कविता : उदास जिन्दगी
आगोमा फ्याँकिएको रवर झैँ खुम्चिएको
निमको मन्जनभन्दा तितो
पिठ लागेको खच्चर झैँ अरर्रिएको
ऐनासरी झर्लम्म फुटेको
हुरीले उँडाएको पत्कर बनी
कोलमा निबुवा झैँ निचोरिन बिवश
दु:खी र उदास जिन्दगीमा पनि
जिजीविषा पलाउँदो रहेछ।
दमको रोगिले झैँ हरपल सुसाउँदै
गण्डकीको जलसरी प्रबाहित हुँदै
दिनरात म आफ्नो कर्तब्यमा हिडिरहेँ
मिठामिठा कल्पनाहरू सजाउँदै
खुसी जीवनको तुईन तर्ने लालसामा
सृष्टिकै परम सुन्दरी एउटी परीलाई
मस्त जवानीको
मादकपूर्ण बैँसमात्र हैन
हलक्क फक्रेको
जिन्दगीको दरवार नै सुम्पिदिएँ।
समय बग्दै गयो, बहँदै गयो
अहोरात्र उनलाई मैले
फूलको आँखाले मात्र हेरिरहेँ
काँडाको आँखाले उनले
क्रमश: हेर्न सुरू गरिन्
बिद्रोही भावना दवाएर
शालिकजस्तै मौन बसेँ
दिलको सदनमा उनैलाई सजाउँदै
मायाको सलेदो लगाउँदै गएँ
छाडिन प्रेमको धुप सल्काउन
पिरतीको बिउ रोपिरहेँ
अफसोच !
मौरीको घारमा
बारुलाको साम्राज्य जमाईन्
फलाम बनेर शिसामा हिर्काईन्
चक्नाचुर पारिन पिरती
शुप्रभात हुनु अगाडिको रातजस्तै
निष्पट्ट अन्धकार भयो संबन्ध।
ममाथि दुखको आकाश
अनायासै घोप्टियो
अदृष्य नियतिको कालो छायाँ
टाउकोमाथि मडारियो
अपमानको तिखो काँड
कोमल हृदयमा रोपियो
आँसुमा तैरिएको यो जिन्दगीमा
बिरक्तिको घुम ओडेर
वियोगको रनाहमा छटपटाउँदै
किंकर्तव्यविमूढ बनी
पानी मरेको घट्टसरी
चुपचाप छु म आज।
उनको ब्यबहार संझिउँ- तडपन बढछ
अनुहार संझिउँ- धडकन बढछ
यो उदास बर्तमानमा
मनको सारङ्गीले
बिरह धुन बजाई रहेछ
कर्णाली बौलाए झैँ
नमिठो भाकामा
हृदय निरन्तर सुसाइरहेछ
आगोको बिच्छ्याउनामा
परालको सिरक ओढेर
आफुजस्तै च्यातिएको डोकोमा
भाग्य थाप्न अभिसप्त छु
तर,
तर, उनी भने
मेरो जिन्दगी जलेको
न्यानो रापमा रमाईरहिन्
दसैँमा खसी ढाले झैँ
मलाई ढाली गईन्।
गोरखा बजार
हाल: अमेरिका
No ads found for this position


सुन्दर उपमा भित्र मीठा झर्रा शब्दहरूको समयोजनले ऊँचाई थपेको अति स्तरीय कबिता आयो । पढेर मुग्ध हुन पाएँ । बधाई छ ।