भारतमा कोरोना संक्रमण बढ्दो, व्यक्तिगत सतर्कता अपनाउन विज्ञको सुझाव

तर्कबहादुर थापा
१६ चैत २०७७ ७:२४

काठमाडौं । भारतमा कोरोनाको संक्रमण बढ्दो क्रममा छ। नेपालमा पनि खुल्ला सिमानाका कारण चाडैँ प्रभाव पर्ने भएकाले व्यक्तिगत सतकर्ता अपनाउन विज्ञहरुले सुझाव दिएका छन्।

जनस्वास्थ्य विज्ञ डा. रवीन्द्र पाण्डे हरेक व्यक्ति सतर्क रहन आवश्यक रहेको बताउँछन्। उनले भने, ‘जतिसक्दो व्यक्तिगत रुपमा सतर्क रह्यौं भने कोरोनाबाट आफू बच्न र समाजलाई बचाउँन सक्छौं।’

डिसी नेपालसँग कुरा गर्दै पाण्डेले भने,  ‘मैले पहिला पनि कुरा उठाएको थिएँ। अझै पनि भन्छु। हामीले व्यक्तिगत आनीबानी नसुधारेसम्म कोरोनाको जोखिम कायम नै रहन्छ। कतिले मास्क नै लगाउँदैनौं। लगाए पनि चिरोमा हुन्छ। नाक र मुखबाट कोरोना सर्छ भन्ने कुराको जानकारी हुँदा हुँदै पनि चिउरोमा मास्क लगाउनुलाई कसरी बुझ्ने।’

भारतमा गत २४ घण्टामा ६८ हजार बढी कोरोनाका संक्रमितहरु थपिएका छन्। भारतमा गएको २४ घण्टामा ६८ हजार २ सय ६ जना कोरोनाका संक्रमितहरु थपिएका हुन्।

लामो समयसम्म संक्रमणदर कम रहेको भारतमा दोस्रो चरणको कोरोना फैलिएको केही दिनमै ठूलो संख्यामा संक्रमितहरु थपिन थालेका हुन्। नेपालसँग खुल्ला सिमाना भएका कारण नेपालमा पनि जोखिम कामय रहेको विज्ञहरुले बताउँदै आएका छन्।

भारतमा हालसम्म १ करोड २० लाख ३९ हजार २ सय १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। १ लाख ६१ हजार ८ सय ८१ ले कोरोनाका कारण ज्यान गुमाएका छन् भने गत २४ घण्टामा मात्र २ सय ९५ जनाको कोरोनाका कारण मृत्यु भएको छ।

नेपालसँग सीमाना जोडिएका उत्तर प्रदेश, बिहार, उत्तराखण्ड लगायतका राज्यहरुमा कोरोनाको दोस्रो चरण तिब्रताका साथ फैलिएको छ। भारतमा कोरोना फैलिन थालेपछि भारतबाट नेपाल आउनेहरुको संख्या पनि क्रमिक रुपमा बढ्दो छ।

सीमामा बनाइएका स्वास्थ्य डेस्कले राम्रोसँग काम नगरे नेपालमा कोरोनाको दोश्रो लहर चाँडै सुरुहुने विज्ञहरुले चिन्ता व्यक्त गरेका छन्। जनस्वास्थ्यविद पाण्डले भने, ‘जति सकिन्छ सिमानामा नै कडाई गर्न सक्नुपर्छ।’

उनका अनुसार नयाँ प्रजातिको कोरोना भाइरस पुरानो भन्दा ७० प्रतिशत बढी संक्रमण बनाउन सक्ने क्षमता राख्द छ। ‘पुरानो भन्दा झण्डै ७० प्रतिशत बढी संक्रमण गराउन सक्ने क्षमता यस भाइरसमा हुन्छ।’ डा. पाण्डेले भने, ‘सिमानामा स्वास्थ्य डेस्क राख्ने मात्र होइन्। पीसीआर नै टेस्ट गरेर नेपाल भित्र्याउने व्यवस्था गर्नु आवश्यक हुन्छ।’

कोरोनाको संक्रमणबाट बच्नका लागि दैनिक आनीबानीमा ध्यान दिनुपर्ने कुरा डा. पाण्डेले दोहो¥याए। उनले भने, ‘मैले हरेक पटक बोल्ने कुरा हो। हामीले आफ्नो बानी ब्यहोरामा सुधार गरेनौं भने कोरोनाबाट बच्न कसैले केही गरेर हुँदैन। सबै भन्दा पहिला हामी नै कोरोना मुक्त हुन प्रयास गर्नु पर्छ।’

पछिल्लो समय नेपालमा पनि कोरोनाको संक्रमण दर बढ्दो छ। नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार हालसम्म २ लाख ७६ हजार ८ सय ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। ३ हजार २७ जनाले ज्यान गुमाएका छन् भने १हजार २ सय ८२ जना सक्रिय संक्रमितहरु रहेका छन्।

हालसम्म २ लाख ७२ हजार ५ सय ३० जनाले कोरोना जितेका छन्। कोरोनाबाट गत २४ घण्टामा मात्र ९५ जनाले मुक्ति पाएका छन्। गत २४ घण्टामा नेपालमा ८९ जना थप संक्रमित थपिएका हुन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *