श्रद्धापूर्वक मनाइयो रामनवमी
काठमाडौं । प्रत्येक वर्ष चैत्र शुक्ल नवमीका दिन मर्यादा पुरुषोत्तम भगवान् श्रीरामचन्द्रको सम्झनामा मनाइने ‘रामनवमी’ पर्व आज देशभर श्रद्धा र भक्तिपूर्वक पूजा आराधना गरी मनाइएको छ ।
असत्यमाथि सत्यको विजय तथा भगवान् श्रीरामले त्रेता युगमा आदर्श राजाका रुपमा पु¥याउनुभएको योगदानको सम्झनामा रामनवमी पर्व मनाइन्छ । यस उपलक्ष्यमा देशभर रहेका भगवान् रामचन्द्रका मन्दिरमा पूजापाठ गरिएको छ । यस वर्ष कोरोना भाइरसको सङ्क्रमणबाट बच्न जारी लकडाउनका कारण भक्तजनले भने घरमै बसेर पूजा आराधना गरेका छन् । धेरै भक्तजन राममन्दिर जान पाएनन् ।
जनकपुरस्थित रामजानकीको मन्दिरमा मेला भर्न नेपाल तथा भारतका नरनारीको घुइँचो लाग्ने गरेकामा यस वर्ष कोरोनाका कारण कमै भक्तजन आएका छन् । प्राचीनकालदेखि नै विवाह पञ्चमी र रामनवमीका दिन जनकपुरमा नेपाल र भारतका धार्मिक पर्यटकको भीड लाग्ने गर्छ । त्रेतायुगमा आजकै दिन अयोध्यामा राजा दशरथ र रानी कौशल्यावतीको सुपुत्रका रुपमा भगवान् विष्णुको अवतार लिएर श्रीरामको जन्म भएको थियो । पुत्र नहुँदा दुःखी रहेका राजा दशरथले ऋषि वसिष्ठको सल्लाहमा पुत्रेष्टि यज्ञ गरेपछि तीन रानीबाट चार पुत्रको जन्म भएको थियो ।
जनताको भावनाअनुसार शासन गर्ने विष्णुको अवतारका रुपमा मनुष्य लोकमा जन्म लिई आदर्श शासन गरेका राजा रामको स्मृतिमा पवित्र नदी, ताल तथा कुण्डमा स्नानका साथ व्रत बसी रामगीता पाठ, अध्यात्म, वाल्मीकीय, तुलसीकृत र भानुभक्तीय रामायण वाचन गर्ने एवं पूजा आराधना गरी रातभरि भजनकीर्तन गर्ने परम्परा छ ।
आजका दिन व्रत बसी श्री रामको पूजापाठ र जपध्यान गर्नाले चिताएको कार्य पूरा हुने र अर्को जन्ममा वैकुण्ठ वास हुने विषय ‘व्रतार्क’ नामक धर्मग्रन्थमा उल्लेख छ । अयोध्याका राजा दशरथका जेठा छोरा भई भगवान् विष्णुको सातौँ अवतारका रूपमा जन्मेका श्रीरामले मिथिलाका राजा जनककी छोरी सीतासँग विवाह गरेका थिए । उनले संसारबाट पापी तथा दुष्ट राक्षसको नाश गरेका थिए ।
धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतम ‘लोक रञ्जनात् राजा’ अर्थात् जनतालाई खुशी राख्न सक्ने राजा हुनुपर्छ भन्ने शास्त्रीय मान्यतालाई श्रीरामले पूरा गरेको बताउँछन् । त्यसै कारण रामको जीवनबाट अहिलेका शासकले शिक्षा ग्रहण गर्नुपर्ने उनको सुझाव छ ।
पितृ, मातृ भक्त, ठूलालाई आदर र सानालाई माया गर्ने आदर्श पुरुषका रुपमा रामले अयोध्यामा राज्य गरेकाले उनको शासनकाललाई अहिले पनि रामराज्यका रुपमा स्मरण गरिन्छ । सृष्टिमा दुर्जनको अन्त्य गरी सज्जनको रक्षाका लागि भगवान् विष्णुले रामका रुपमा मनुष्यलोकमा जन्म लिएका हुन् । रामकै जस्तो गुण हामीमा पनि प्राप्त होस् भन्ने कामनाले रामनवमी पर्व मनाउने गरिएको अध्यक्ष गौतमले सुनाए ।
रामनवमीका दिन श्रीरामको व्रत, उपवास गरी पूजा, आराधना गर्नाले यो लोकमा सुख, शान्ति र परलोकमा सद्गति पाइने रामायणलगायत धर्मग्रन्थमा उल्लेख गरिएको छ । आफ्ना पिताको कठोर आज्ञालाई सहजतापूर्वक ग्रहण गरी मानव जातिलाई सत्यको मार्गमा लाग्न प्रेरणा दिकाले उनको सम्झनामा रामनवमी पर्व मनाउन थालिएको धार्मिक ग्रन्थमा उल्लेख छ ।
गत वर्षजस्तै यस वर्ष पनि कोरोनाको जोखिम कायम रहेका कारण बत्तीसपुतलीस्थित श्रीरामचन्द्र मन्दिर, पशुपति आर्यघाट पारिको राम मन्दिर, गोकर्णेश्वर नगरपालिका–९ आरुबारीस्थित राम मन्दिरलगायत स्थानमा भौतिक दूरी कायम गरी पूजा, आराधना एवं दर्शन गर्ने भक्तजन उपस्थित भएका थिए । शोभायात्रा, भजनकीर्तनलगायत कार्यक्रम भने स्थगित गरिएको श्रीरामचन्द्र मन्दिर पुनःनिर्माण तथा व्यवस्थापन समितिका सदस्य सचिव डा गोविन्द टण्डनले जानकारी दिए ।







डिसी नेपाल








Facebook Comment