विप्लव माओवादीमा पहिरो, अध्यक्षसहित सम्पूर्ण जिल्ला कमिटी नै नेकपामा प्रवेश
लमजुङ । नेकपा माओवादी (क्रान्तिकारी) परित्याग गरी अध्यक्षसहित सम्पूर्ण जिल्ला कमिटी नै आज नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा गाभिएको छ।
क्रान्तिकारीका जिल्ला अध्यक्ष गोबद्र्धन गौलीको नेतृत्वको जिल्ला कमिटी र देशभक्त पार्टीका जिल्ला सचिव सुरेशचन्द्र न्यौपानेको नेतृत्वमा २९ जनाको समूह नेकपामा प्रवेश गरेको हो।
नेकपाले राष्ट्र विकासका लागि थालेको अभियानमा साथ दिँदै अघि बढ्ने उद्देश्यले नेकपामा प्रवेश गरेको क्रान्तिकारीका तत्कालीन अध्यक्ष गौलीले बताए।
पार्टी प्रवेशीलाई गण्डकी प्रदेशका मुख्यमन्त्री एवं नेकपा नेता पृथ्वीसुब्बा गुरुङले टीका र खादा लगाएर पार्टी प्रवेश गराउँदै विभिन्न सानातिना दलमा रहेर समय बर्बाद गर्नुभन्दा समयमै मूल धारमा प्रवेश गरेर राष्ट्रिय समृद्धिको दिशामा अघि बढ्न सबैलाई आग्रह गरे।
यही मङ्सिर १५ गतेभित्र जिल्लाका नगर तथा गाउँपालिकाभित्र रहेका नेकपाका संयन्त्र निर्माण गरी प्रदेशमा विवरण समयमा नै पठाउन उहाँले जिल्ला कमिटीलाई निर्देशन दिए।
गण्डकी प्रदेशसभा सदस्य एवं नेकपाका केन्द्रीय सदस्य मायानाथ अधिकारीले नवप्रवेशीलाई उपयुक्त जिम्मेवारी दिइने बताए।
No ads found for this position

डिसी नेपाल
Facebook Comment