प्राज्ञिक समालोचनाले मात्र कृतिको तटस्थ मूल्याङ्कन गर्छ

तर्कबहादुर थापा
२६ असार २०७८ ८:२८
272
Shares

एउटा असल साहित्यकारको पछि पाठकको भन्दा महत्वपूर्ण भूमिका समालोचकको हुन्छ। पाठकले पुस्तक किन पढ्ने र किन नपढ्ने भन्ने विषयमाथि समालोचकले छलफल चलाएका हुन्छन्। पुस्तक भित्र भएका सम्पूर्ण गुण र दोषलाई समालोचकले पाठकको माझमा ल्याएका हुन्छन्।

नेपाली साहित्यको समालोचनामा महिला समालोचकहरुको नाम कमै मात्र सुनिन्छ। तर, समालोचक ज्ञानु अधिकारी भने यो कुरालाई सुनाइएको बताउँछिन्। नेपाली साहित्यको समालोचक अधिकारी महिला समालोचकलाई लुकाइएको ठान्छिन्।

‘नेपाली नारी समालोचना, परम्परा प्रवृति र विश्लेषण’ पुस्तकमा उनले महिला समालोचकहरुको खोजिनीति गरेकी छन्। ६० जना महिला समालोचक भए पनि २ जनाको मात्र नाम समालोचकको रुपमा आउने गरेकोमा उनलाई अन्याय महशुस भयो र आफू पनि समालोचक बन्ने निधो गरिन्।

‘पाश्चात्य साहित्य इतिहास, प्रतिभा र प्रवृति,’ र ‘साइवर सिद्धान्त प्रयोग र अन्य समालोचना’ लगायत समालोचनाका १५ पुस्तक बजारमा छन् अधिकारीका। नेपाली समकालीन कथा विमर्शको सम्पादन पनि उनले गरेकी छन्।

त्रिभुवन विश्वविद्यालयको उपप्राध्यापकसमेत रहेकी अधिकारी पद्मकन्या क्याम्पसमा अध्यापन समेत गराउँदै आएकी छिन्। उनै समालोचक अधिकारीसँग डिसी नेपालका लागि तर्कबहादुर थापाले गरेको कुराकानीको सम्पादित अंशः

कोरोना कहरकै अवस्थामा छौं। दिनहरु कसरी बिताउँदै हुनुहुन्छ ?

कोरोनासँग त अब अव्यस्त नै भइसक्यौं। पहिलो पटकको अवस्थामा त्यति भयावह भएन। हामीले गर्ने कामहरु गरेकै थियौं। पछिल्लो अवस्था अलिकति डरलाग्दो भएर आयो। वरिपरि र परिवारमा पनि कोरोनाको भयावह अवस्थाका कारण काम एकदमै स्वतन्त्र तरिकाले अगाडि बढ्न सकेन।

मानसिक तनाव, डर, सन्त्रासका बीच पनि लेख्ने पढ्ने बानी भएकाहरुलाई लत नै हो। खुसी बाँढ्न र पीडा भुलाउन पनि पढाइलेखाइको माध्याम नै प्रयोग गर्ने गर्छौं। लेख्ने पढ्नेकाम निरन्तर नै भयो।

लेखकहरुलाई एकान्त वातावरण चाहिन्छ रे, अहिलेको अवस्थाले सहयोग गरेको हो, कस्तो अनुभूति रह्यो ?

समालोचनाका लागि यस्तो वातावरणले सहयोग नै गर्छ। किन भने, कुनै विषयकोबारेमा समालोचना गर्दा धेरै पुस्तकहरु पढ्नु पर्छ। मैले प्रत्येक वाक्यहरु लेखेर मैले आफूलाई नै प्रश्न गर्छु। यो लेख्नुको पछाडि यस्तो प्रश्न आयो भने के हुन्छ, आफूले लेखेको कुरा तथ्यपरक छ कि छैन भनेर दाँज्नु पर्ने हुन्छ।

केहीकुरो बोल्नु भन्दा पहिला तथ्यहरु प्रमाणहरु जुटाउनु पर्ने हुन्छ। त्यो सबैको लागि धेरै अध्ययन गर्नु पर्छ। त्यो पढ्ने समय त पाइयो। पढ्ने समय पाए पनि एकाग्र भएर पढ्न सकिएन।  किन कि मनमा डर लागि रहने। स्वतन्त्र भएर पाएको एकान्त जस्तो यो एकान्त भएन। एताउता डुलेर आएर जुन फ्रेसनेस हुन्छ, कोठाभित्र बस्दा त्यो हुँदो रहेनछ। यो एकान्तको अनुभूति अस्वभाविक रह्यो।

समालोचना र प्रतिक्रियालाई एउटैमा राखेर हेर्ने गरिएको पनि पाइन्छ। समालोचना भन्या के हो कसरी लेखिन्छ ?

प्रतिक्रियालाई समालोचना भन्न मिल्दैन। समालोचना भनेको विषयवस्तुभित्रको सवलपक्ष र दुर्वलपक्ष किन सबल भयो? किन दुर्वल भयो? अहिलेको परिप्रेक्षमा कतिको उपयुक्त छ। अथवा यसले के दिन्छ? जस्ता हरेक विषयमा अध्ययन र अनुसन्धान गरेर लेख्ने कुरालाई समालोचना भनिन्छ।

प्रत्येक कृतिभित्र पसेर त्यो कृतिभित्रका कुराहरुलाई तथ्य बनाएर, प्रमाण बनाएर, यी यहाँ यस्तो लेखिएको छ, यो कारणले गर्दा यो यस्तो हो। अझै सरल भाषामा भनौं मैले कसैलाई राम्रो वा नराम्रो भन्न पनि तर्क चाहियो, त्यो तर्क दिने आधार बनाउनु पर्यो, कुन कुन शिर्षक उपशिर्षकमा लेख्ने भन्ने त्यसको आफ्नै प्रक्रिया हुन्छ।

प्राज्ञिक समालोचना, समिक्षा, बुक रिभ्यू, पाठक प्रतिक्रिया यी कुराहरु छुट्याउन सक्नु पर्छ। प्रतिक्रिया दिन त कृति पढ्न पनि पर्दैन, अरुले भनेको सुनेकै आधारमा पनि दिन सकिन्छ। तर, प्राज्ञिक समालोचना मैले अघि भने अनुसार हुन्छ। त्यो अनुसार एउटा कृतिको समालोचनाको लागि धेरै अध्ययनको आवश्यक्ता हुन्छ। समालोचनामा आफूमात्र बोल्दा पनि प्रभावपरक हुन्छ। आफू बोल्ने होइन्।

श्रष्टा आफ्नो साथी पनि हुनसक्छन्, उसको प्रभाव पनि हामीमा परेको हुनसक्छ, उसले जे लेख्यो त्यो राम्रो हुन्छ भन्ने पनि लाग्न सक्छ। समालोचना गर्दा यी विषयहरुमा पनि ध्यान दिएर गर्नु पर्छ।

समालोचना निष्पक्ष भएन भन्ने आरोप पनि लाग्ने गरेको छ नि !

समालोचना प्राज्ञिक हुने गर्छ भनेर मैले अघि पनि भनिसकेँ। प्राज्ञिक समालोचना गर्दा आफ्नो राय राख्न पाइँदैन। त्यो एउटा फ्रेममा हुन्छ, त्यही फ्रेममा लेख्नु पर्छ। फ्रेमभित्र बसेर लेख्दा यो सिद्धान्तमा, यसरी लेखिएको छ भन्ने हुन्छ। त्यहाँ तटष्ठ हुनै पर्छ। त्यहाँ कोही पनि व्यक्तिले प्रमाण दिएर मात्र बोल्नु पर्छ। त्यो फ्रेममा लेख्दा निष्पक्ष नै हुन्छ।

तर, श्रष्टालाई मन परेको कुरा निष्पक्ष लाग्छ। श्रष्टालाई मन नपरेको कुरा निष्पक्ष लाग्दैन। तटष्ठ पाठकहरुले आफ्नो खेमाको मान्छेलाई गुटबन्दी गर्यो, बढी प्रचारमा ल्यायो भन्ने हिसाबले समालोचना प्रति असन्तुष्टि छ। त्यो समालोचनाको प्रतिको असन्तुष्टि होइन, त्यो पुस्तक प्रतिक्रियाहरु प्रतिको आलोचना हो।

नेपालमा यहाँले भने झै फ्रेमभित्र बसेर कतिको समालोचना हुन्छन् ?

हुन्छन्। नेपाल प्रज्ञा प्रतिष्ठानले वर्षमा धेरै पुस्तकहरु कृति समालोचनाका मात्र छापेको हुन्छ। नेपाली साहित्यका धेरै विधाहरुमा धेरै अनुसन्धानात्मक कृतिहरु छापिएका छन्। साहित्यको एउटा समयको समग्र स्वरुप आएको हुन्छ समालोचनामा।

अन्य क्याम्पसहरुमा पनि अनुसन्धानात्मक लेखहरु, त्रिविले पनि साहित्यका विभिन्न विधामा समालोचना गराउँछ। तर, यस्ता पुस्तकहरु पाठकको सामु जाँदैनन्। निश्चित व्यक्तिहरु, श्रष्टाहरुले मात्र खोजेर पढ्ने गर्नु भएको पाइन्छ।

समालोचना पढ्न किन जरुरी छ ?

साहित्यलाई मार्ग निर्देश गर्ने काम गर्छ समालोचनाले। साहित्यमा कस्ता वादहरु आए, कस्ता प्रवृतिहरु आए, मैले लेख्दै गरेको कुन विचारधारा हो। म कहानिर छु भनेर बुझ्नका लागि समालोचना पढ्ने हो।

तर, हाम्रो समाजमा समालोचना पढेर आफ्नो लेखनमा साधना गर्ने श्रष्टाहरु पाइँदैनन्। एउटा सर्कलभित्र हुनछन्, एउटाले अर्काको वाह…वाह.., गरे। चर्चामा आउने होडबाजी चल्यो। एक दशक पनि राम्रोसँग साधना नगरेरै श्रष्टाले आफूलाई वाह… वाह…को भरमा चलाइरहेको पाइन्छ। त्यो होइन। श्रष्टामा समालोचना पढ्ने धैर्य हुनु पर्छ। कृष्णचन्द्र सिंह प्रधानले लेख्ने बेलाका श्रष्टाले पढ्ने गरेको पाइन्छ। पछिल्लो समय त्यो प्रवृति विस्तारै हराउँदै गएको पाइन्छ।

नेपाली साहित्यको पुरस्कार वितरण भित्र पनि विकृति छ भनिन्छ नि ?

पुरस्कारले श्रष्टामा उर्जा थप्ने काम गर्छ। आवश्यक छ। तर, नेपालमा जुन विकृतिको कुरा गर्नु भयो त्यो छ झै मैले पनि अनुभूति गरेको कुरा हो। मेरो व्यक्तिगत विचारमा अहिले पुरस्कारको गरिमा नै घटाइदिएको जस्तो पाइन्छ।

एउटा राम्रो श्रष्टाले आफूले पुरस्कार पाउँदा अपमानित भएको ठान्छन् होला झै लाग्छ किन भने, हिजो अस्तिबाट साहित्यमा आएका (सबै होइन केही) व्यक्तिहरुको घरको भित्ताभरी पुरस्कार नै पुरस्कार छन्। पहुँचको आधारमा पाएको, ऐंचो पैंचो गराएको जस्तो देखिन्छ। यो सुध्रिनु जरुरी छ।

समालोचनाको माध्यामबाट नेपाली साहित्यलाई डोर्याई रहनु भएको छ, कहाँ छ त साहित्यको स्थान अहिले ?

उर्भर छ भन्नु पर्छ। सबै प्रकारका साहित्य लेखिएका छन्। आख्यान त्यसरी नै अगाडि आइरहेको छ। साहित्य विषय वस्तुको हिसाबले पनि नयाँ नयाँ प्रयोग गरिरहेको पाइन्छ। पहिचानका मुद्दा आएको छ। नारीवाद त्यसैगरी अघि बढेको छ।

सीमान्तकृतहरु जुरमुराएका छन्। साहित्य समाज परिवर्तका लागि विचार प्रदान गर्ने माध्याम हो। यो भइरहेको छ। यो राम्रो पक्ष हो। त्यसैले मैले सुरुमै उर्भर छ भने।

तर, जति भइरहेको छ। त्यसलाई व्यापकता दिन सकेका छैनौं। अन्तर्राष्ट्रिय साहित्य जगतमात्र नभएर आफ्नै देशको पनि कुना काप्चामा साहित्यलाई पुर्‍याउन सकिएको छैन। हामी साहित्यमा केन्द्रिकृत भइरहेको, स्तरीय हुँदाहुँदै पनि अन्तर्राष्ट्रिय करण हुन नसकेको भने सत्य हो। यी र यस्ता कुराका बाबुजुद पनि साहित्य विभिद किसिमले अगाडि बढिरहेको छ।

साहित्यमा पनि लैङ्गिक विभेदका कुरा भएको सुनिन्छ। साहित्यमा यस्ता कुरा किन आउँछन् ?

देशको सबै भन्दा बौद्धिक वर्ग, बुझेको वर्ग भनेको लेखक, विद्धवानहरु नै हो। जसले समाजलाई मार्ग निर्देश गरिरहेको हुन्छ, उहाँहरुकै कृतिमा पनि लैङ्गिक विभेद आयो भने अरुले के गर्ला? यो नआउनु पर्ने विषय हो। आइरहेको पाइन्छ। किन आउँछ म पनि दंग परेकी छु।

वास्तवमा साहित्यमा लैङ्गिता हुँदैन। हामी कुनै पनि कृति पढ्दाखेरी महिलाको पढौं वा पुरुषको पढौं भावना, विचार र कुरा उही नै हुन्छ। त्यहाँ हामी कुनै पनि लिंग छुट्याएर पढ्दैनौं। तर, इतिहास लेख्ने बेलामा त्यो आवश्यक पर्‍याे। किन पर्‍याे? भन्दाखेरी एउटा समूह धेरै अघिदेखि लेखेको छ। उसको ठूलो सर्कल छ।

अर्को समूहले धेरैपछिदेखि लेख्न सुरु गर्यो त्यसको सर्कल सानु छ। त्यो सानो सर्कल त जलिहे पनि ठूलोबाट छोपिने भयो नि। त्यो सिमान्तकृत समूहलाई बराबरीमा ल्याउनका लागि नारी साहित्य भन्नु परेको हो। त्यसैले पनि साहित्यमा लैङ्गिकता पाइएको हो।

पुरुष श्रष्टाले लेखेको कृतिमा महिला पाठकले आफूलाई हेपिएकै पाउनुको कारण के हो ?

पहिला महिलाहरु शिक्षित थिएनन्। जे लेख्यो तेही हुन्थ्यो। अहिलो शिक्षित भए, नारीको अनुभूति के हो त, त्यो अनुभूति लेखिएको छ कि छैन भन्ने कुरा हर्छन। पुरुष लेखकहरुले महिलाको अनुभूतिलाई त्यति धेरै बुझेर लेख्न पनि सक्नु हुन्न। त्यो त अनुमान न हो।

महिलाको सोचलाई पुरुषले लेख्दा खेरी अनुमान गरेर लेख्ने हो नि। अनुमान गरेर लेखेको कुरामा वास्तविकता नै आएको हुँदैन। पुरुष श्रष्टाले लेखेको कुरा झट्ट हेर्दा महिलाको बाहिरको आकृतिलाई मात्र देखाएको पाइन्छ।

महिलाको प्रतिभा, क्षमता, गुण भन्दा पनि उ कसरी हिँड्छे। कसरी हाँस्छे। कसरी बोल्छे। कस्तो जवाफ दिन्छे भन्ने जस्ता वाहिरी कुरामात्र आए भन्ने कुरा हो। महिला पात्रलाई जो कथाकार छ उसले हिँडाएको हुन्छ, महिला पात्र त आफैं हिडेको होइन नि। त्यसरी हिडाउँदा महिलाको चरित्र अनुसार अनुभूति, महिलाहरु के चाहन्छन् त्यो नभएको पाइन्छ। त्यसैले पनि विरोध गर्‍या हो।

नारीवाद, पहिचानवादलगायतका कुराहरु साहित्यमा आएका छन्। साहित्यमा यी विषयहरु कसरी आउनु पर्छ ?

साहित्य र विचार जहिले पनि परिवर्तित हुन्छ। समय अनुसार परिवर्तन हुनु नैपर्छ। परिवर्तन नभएको अवस्थामा साहित्यमा पनि मिठास हुँदैन। २००७ साल तिरको साहित्यमात्र अहिलेसम्म लेखिरहेको भए विभिधता पनि हुँदैन थियो। साहित्यमा चेतना पनि हुँदैन थियो।

तर, के हुनु हुँदैन भने मुद्दा उठाउँछु भनेर साहित्यलाई मुद्दा केन्द्रीत बनाएर, ऐजेण्डाको रुपमा ल्याउन हुँदैन। उपदेशमात्र दिएर यो हुनै पर्छ भनेर नारा लगाए जस्तो गर्न हुँदैन। त्यो कुरा आवस तर, वर्षौं पछिकाले पढ्दा पनि त्यो भित्र उसले आफ्नै आवाज हो भन्ने अनुभव गरोस्। कलाले छोपिएर आवस्। कसैमाथि आक्षेप नलागिकन आवस्।

तपाईँले भनेजस्तै नारीवादी, पहिचानवादी, सिमान्तकृतका आवज आउनु पर्छ। विचार आउनु पर्छ। तर, साहित्यको पनि एउटा मर्यादा त छ नि साहित्यको मर्यादाभित्र नबसेको अवस्थामा त्यो नीतिशास्त्र वा समाजशास्त्र मात्र हुन्छ।

साहित्यमा आफ्नो विचार राख्दा कालजयी हुने गरेर आउनु पर्छ भन्ने हो। गल्ती गर्नेलाई नमजा लागोस्, गल्ती नगर्नेले आहा भनोस् तर कसैलाई नविजाओस्, त्यस्तो खालको भाषाले छोपेर आउनु पर्छ जस्तो लाग्छ।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *