कवि सोतन्त्र नेपालका साताको तीन कविता

सोतन्त्र नेपाल
१ भदौ २०८१ ७:४९
92
Shares

“मेरा अस्थिर बा”

सूर्यको किरणले दन्त माझ्न
हिमाल फिस्स नमुस्कुराउन
र,

खोरको भालेले बिहानीको बिगुल फुक्न नपाउँदै
निस्किन्छन् मेरा बा चुनौतीका पथहरूमा,
संघर्षका नांगा पाइताला घिसार्दै
मनमा एक अठोट
र,

आँखाका अनगिन्ती सपनाहरू बोकेर।

मेरा बा शिकारी होइनन्
तर पनि लडेका छन् कयौँ पटक
बाघसँग रक्ताम्य हुने गरी ।

मेरा बा,
टिभीमा देखिने ठूला-ठूला पाखुरा भएका
पहलमान पनि होइनन्
तर पनि बोकेर पुगेका छन् शहरसम्म
काजीले हल्लाउन समेत नसक्ने भारी,

मेरा बा सुकिलो लुगा
र, प्राइज ट्याक झुण्डाएको चस्मा लगाउने
मास्टर पनि होइनन्
तर पनि बासँग छ मेरा सबै प्रश्नका उत्तरहरू।

मेरा बा धामी, वैद्य र डाक्टर केही होइनन्
तर पनि बासँग छ,
मेरी आमाको वेदना, पीडा र गुनासोको ओखती

मेरा बा अस्थिर छन्
आमाको हरको फरिया
मैले लगाउने
लिभाइसको जिन्स पाइन्ट,
एडिडासको जुत्ता
र बहिनीको स्कुल झोलादेखि
हामीले खाने तिहुनमा पर्ने दुई थोपा चिल्लोसम्म
सबै सबै बा कै उपज हुन्।

बाको अनेकअस्थिरताले आमा दिक्क हुनुहुन्छ
म पनि त्यही पवनजस्तै अस्थिर
र चट्टानजस्तै अटल बाको शान्त सन्तान
आज जिन्दगीको परीक्षामा परीक्षार्थी हुँदाहुँदै
मेरा अस्थिर बासँगबाट मात्र एउटा आशीर्वाद मागेको छु
कि, मेरो यो रातो र तातो रगतभित्रका
अनगिन्ती निला नशा
र तिनै नशाभित्र सलबलाउने जिनहरूमा पनि आइदियोस्
त्यही अस्थिर स्वभाव,
म पनि बन्न सकूँ मेरा सन्तानको लागि
एक अस्थिर बा,
ताकि भोलि मेरो छोराले पनि लेख्न सकोस्
एक कविता,
“मेरा अस्थिर बा”
शीर्षकमा।

“देशको दशै”

कहिले रोकिने हो ?
भञ्ज्याङ, चौतारी अनि देउरालीले
डाको छोडेर रुँदै बाटो छेक्दा पनि
नदेखेजस्तै गरी,
नसुनेजस्तै गरी
मुगलान पस्ने शिलशिला ?

कहिले निषेधित गरिने हो ?
पसिना र खुन बगाउन
मुगलान लैजान आउने जहाजहरूलाई
त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलमा ?

कहिले अन्त्य हुने हो ?
सपना र रहरहरूलाई
रियाल र दिरामका लागि
बलि दिने प्रथा ?

कहिलेसम्म अनुत्तरित हुने हो ?
ताते-ताते गर्दै बल्ल भुईँ छुन खोजेका लाला बालाको
बाबा कहिले आउनुहुन्छ ?
भन्ने प्रश्न ?

कहिलेसम्म नाफामा जाने हुन्
रातो बाकस बनाउने कम्पनीहरू?

कहिलेसम्म लगाउन पर्ने हो ?
दैलोमाथिको तस्बिरले रातो टीका
र,

कहिलेसम्म बोटमै ओइलाउनु हुनुपर्ने हो
सयपत्री फूलहरू?

ए सरकार!
रेमिटेन्स पायौँ, पाएनौँ पछि बताउनु
तर,
अहिले यत्ति बत्ताइदेऊ,
मेरो देशले दशै कहिले मनाउँछ ?

“मेरो देशको लालपुर्जा “

आमाको चीत्कारले
केही दिन यता म सुत्न सकेको छैन

बा´को सुस्केरासँगै कामेको छ- मुटु
हिजोमात्र सपनीमा बुद्ध आएका थिए
नयनभरि आँसु लिएर,
सीता र भृकुटीले सुरक्षित स्थान खोज्दै छन् ।

डुबानमा छ -नाम्चे बजार
सगरमाथाको आँसुले
डाँफे घाइते छ पखेटा गुमाएर,
फिक्का फिक्का छ- सिम्रिक
तेजिलो छैन- चन्द्र
न्यानो छैन- सूर्य
कोशी, कर्णाली र महाकाली त्रसित छन् – बग्न

पूर्व, पश्चिम र दक्षिणतिर
लिलामीमा छ मेरो राष्ट्रियता
त्यसैले माइती नेपाल
सिमाना पार गर्ने
नेपाली चेलीको अनुसन्धानसँगै
चेक जाँच पनि गर्नु
सिमाना पार गर्न लागेका नेताहरूका झोला
भेटिन सक्छन् ती झोलाभित्र
मेरो देशको नक्सा

लालपुर्जा।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *