नक्कली भुटानी शरणार्थी प्रकरण : शुक्रबारदेखि न्यायाधीशसमक्ष प्रतिवादीको बयान

डिसी नेपाल
११ जेठ २०८० १२:३६
172
Shares

काठमाडौं। नक्कली भुटानी शरणार्थी प्रकरणका प्रतिवादीहरुको शुक्रबारबाट न्यायाधीशसमक्ष बयान सुरु हुने भएको छ।

बुधबार जिल्ला अदालत काठमाडौं ३० जनाविरुद्ध मुद्दा दायर भएकाले शुक्रबारबाट न्यायाधीशसमक्ष प्रतिवादीहरुको बयान हुने भएको हो। १४ जना फरार रहेका छन् भने न्यायिक हिरासतमा रहेका १६ जनाको बयान हुनेछ।

बयान सकिएपछि हुने थुनछेक बहसपछि मात्र प्रतिवादीहरुलाई थुनामा राख्ने वा धरौटीमा रिहा गर्ने वा साधारण तारेखमा रिहा गर्ने भन्ने टुंगो लाग्नेछ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा एमाले नेता तथा प्रतिनिधि सभा सदस्य टोपबहादुर रायमाझी, कांग्रेस नेता बालकृष्ण खाँण, पूर्वसभासद आङटावा शेर्पा, गृह मन्त्रालयका तत्कालीन सचिव टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राईलगायत ३० जनाबिरुद्ध मुद्दा दर्ता गरिएको हो ।

अभियोगपत्र अनुसार पूर्वमन्त्री खाँणलाई चारवटै मुद्दा लगाइएको छ। खाँणले ठगी, सरकारी कागजात किर्ते, राज्यविरुद्धको कसुर र संगठित अपराध गरेको पुष्टि भएको अभियोगपत्रमा उल्लेख छ। यस्तै पूर्वसचिव पाण्डेमाथि पनि खाणसरह चारवटै मुद्दा दायर भएको छ।

पूर्वमन्त्री रायमाझीविरुद्ध पनि ठगी, सरकारी कागजात किर्ते, राज्यविरुद्धको कसुर र संगठित अपराधमै मुद्दा चलाइएको छ। तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सल्लाहकार राईलाई पनि चारवटै कसुरमा मुद्दा दायर गरिएको छ। त्यस्तै दुलालका हकमा पनि चारै कसुर आकर्षित गरिएको छ।

सानु भण्डारी, आङ्टावा शेर्पा, सन्देश शर्मा, शमशेर मियाँ, टेकनाथ रिजाल, नरेन्द्र केसी, रामशरण केसीलाई पनि उल्लिखित चारवटै कसुरमा मुद्दा दायर गरिएको छ। फरार १४ जना अभियुक्तलाई पनि चारवटै कसुरमा मुद्दा दर्ता गरिएको छ।

अभियोगमा प्रतिवादीबाट २८ करोड ८१ लाख ७४ हजार पाँच सय रुपैयाँ असुलउपर गरी जाहेरवालालाई भराउन माग गरिएको छ। कसुरदारबाट अपराध पीडित संरक्षण ऐन अनुसार पीडित राहत कोषमा क्षतिपूर्ति भराउन पनि माग गरिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.