आज हिन्दु नारीहरुको महान पर्व हरितालिका तीज महादेवको पूजा आराधना गरी मनाइँदै

डिसी नेपाल
१४ भदौ २०७९ ६:३७
88
Shares

काठमाडौं। आज हिन्दु नारीहरुको महान पर्व हरितालिका तीज अटल सौभाग्यको कामना गरी मनाइँदैछ। विवाहित महिलाहरुले श्रीमानको दीर्घायुको कामना गर्दै तीजको ब्रत बसी मनाउने प्रचलन छ।

अविवाहित युवा युवतीले गुण सम्पन्न वर वा वधु पाउने शास्त्रीय मान्यतामा तीजको ब्रत बस्ने प्रचलन रहेको छ। भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका तीज पर्वमा देवाधिदेव महादेवको पूजा आराधना गरिन्छ। भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा पारिवारिक सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास छ।

सत्ययुगमा हिमालय पुत्री पार्वतीले गौरीघाटमा कठोर तपस्या गरेर भगवान महादेव पति पाउने वरदान पाएको विश्वासमा यो व्रत सुरु भएको पौराणिक मान्यता छ। सत्ययुगमा आजैको दिन कठोर व्रत बसी पार्वतीले महादेव स्वामी पाएकाले आजको दिनमा व्रत बस्दा मनोकामना पूरा हुने विश्वास छ।

हिजो दर खाएपछि औपचारिक रुपमा सुरु भएको तीज पर्व ऋषि पञ्चमीसम्म मनाइन्छ। तृतीयाका दिन हरितालिका व्रत, चौँथीका दिन, गणेश भगवानको पूजा र पञ्चमीका दिन स्नान गरी अरुन्धती सहित सप्तऋषिको पूजा गरी तीज समापन हुन्छ।

तीज पर्वको अवसरमा पशुपतिनाथ लगायत देशभरका शिवालयहरुमा महिला भक्तजनहरुले पुजाआजा गर्ने गर्दछन्।

पशुपति क्षेत्र विकास कोषले यस वर्षको हरितालिका (तीज) पर्वका अवसरमा पशुपतिनाथको दर्शनमा आउने बर्तालु भक्तजनका लागि सहज बनाउन पूर्वी ढोका पनि खोलिएको छ ।

पशुपतिनाथको पूर्वी ढोका विसं २०६५ पछि पहिलोपटक खुला गरिएको हो । पशुपतिनाथका मूलभट्ट परिवर्तन गर्ने २०६५ को घटनापछि पूर्वी ढोका बन्द गरिएको थियो ।

यस वर्ष कोटेश्वर–तीनकुने –सिनामङ्गल क्षेत्रबाट आउने भक्तजनका लागि तिलगङ्गा पर्यटक टिकट काउन्टर क्षेत्रबाट प्रवेश गरी राममन्दिर–आर्यघाट क्षेत्र हुँदै पूर्वी ढोकाबाट पशुपतिनाथ मन्दिर प्रवेश गर्ने व्यवस्था गरिएको छ ।-




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.