कोरोनाको खिसी गर्दै खोप लगाउन अस्वीकार गरेका अमेरिकी पुरुषको कोरोनाबाटै मृत्यु

डिसी नेपाल
११ साउन २०७८ १९:०७
872
Shares

बीबीसी । कोभिड खोपको खिसीटिउरी गर्ने संयुक्त राज्य अमेरिकाको क्यालिफोर्निया राज्यका एक पुरुषको कोरोनाभाइरसकै कारण ज्यान गएको छ। उनी एक महिना कोभिडका कारण थलिएका थिए।

हिल्सङ मेगाचर्चका सदस्य स्टीभन हार्मन कोभिड खोपका प्रखर विरोधी थिए। उनले खोप नलिने भन्दै उक्त खोपको खिसी गर्न एउटा शृङ्खला नै बनाएका थिए। ‘मलाई ९९ वटा समस्या छन् तर तीमध्ये खोप चाहिँ हैन है,’ सात हजार फलोवर भएका ती ३४ वर्षीय पुरुषले जुन महिनामा ट्वीट गरेका थिए।

लस एन्जलिसबाहिर पर्ने एउटा अस्पतालमा उनको निमोनिया र कोभिड १९ को उपचार भइरहेकोमा गत साता मृत्यु भयो। आफ्नो जीवनका अन्तिम दिनमा बाँच्नका लागि गरेका सङ्घर्षको प्रमाण छाडेर उनी गएका छन्। अस्पतालको शय्यामा भएको बेलाका तस्बिरहरू उनले पोस्ट गरेका थिए।

‘कृपया मेरो लागि तपाईँहरू सबैले प्रार्थना गर्नुहोला, उनीहरू साँच्चै पाइपमार्फत् सास पुर्‍याउन चाहन्छन् र मलाई भेन्टिलेटरमा राख्न चाहन्छन्,’ उनले भनेका थिए । बुधवार गरेको अन्तिम ट्वीटमा हार्मनले पाइपमार्फत् श्वासप्रश्वास लिने निर्णय गरेको बताएका थिए।

‘मलाई थाहा छैन म कहिले उठ्न सकूँला। कृपया मेरो लागि प्रार्थना गर्नुहोला,’ उनले लेखेका थिए। कोरोनाभाइरससँग जुझिरहँदा पनि उनले कोभिड खोप लगाउन अस्वीकार गर्ने भनिरहे र धार्मिक आस्थाले आफूलाई बचाउने विश्वास व्यक्त गरिरहे।

आफ्नो मृत्युअघि उनले कोरोनाभाइरस महामारी र कोभिड खोपको खिसी गरेका थिए। अमेरिकी वरिष्ठ विज्ञ डा। एन्थोनी फाउचीमा भन्दा बाइबलमा विश्वास रहेको भन्दै बनाइएका मीम पनि उनीले शेअर गरेका थिए।

उनको मृत्यु भएको पुष्टि हिल्सङका संस्थापक ब्रायन ह्यूस्टनले बिहीवार एउटा ट्वीटमार्फत् गरे। इन्स्टाग्राफ पोस्टमार्फत् पनि उनले हार्मनप्रति श्रद्धाञ्जलि व्यक्त गरेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *