थारु जातिसँग इतिहास गाँसिएको ‘घोडाघोडी ताल

डिसी नेपाल
२० मंसिर २०७९ १२:०५

काठमाडौं । घोडाघोडी ताल कैलाली जिल्ला अन्तर्गत पर्ने एक रमणीय ताल हो । करिब ४ मिटर औसत गहिराइ भएको घोडाघोडी तालको क्षेत्रफल १३८ हेक्टर रहेको छ । तालको आसपासमा रहेका अन्य १३ वटा ससाना तालहरु समेत गरेर घोडाघोडी सिमसार क्षेत्र भएको छ । घोडाघोडीमा तालैतालले ओगटेको क्षेत्रफल मात्र दुइसय ४८ हेक्टर क्षेत्रफल जमिन पर्दछ । यसको कुल क्षेत्रफल दुई हजार ५६३ हेक्टर रहेको छ ।

यो ताललाई पर्यटकीय तथा पौराणिक दृष्टीकोणबाट नेपालको एक प्रसिद्ध स्थलको रूपमा लिईएको छ । योगी नरहरिनाथले यो तालबाट पौराणिक काललाई स्मरण गराउने केही चिन्हहरू पत्ता लगाएर यो ताल महाभारत कालभन्दा पनि पहिलेबाट नै एक पवित्र तिर्थस्थल थियो भन्ने सावित गरेका थिए । यो तालमा आन्तरिक पर्यटकहरु घुम्नका लागि यहाँ पुग्ने गर्दछन् ।

यो तालको इतिहास थारु जातिसँग गाँसिएको छ । स्थानीय किम्बदन्ती अनुसार यो ताल सातवटा थारू जातिको बसोबास रहेको गाउँ डुबेर बनेको मानिन्छ। घोडाघोडीमा ३१ प्रजातिका माछा, १४८ प्रजातिका चराहरु, ३२ प्रजातिका पुतलीहरु, ११ प्रजातिका गोहीहरु, ७ प्रजाति घ्रसिने जन्तुहरु, ४५० भन्दा बढी प्रजातिका वनस्पति रहेको पाइएको छ ।

प्रत्येक वर्ष मंसिर महिनाको विवाह पञ्चमीका दिन घोडाघोडी क्षेत्रका थारु जातिले तालको छेउमा रहेको घोडाघोडी देवताको पूजा गर्ने गर्दछन् । तालको दक्षिण किनार राजमार्ग छेउमा रहेको घोडाघोडी बाबाको मन्दिरमा परेवा, हाँस, बंगुर, कुखुरा आदिको बली पनि दिने गरिन्छ । यहाँ शिवरात्रि, माघेसंक्रान्ति र कृष्ण जन्माष्टमीका दिन पनि घोडाघोडी तालमा मेला लाग्ने गर्दछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *