कविता : फेरि सूर्य उदाउने छ
आज त सूर्य अस्ताएर झमक्क साँझ परेछ
आकाशमा देखिने सयौं तारा क्षितिजमा झरेछ
बाटो, बगैँचा, सतल, बस्ती सबै अँध्यारो भएछ
कर्म गर्ने हातले हिंसालाई अंगाल्दा खेरी
इमानदार मानिएकाहरु मौनताको पछेउरी भित्र
श्वास रोकेर आँखा चिम्लिँदै
निष्पट्ट कालो रातमा उर्जा हराएका मनहरु
बाटो बिर्सिएर लड्खडाउँदै गरेका पाइलाहरु
सपनाको भारी बोकेर एैठन भएका रातहरु
टाढिएका आफन्तका साथहरु
निभेका चुलाका रित्ता रित्ता भाँडाहरु
भोका पेट निराशाका बादलहरु
कर्मको मर्म हराएर ठगिको धन्दा मौलाउँदा
थाकेका छन आमाका सपनाहरू।
रातसँगै तर्सिएर गल्ली भरी
छरिएर भुक्ने कुकुरहरूको आतंककारी आवाजले
सन्नटालाई चिर्दै गर्दा
आशा उमारेर चौतारीमा सारंगी रेट्दै
गाइने् भनी रहेछन्
भोलि त पक्कै बिहान हुनेछ
धरा भरी घामको किरण छरिने छ
मानिसमा जोश र उर्जा भरिने छ
सम्बन्धहरुमा आत्मीयता छाउने छ
पेशा, व्यावसाय, राजनीति, अर्थनीतिमा लय आउने छ
बाँझिएको जमिनमा कृषि क्रान्ति भएर
अँध्यारो हराएर बस्ती बस्तीमा
उज्यालो मुस्कुराउने छ
हिमाललाई साक्षी राख्दै
भन्छिन् आमा
आयात घताएर
निर्यातले समृद्धि ल्याउने छ
बिदेशीएका युवा मातृभुमिमा फर्केर
आमाको काख हराभरा बनाउने छन्
अनि फेरि सूर्य उदाउने छ
झलमल भएर।
No ads found for this position


Facebook Comment