कविता : प्रेम गणित, हात लाग्यो शून्य
न पाप थियो हाम्रो मिलन, न थियो पुन्य
विछोड भयो तिम्रो मेरो, हातमा लाग्यो शून्य।
एक/एक जोडेर दुई बनाउने थियो अभिलाषा
प्लस अनि माइनस मिलि, बनाइदियो शून्य।
गुणित होलान खुशी भन्ने सोच थियो हाम्रो
विभक्त बनाई हाम्रो माया बाँकिरह्यो शून्य।
माइनसभो गुणांक, अनि मूलभित्रै थुनिरहेँ
अनन्त भो हाम्रो दूरी, धरातल पार्यो शून्य।
माध्यमबीना प्रशारण, प्रायः असम्भव छ
टुटाउन हाम्रो सम्बन्ध माध्यम भयो शून्य।
शून्य थियौं कि त तिमि, सून्य भए हुँला कि म
अन्यथा हाम्रो गुणनफल कसरी हुन्थ्यो शून्य।
सापटी लिएका मान प्रतिस्थापन गर्नै पर्ने
राख्नुको के औचित्य, जब मानै निस्क्यो शून्य।
(लेखक सारदा उच्च मावि, धनगढीका शिक्षक हुन्।)
No ads found for this position
प्रतिक्रिया


Facebook Comment