चुरे संरक्षणमा अमूल्य योगदान दिनुस् : मन्त्री आले

डिसी नेपाल
३१ चैत २०७७ २२:१५

काठमाडौं । वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले राष्ट्रपति चुरे–तराई–मधेश संरक्षणमा विशेष योगदान दिन आग्रह गरेका छन् । आज मन्न्त्रालयमा आयोजित राष्ट्रपति चुरे–तराई–मधेश संरक्षण विकास समितिका पदाधिकारीलाई स्वागत गर्दै उनले पछिल्लो समय चुरे क्षेत्रमा विभिन्न काम तथा गतिविधिले दोहन भइरहेकाले त्यसको रोकथाम तथा नियन्त्रणका लागि सबै पदाधिकारीले अग्रहसर रहनुपर्ने बताए । उनले भने, “सम्माननीय राष्ट्रपतिको नामबाट चुरे संरक्षणका लागि विभिन्न काम शुरु भएको भए पनि पछिल्लो समय चुरे दोहन भएको पाइएको छ, नवनियुक्त पदाधिकारीले चुरे दोहन रोक्न भरमज्दूर प्रयास गर्नु होला ।”

चुरे संरक्षण तथा दोहन रोक्नका लागि राष्ट्रपति चुरे तराई–मधेश संरक्षण विकास समिति तथा पदाधिकारीलाई मन्त्रालय तथा आफ्नो व्यक्तिगत तर्फबाट पूर्ण सहयोग हुनेसमेत मन्त्री आलेले जानकारी गराउनुभयो । चुरे संरक्षण गर्न नसकिएका कारण अहिले चुरेमा भएका जङ्गल तथा ढुङ्गा, गिट्टी, बालुवा जथाभावी उत्खनन भई पहिरो जाने गरेको र आगलागीले जङ्गलनै सखाप भइरहेकाले सो कार्य तत्काल रोक्नसमेत मन्त्री आलेले नवनियुक्त एका पदाधिकारीलाई आग्रह गरे ।

उनले भने, “चुरे संरक्षणका लागि करोडौँ बजेट विनियोजन भइरहेको छ, संरक्षण गर्न नसकिँदा वर्षेनी चुरे विनाश हुँदै गइरहेको छ, चुरे संरक्षण गर्नु हामी सबैको प्रमुख दायित्व हुने छ ।” सो अवसरमा वन तथा वातावरण मन्त्रालयका सचिव डा विश्वनाथ ओलीले चुरे क्षेत्रको प्राकृति सम्पदामाथिको दोहनका कारण चुरे संरक्षण पछिल्लो समय चुनौतीपूर्ण बन्दै गएको बताए। उनले भने, “चुरे दोहनसँगै वन विनाश हुँदै गएको र पानीका मुहानसमेत सुक्न थालेका कारण समस्या उत्पन्न भएको छ, चुरे संरक्षणका लागि मन्त्रालयले थप के भूमिका खेल्नु पर्छ हामी तयार छौँ, तपाईहरू पनि लाग्नुस् ।” सरकारले केही दिन पहिले राष्ट्रपति चुरे तराई–मधेश संरक्षण विकास समितिको अध्यक्षसहित पदाधिकारीको नियुक्ती गरेको थियो ।

सरकारले नियुक्त गरेका पदाधिकारीमा आज मन्त्रालयमा अध्यक्ष डा किरण पौडेल सदस्य कमला ओली, सशीकुमार शर्मा, डा सुस्मिता ढकाल तथा भेषराज आचार्यलाई स्वागत तथा नियुक्ति पत्र प्रदान गरिएको हो । अध्यक्ष पौडेल वन क्षेत्रका विज्ञ छन् । चुरे क्षेत्रको प्राकृति सम्पदामाथिको दोहनका कारण तराई–मधेशको जमीन मरुभूमिमा परिणत हुने खतरा बढेपछि सरकारले चुरे संरक्षणका लागि विकास समिति गठन गरेको थियो । आफ्नो पूरै कार्यकाल चुरे संरक्षणका लागि बिताउने नवनियुक्त पदाधिकारीले प्रतिबद्धता जाहेर गरेका छन् । नवनियुक्त पदाधिकारीले आजै आफ्नो कार्यभारसमेत सम्हालेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *