सीमानामा काँडेतार लगाउन फिल्म ‘काँडेतार’मार्फत् प्रस्ताव, विद्यार्थी संगठनहरुको समर्थन

डिसी नेपाल
३१ असार २०७९ २०:५९
100
Shares

काठमाडौं । सीमानामा काँडेतार अभियानका संयोजक तथा राष्ट्रिय भावधारामा निर्माण गरिएको चलचित्र काँडेतारका निर्माता एवं नायक नवल खड्काले नेपाल-भारतबीचको सीमालाई व्यवस्थित गर्न काँडेतार लगाउनु पर्ने प्रस्तावसहित चलचित्र निर्माण गरिएको बताएका छन्।

शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा यस्तो प्रस्ताव गर्दै फिल्मको निर्माण टिमले विद्यार्थी संगठनका अध्यक्षसँग छलफल पनि गर्‍यो । सीमानामा काँडेतार अभियानका संयोजक तथा निर्देशक खड्काले नेपालका लागि खुला सीमाना घातक भएको बताए ।

‘फिल्ममार्फत हामीले काँडेतार लगाउनुपर्छ भन्ने प्रस्ताव गरेका छौं । हामीले फिल्ममार्फत राष्ट्र, राष्ट्रियता र सार्वभौमसत्तालाई रक्षा गर्न चाहेका हौं,’ खड्काले भने ।

मुलुकमा देशभक्ति भावनामा बनेका फिल्म रक्षात्मक स्थितिमा पुगेको भन्दै खड्काले बजारिया फिल्मको कारण परिस्थिति जटिल अवस्थामा पुगेको बताए । हलिउड र बलिउडले फिल्मको सांस्कृतिक पक्षलाई बुझे पनि नेपाली शासकले नबुझेको उनले आरोप लगाए ।

नेपाल पत्रकार महासंघ अध्यक्ष विपुल पोखरेलले फिल्मले गरेको काँडेतार प्रस्ताव नागरिकसामु आएको र यसको निर्णय जनताले गर्ने बताए । राष्ट्रियताको प्रवर्द्धन गर्ने सवालमा नेपाली पत्रकारिताले सबैभन्दा बढी योगदान दिएको अध्यक्ष पोखरेलले बताए । सामाजिक उत्तरदायित्वको सिद्धान्तप्रति आधारित रहेर फिल्म निर्माण हुनुपर्ने पनि उनले बताए ।

अनेरास्ववियू अध्यक्ष सुनिता बरालले फिल्मले प्रस्ताव गरेको काँडेतार अभियानमा संगठनको समर्थन हुने बताइन् । ‘सीमाको कारण जमिन गुमाउनेको आँसु मैले देखकी छु । म त्यो परिस्थितिको साक्षी हुँ,’ उनले भनिन्, ‘राष्ट्रियताको मुद्धामा सबै एकजुट हुनुपर्छ ।’

‘समृद्ध नेपाल, सुखी नेपाली’ अभियानमा अघि बढ्न पनि नागरिकलाई सचेत तुल्याउनुपर्ने भन्दै उनले एकजुट भए मात्र यस्तो अभियान सम्भव हुने बताइन् ।

अखिल क्रान्तिकारी अध्यक्ष पञ्चा सिंहले राष्ट्रघाती दलाल चरित्रविरुद्ध युवा लड्नुपर्ने भन्दै काँडेतार अभियानमा संगठनको साथ हुने बताइन् । बाह्य शक्तिले नेपाललाई खेल मैदान बनाउन चाहेको र यसको प्रतिरोध गर्नुपर्ने उनले बताइन् ।

नेविसंघ अध्यक्ष दुजाङ शेर्पाले अभियानलाई सबैले समर्थन गर्नुपर्ने बताए । ‘काँडेतार अभियान दल विशेषको मुद्दा होइन, देशको मुद्दा हो । जसरी सत्ता र प्रतिपक्षी मिलेर चुच्चे नक्सा पारित गरियो । सीमाको मुद्धामा पनि सबै जना एकजुट हुनुपर्छ,’ उनले भने, ‘यी मुद्धामा नेविसंघ सहकार्य गर्न तयार छ ।’

अखिल (क्रान्तिकारी) का अध्यक्ष प्रकाश शाहीले राष्ट्रियताको सवालमा सबै एक हुनुपर्ने धारणा व्यक्त गरेका थिए ।

सत्यकला राईको कार्यकारी निर्माण रहेको फिल्ममा नवलसहित गौरव पहारी, सुरबिना कार्की, रेविका गुरुङ प्रशान्त यादव, मुरलिधर, प्रेम सुब्बा, रोमियन लिम्बू लगायतको मुख्य भूमिका छ । फिल्मलाई चाँडै प्रदर्शनको तयारी छ । फिल्मले भारतले नेपाली सीमा अतिक्रमण गरेको मुद्धालाई उठाएको छ ।

खड्काले यसअघि माया बसेछ, क्रान्ति, आवाज, दशगजा र भीमदत्त फिल्म निर्माण गरेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *