उत्तर कोरियाले गर्यो दक्षिण कोरियासँगको सबै सीमा बन्द
सियोल। उत्तर कोरियाले दक्षिण कोरियासँगको आफ्नो सीमा पूर्ण रुपमा बन्द गरेको घोषणा गरेको छ। उत्तरी कोरियाली तानाशाह किम जोङको सेनाले मंगलबार देखी दक्षिण कोरिया जाने सबै सडक र रेलमार्ग बन्द गरिएको बताएका छन्।
यसका साथै सिमाना छेउछाउका क्षेत्रमा पनि सुदृढीकरण गरिनेछ। उत्तर कोरियाको मिडिया हाउस केसीएनएका अनुसार कोरियाली पिपुल्स आर्मीले दक्षिण कोरिया र अमेरिकाको युद्ध अभ्यासको अवलोकनपछि यो निर्णय गरेको जनाएको हो।
वास्तवमा पछिल्लो एक वर्षमा अमेरिकाले कोरियाली प्रायद्वीपमा आफ्ना विमानवाहक जहाज, सैन्य जहाज, लामो दूरीका बमवर्षक र पनडुब्बी पठाएको छ, जसका कारण उत्तर कोरिया आक्रोशित छ।
दक्षिण कोरियाको रक्षा मन्त्रालयले उक्त क्षेत्रमा कुनै पनि प्रकारको द्वन्द्व नहोस् भनेर अमेरिकी नेतृत्वको संयुक्त राष्ट्रसंघीय कमाण्ड फोर्सलाई यसबारे जानकारी गराएको बताएको छ। यो बलले उत्तर–दक्षिण कोरिया बीचको डिमिलिटराइज्ड जोनको व्यवस्थापन गर्छ।
यसअघि दक्षिण कोरियाली सेनाले जनवरीदेखि किम जोङको सेनाले सीमामा ल्यान्ड माइन बिछ्याएको बताएको थियो। यसबाहेक, एन्टी ट्याङ्क जालहरू पनि जडान गरिएको छ र अधिकांश रेल पूर्वाधार हटाइएको जनाईएको छ। गत जुनमा सीमामा सैन्य पूर्वाधार बढाउन काम गरिरहेका धेरै सैनिकहरू बारुदी सुरंग विस्फोटमा मारिए पछि यो घटना पुष्टि भएको हो ।
उत्तर कोरियाको यो निर्णयपछि दुई देशबीच तनाव बढ्ने खतरा बढेको छ। उत्तर र दक्षिण कोरियाले यसअघि दोस्रो विश्वयुद्धपछि सन् १९५० देखि ५३ सम्म युद्ध लडेका थिए ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment