कविता : सपना र शिप लिएर
गाउँ आजकल खाली खाली छ
प्रत्येक घरहरू खण्डहर भैरहँदा
एउटा बुढो बकैनाको रुख
बाझो बारीको बीचमा
ठिङ्ग उभिरहेको छ
समयको साक्षी बनेर
कसैको प्रतीक्षामा
अन्तिम स्वास छोड्न
उस्को वरिपरी लुकामारी खेल्ने
ती कलिला जमात
जवान हुन नपाउँदै
आफ्नो थात थलो छोडेर
बाध्यताका भुमरीमा
प्रचण्ड गर्मी भोग्दै
खाडी मुलुकमा
बालुवाको मरुभूमिमा
पशिना चुहाई रहँदा
सपनाका बेर्नाहरु उमारेर
सार्न नपाउँदै
बिपनाका टुसाहरु
नियतिको खेलले
निमोठी रहेको त छैन?
अनि आफैसँग प्रश्न गर्छु
उत्सुकता बोकेर
एकटक अस्ताउँदै गरेको सूर्य हेर्दै
भोलिको उदाउँदो सूर्यको किरणसँगै
ती बिदेशीएका जमातहरु
मातृभूमिको माटो सम्झँदै
आश लाग्दा सपना र शीप लिएर
उज्यालो झिल्को लिएर झुल्कने छन्।
No ads found for this position
प्रतिक्रिया


Facebook Comment