्ष बलियो हुने बताइन्। ‘एक रथमा भएका दुबै पाङ्ग्रामा जब बराबर हावा हुन्छ तबमात्र समान्तर गुड्न रथ चाडो गन्तव्यमा पुग्छ,’ कोइरालाले भनिन्।

आफूसँग भएको विउँ कहाँ रोप्ने भन्ने नै ठूलो कुरो हो

‘एक जना सन्त गाउँमा आएर सबैलाई एक–एक मुठी तोरी दिएछन्।’ डिसी नेपालकी सल्लाहकार सम्पादक यशोदा तिम्सिना पूरानो कहानी सुनाएर महिलाहरुलाई सम्झाउँदै थिइन।

उनले भनिन्, ‘यो कहानी तपाईँहरुले बुझ्ने भाषामा भन्छु। ती सन्तले दिएको तोरी कसैले धन्सारमा राखे, कसैले मन्दिरमा राखे कसैले सिरानीमा राखे। फेरि सन्त गाउँमा आउँदा सबैले त्यही कुरा सुनाए। तर, एक जनाले फरक सुनाए उनले त्यो एक मुठि तोरी बारीमा छरेछन्, १ माना फलेछ, त्यो छरेछन् पाथी, अनि मुरी त्यसपछि मुरीका मुरी। तेलमिल उद्घाटन गर्न सन्तसँग विन्ति गरे। एक मुठी तोरीले मालिक बने। हामीले पनि सिकेको कुरालाई के गर्छौ कहाँ राख्छौँ भन्ने ठूलो कुरा हो।’

समानताका लागि महिलाहरु पनि जागरुक हुनु पर्ने तिम्सिनाको भनाइ थियो। आर्थिक स्वतन्त्रता नभएसम्म र आत्म निर्भर नभएसम्म महिला जहिले पनि पछिपर्ने बताउँदै तिम्सिनाले भनिन्, ‘हरेकले आफूले जानेको कुरालाई विउँ बनाएर समाजलाई बारी बनाएर छर्न सक्नुपर्छ। सकारात्मक कुराहरु, हाम्रा सिपहरु, समाजमा छरेर हामीजस्तै धेरै मान्छे बनाउन सक्यौं भनेमात्र हामीले गर्ने आन्दोलन, हामीले देखेको समानताको सपना पूरा हुन्छ।’


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *