कवि कृसु क्षेत्री व्यथित वनिताश्री सम्मानबाट सम्मानित
काठमाडौं । साहित्यका विविध विधामा सशक्तरूपमा कलम चलाई विशेषतः काव्यजगतमा विलयन कविताको माध्यमबाट नयाँ तरङ्ग ल्याउन सफल क्षमतावान् सुन्दर शब्द शिल्पी कवि कृसु क्षेत्रीलाई व्यथित काव्य वनिताश्री सम्मान–२०७८ बाट सम्मानित गरिएको छ ।
आइतबार एक विशेष समारोहमा वनिता त्रैमासिककी सम्पादक तथा प्रकाशक लक्ष्मी उप्रेतीले क्षेत्रीलाई सम्मान गरिन् । सो अवसरमा उप्रेतीले कवि क्षेत्री साहित्यका अतिरिक्त कूटनीतिमा पनि अत्यन्त चर्चित रहेकाले यो सम्मानबाट पुरस्कृत व्यक्तित्वमात्र नभई पुरस्कार दिने संस्था पनि सम्मानित भएको बताइन् ।
झापामा जन्मेका कवि क्षेत्री कविताका अतिरिक्त गीत, गजल, मुक्तकमा सिद्धहस्त रहेको र सम्पादनमा समेत प्रसिद्ध भएको उनका मित्र तथा विलयन लेखनका अर्का प्रवर्तक मनोज न्यौपानेले जानकारी दिए । विलयन लेखनकै अर्का सहयात्री चेतनाथ धमलाले कवि क्षेत्रीको ‘चराको गीत’ अत्यन्त लोकप्रिय कविता सङ्ग्रह रहेको र उक्त सङ्ग्रह नेपालका विश्वविद्यालयहरूमा पाठ्यक्रममा समेत परेको जानकारी दिए ।
कृसु क्षेत्रीले हालै सम्पादन गरेको ‘उत्तर अमेरिकी नेपाली कविता’ नामक बृहत् ग्रन्थसमेत त्रिभुवन विश्वविद्यालयको एम फीलको पाठ्यक्रममा परेको धमलाले बताए ।
व्यथित काव्य वनिता पुरस्कारबाट विगतमा डा. विष्णु विभु घिमिरे, विश्वविमोहन श्रेष्ठ, भारती गौतम, उषा शेरचन, सुलोचना मानन्धर, नवराज सुब्बा, श्रवण मुकारुङ, मोमिला जोशी, अनिल पौडेल आदि सम्मानित भइसकेका छन्।
No ads found for this position

डिसी नेपाल
Facebook Comment