त्यो एकरात ओहो !
त्यो कस्तो हाटबजार
त्यहाँ साग – सब्जी
केही थिएन
न त
गाई, भैंसी, बाख्रा, पाठा नै बिक्रीमा थिए ।
बरु त्यहाँ
एउटा ठुलो गोसखाना थियो।
सडकपेटीमा लुगा छाने
जस्तै
मान्छेका किड्नी र आँखा
छानीछानी मोलमोलाई हुँदै थियो।
आँखा किन्न
धेरै धृतराष्ट्रहरू लाइनमा थिए।
अर्को छेउमा,
जवान दुष्शासनहरू
कुमारीको ताजा रगत
बटुकामा भरेर घुट्घुट पिउँदै थिए।
त्यो विभत्स हाटबजारमा
एक थुप्रो मुटु फालिएको थियो।
मजेत्रोले अनुहार छोपेकी
एउटी आमाले
छेउमा आएर सोधिन्,
“नानी, यहाँ आँशु पनि बिक्री हुन्छ ?”
म अवाक् भएँ र हेरेँ
फालिएको मुटुको थुप्रोतिर।
त्यै बेला ,
पर कुनाबाट एक हुल स्वास्नीमान्छे चिच्याए,
“कसैलाई श्रवण कुमार चाहिएको छ ?
आऊ,
यहाँ धेरै पाठेघरहरू खाली छन्
तिमीले छानेर विर्य भर्न पाउनेछौ।”
ति अपरिचित अनुहार
मै जस्ता आमा, दिदी, बहिनीका थिए।
म डराउँदै ब्युँझेँ
कस्तो ऐंठन पार्ने रात…
के यस्ता कहालिलाग्दा सपना
पुरुषले पनि देख्लान् त ??
No ads found for this position

डिसी नेपाल
Facebook Comment