अमेरिका, अस्ट्रेलिया, भारत र जापानको ‘क्वाड’ सम्मेलन ठिक अगाडि चीनको ठूलो भविष्यवाणी

डिसी नेपाल
९ जेठ २०७९ १५:०६

काठमाडौं । जापानको राजधानी टोकियोमा हुने क्वाड सम्मेलनमा सहभागी हुन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी मंगलबार जापान पुगेका छन् । उनी बाहेक यस संस्थाका अन्य तीन देश अमेरिका, अष्ट्रेलिया र जापानका राष्ट्र प्रमुखहरु पनि बैठकमा सहभागी हुनेछन् ।

इन्डो–प्यासिफिक क्षेत्रमा चीनको वर्चस्व घटाउन चार देशको यो संगठन गठन गरिएको मानिन्छ । यो संगठन गठन भएदेखि नै इन्डो–प्यासिफिक क्षेत्रमा चीनको प्रभावलाई कम गर्न सक्ने खालका सम्झौताहरू निरन्तर भइरहेका छन् ।

चीनले सँधै क्वाडको बारेमा बोल्दै आएको छ र यसलाई आफ्नो विरुद्धको षड्यन्त्र भनेको छ। चीनले फेरि एकपटक क्वाडको बारेमा बयान दिँदै यो संगठन असफल हुने बताएको छ।

पाकिस्तानका विदेशमन्त्री बिलावल भुट्टो जर्दारीले आइतबार चीन भ्रमणमा रहेका चिनियाँ समकक्षी वाङ यीसँग भेटवार्ता गरेका छन् ।

ग्वाङ्झाउमा भएको यस बैठकपछिको संयुक्त पत्रकार सम्मेलनमा वाङ यीलाई क्वाड शिखर सम्मेलनबारे प्रश्न सोधिएको थियो । जवाफमा उनले भने ‘अमेरिकाको इन्डो-प्यासिफिक क्षेत्र रणनीति असफल हुन बाध्य छ र बेइजिङलाई सीमित गर्नका लागि अमेरिकाले यसलाई द्रुत रूपमा विस्तार गर्दैछ।’

उनले अमेरिकाको इन्डो–प्यासिफिक रणनीतिलाई एसिया–प्रशान्त क्षेत्रको उपस्थिति मेटाउने प्रयास भएको र यसले क्षेत्रीय सहयोगको ढाँचालाई नकार्ने र दशकौंदेखि यस क्षेत्रका सबै देशले शान्तिपूर्ण विकासको गति लिएकोमा त्यसमा नकारात्मक प्रभाव पार्ने बताए ।

वाङले भने, “यस रणनीतिको सार भनेको विभाजन सिर्जना गर्नु, द्वन्द्व भड्काउनु र शान्तिलाई कमजोर बनाउनु हो। यो जस्तोसुकै बनोस् वा देखियोस्, यो असफल हुनको लागि सेट गरिएको छ।”

उनले ‘इन्डो–प्यासिफिक रणनीति’ ले अन्तर्राष्ट्रिय समुदायका लागि विशेषगरी एसिया–प्रशान्त क्षेत्रमा थप सतर्कता र चासो सिर्जना गरिरहेको बताए । चीनले यस क्षेत्रलाई एसिया–प्रशान्त क्षेत्र भनेको छ र यो इन्डो–प्यासिफिक रणनीतिक अवधारणाको विरुद्धमा रहेको बताएको छ ।

अमेरिकाको यो रणनीतिले डोनाल्ड ट्रम्पको कार्यकालमा प्रमुखता पाएको थियो र जो बाइडेनको कार्यकालमा विस्तार गरिएको थियो। चिनियाँ विदेशमन्त्री वाङ यीले आफ्नो वक्तव्यमा नेटो र शीतयुद्धको पनि उल्लेख गरेका छन् ।

उनले एसिया प्रशान्त क्षेत्रलाई भूराजनीतिक नभई शान्तिपूर्ण विकासको ठाउँ बन्ने भन्दै एसिया प्यासिफिकलाई ब्लक बनाएर नेटो वा शीतयुद्ध कहिल्यै सफल नहुने बताए ।

मुक्त र स्वतन्त्र इन्डो-प्यासिफिक क्षेत्र क्वाड संगठनको उद्देश्य मध्ये एक हो, जसले अमेरिका, जापान, भारत र अष्ट्रेलियालाई एउटै प्लेटफर्ममा ल्याउँछ । जबकि बेइजिङले यसलाई ‘एशियन नेटो’ भन्दै यसको उद्देश्य भनेको चीनको उदय रोक्नु भएको बताईसकेको छ ।

अमेरिका, भारत र धेरै विश्व शक्तिहरूले स्रोत सम्पन्न क्षेत्रमा चीनको बढ्दो सैन्य अभ्यासपछि खुला इन्डो-प्यासिफिकको वकालत गर्दै आएका छन्। चीनले विवादित साउथ चाइना सीको सम्पूर्ण भाग दाबी गर्दै आएको छ भने ताइवान, फिलिपिन्स, ब्रुनाई, मलेसिया र भियतनामले यसको केही भाग दाबी गर्छन्।

बेइजिङले दक्षिण चीन सागरमा कृत्रिम टापु र सैन्य प्रतिष्ठानहरू स्थापना गरेको छ। पूर्वी चीन सागरमा पनि जापानसँग चीनको क्षेत्रीय विवाद छ। वाङले यस क्षेत्रका जनताले एसियामा पुरानो शीतयुद्धको परिदृष्य कहिल्यै नदोहोरियोस् र विश्वमा जुन अशान्ति र युद्ध भइरहेको छ त्यो यस क्षेत्रमा कहिल्यै नदोहोरियोस् भनी अमेरिकालाई बताउनुपर्ने बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.