महाकविको सान्ध्यकालमा प्रोद्वेलित मनका बहहरु
तिम्रो सृजनाकर्म नबुझ्ने
गर्ने प्रवंचना पूर्ण प्रलाप
के जानून् सब काव्य चिरंतन
जसले हथ्र्यो तिम्रो संताप?
निर्विवाद हौ महाकवि तिमी
उज्जवलतम नेपाली नक्षत्र
असीम आनन्दका स्रोत हुन्
तिम्रा काव्यका असंख्य सूत्र ।
थिएनौ तिमी त ईश अगोचर
थिएनन् तर तिमी तिर हेर्ने
रंग विरंगी दुनियामा को
कवि त रवि हो भनेर चिन्ने ?
सुकरात झै बिष पिउने तिमी
क्यान्सर भै ढल्यौ बिभूति तिमी
जीवन खोक्रो खरानी भयो
चुरोटाग्नि मै ंबल्यौ दनदनी ।
कोही शून्यमा डाकि रहेथ्यो
पर पर परा सशक्त भएको
मात्रै यौटी प्रकृति रुन्थिन्
देखेर तिमी डूबिरहेको ।
अहो क्षितिज भो सिम्रिक रंग
अविदित अनन्त, भए अविचल अंग
नयननयनमा अश्रु तरल भो
शोक खेदका कति चोट प्रचंड
कुनै रस सिध्दा कविको यहाँ
ख्वै समयमैं सही मूल्यांकन
वर्षेनी यहाँ त जयन्तिका
हुने एकेक अंकको अंकन ।
पुगी नै रहोस् भलै हे लक्ष्मी
तिमी मरेका वर्ष कैय्यन्
चिर मानवीय संबेदना त
तिम्रा कृतिमा अमर रहन्छन् ।
तवै त तिम्रा कृतिमा म हेर्छु
मधुर मनोहर त्यै इन्द्रेनी
खोज्छु अनिविपरीत दिशामा
तिमी नै हे उज्वल सेजी ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment