नारायणगोपाल स्मृति सम्मान तारादेवी र रसिकलाई

डिसी नेपाल
१६ मंसिर २०८० ११:५५
52
Shares

काठमाडौं। नारायणगोपाल संगीत कोषले यस वर्षको ‘नारायणगोपाल स्मृति सम्मान’ ‘स्वरकिन्नरी’ तारादेवी र वाङ्मयसेवी गणेश रसिकलाई गर्ने भएको छ।

कोषका अध्यक्ष उषा शेरचनका अध्यक्षतामा बसेको बैठकले तारादेवीलाई करिब पाँच दशक गीत संगीत क्षेत्रमा योगदान गरेबापत मरणोपरान्त र रसिकलाई गीत संगीत र साहित्य क्षेत्रमा करिब छ दशक समर्पित भएबापत सो सम्मान दिन लागिएको हो।

रेडियो नेपालमा पनि करिब चार दशक सेवारत गायिका तथा संगीतकार तारादेवीको जन्म विसं २००२ माघ २ गते र निधन २०६२ माघ ९ मा भएको हो । उनले राष्ट्रिय, आधुनिक र लोकगीत गरी करिब तीन हजार पाँच सय गीत गाउनाका साथै केही गीतमा संगीत पनि दिएकी छिन्।

उनका नाममा पाँच वर्षअघि तारादेवी फाउन्डेसन पनि स्थापना गरिएको छ । बिसका दशकमा लेकाली समूहबाट गायनमा उदाएका रसिकका नेपाली साहित्यका विविध विधामा थुप्रै पुस्तक पनि प्रकाशित छन्।

यही मङ्सिर १९ गते स्वरसम्राट्को ३३ औँ स्मृति दिवसका दिन सो सम्मान दिइने कोषका महासचिव दीपक केसीले जानकारी दिए।

विसं २०४७ मा स्थापित कोषले यसअघि ४० स्रष्टालाई सम्मान गरिसकेको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *