हल्ट प्राइजको अन्तिम प्रतिस्पर्धीका रूपमा नेपाली युवा वैज्ञानिकहरू लण्डन जाँदै

डिसी नेपाल
३१ असार २०७८ ९:१८
116
Shares

लण्डन । युवा विद्यार्थीको नोबेल पुरस्कारका रूपमा चिनिएको हल्ट प्राइजको अन्तिम प्रतिस्पर्धामा भाग लिन नेपाली युवा वैज्ञानिकहरू लण्डन आउने भएका छन्। दश लाख अमेरिकी डलर रकमको उक्त पुरस्कारका लागि वैशाखमा पहिलो र दोस्रो चरणको छनोट प्रतियोगिता भइसकेको थियो।

डल्ले च्याउ बनाउने मेसिन बनाएर प्रतिस्पर्धामा सहभागी भएका युवा वैज्ञानिकहरू शिशिर पन्त, प्रशान्त भट्ट, निर्देश भट्टराई र सोनी पोख्रेलको टोली अगस्ट ८ देखि सेप्टेम्बर १२ सम्म लण्डनमा हुन लागेको कार्यक्रमका लागि आउने तयारीमा छ। विश्वभरिबाट अन्तिम चरणका लागि पुगेका ६९ सहभागी हुने उक्त कार्यक्रममा नेपाली युवा वैज्ञानिक पनि सहभागी हुन लागेको चारमध्येका एक प्रतिस्पर्धी शिरिर पन्तले जानकारी दिए।

लण्डनमा सहभागी हुन आउन खर्च लाग्ने दुखेसो गरेपछि गैरआवसीय नेपाली सङ्घका पदाधिकारीले व्यक्तिगतरूपमा र संस्थागतरूपमा सहयोग गर्न पहलका लागि गो फण्ड परोपकारी सञ्जालमार्फत रकम सङ्कलनको अभियान चलाइएको एक सामाजिक अभियानकर्मीले जानकारी दिए। बस्न र खानका लागि बेलायतमा रहेका नेपाली व्यवसायीले सहयोग गर्ने बताए पनि आउने जाने खर्चका लागिसमेत रकमको समस्या रहेको हुँदा उक्त सहयोग अभियान सञ्चालन गरिएको हो।

घरेलु उद्योगका रूपमा विकास गर्न पनि सकिने र गृहिणीले आफ्नो बचेको समयमा यसैमा समय बिताए पैसा र पौष्टिक आहार दुवै हुने सोचका साथ विकास गरिएको मेसिनले कम खर्चमा डल्ले च्याउ उत्पादन गर्ने बताइएको छ । हाल व्यावसायिकरूपमा च्याउखेती गरिँदै आए पनि बढी खर्चिलो भएको हुँदा यो प्रविधिले थोरै रकमबाट पनि आर्थिक आयआर्जन गर्न सकिने र विदेशबाट आयात गरिने च्याउको मात्रामा समेत कमी आउने युवा वैज्ञानिकको भनाइ छ।रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.