नयाँ सोचका साथ राष्ट्रिय सङ्कल्प पूरा गर्न सञ्चारमन्त्रीको आग्रह

डिसी नेपाल
३१ चैत २०७७ २०:२८
28
Shares

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले नयाँ सोच र शैलीका साथ ‘समृद्ध नेपाल सुखी नेपाली’ को राष्ट्रिय सङ्कल्प पूरा गर्न एकीकृतरुपमा लाग्न आग्रह गरेका छन् । नयाँ वर्ष २०७८ को पूर्वसन्ध्यामा आज सिंहदरबारस्थित मन्त्रालयमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा मन्त्री गुरुङले व्यक्तिलाई भन्दा राष्ट्रलाई बलियो बनाउने गरी द्रुतत्तर विकासका काममा सबै निकायले समन्वयात्मक भूमिका निर्वाह गर्नुपर्ने बताएका हुन् । नेपाल सरकारका प्रवक्ता गुरुङले दक्षिण एशियामै नागरिक खुशी हुने सूचीमा नेपाल अग्रणी रहेको र यस वर्ष नेपाल सरकारले हासिल गरेका उपलब्धिको सूचकको जगमा उभिएर कोभिड–१९ को जोखिमलाई सामना गर्दै नयाँ वर्षमा थप प्रगति हासिल गर्नु सबैको चुनौती भएको उल्लेख गरे ।

मन्त्रालयका उच्चाधिकारी र मातहतका निकायका प्रमुखसहित आयोजित कार्यक्रममा मन्त्री गुरुङले भने, “भोलिका सन्ततिले अनुशरण गर्ने खालका कामलाई नयाँ वर्षमा निरन्तरता दिनुहोला । अनुशरण नगर्ने खालका खराब कामलाई आजैदेखि छाडिदिनुहोला ।”

कार्यक्रममा मन्त्रालयका सचिव हरिप्रसाद बस्यालले नयाँ वर्षमा थप प्रगति हासिल गर्न शुभकामना दिएका थिए । राष्ट्रिय समाचार समिति (रासस) का कार्यकारी अध्यक्ष श्यामल अधिकारीले राससका समाचारलाई स्रोत उल्लेख नगरी प्रयोग गर्ने प्रवृत्ति नयाँ वर्षमा अन्त्य हुने विश्वास व्यक्त गरे । प्रेस काउन्सिल नेपालका अध्यक्ष गोपाल बुढाथोकीले नयाँ वर्षमा प्रेस सङ्ग्रहालयको उद्घाटन गर्ने जानकारी दिए । सो अवसरमा न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष राजेन्द्र अर्याल, नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष डा महेन्द्र विष्ट, गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष कृष्णमुरारी भण्डारी, नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारी, चलचित्र विकास बोर्डका अध्यक्ष दयारम दाहाल, रेडियो नेपालका कार्यकारी निर्देशक बुद्धिबहादुर केसी, हुलाक सेवा विभागका महानिर्देशक आभा श्रेष्ठलगायतले शुभकामना आदानप्रदान गरेका थिए ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *