कविता : म छोरी
म जन्मिँदै नाक खुम्च्याइएकी
परिवारको खुशी खोसेकी
बुबाआमाको जीवनमा कुनै उत्साह नल्याएकी
नचाहेर जन्मेकी म छोरी ।
छोराको आशा गर्दागर्दै जन्मेकी
आमाको दुःखकोे कारण बनेकी
बुबाको लागि सन्तानसम्म नभएकी
समाजको हेलाको पात्र बनेकी
न चाहेरै यो संसारमा आएकी म छोरी
म जन्मिँदा कसैको रहर भएन,
परिवार खिस्स भयो
आमा फिस्स भइन्
उनका दुख ज्युका त्युँ भए
कसैको रहर नभएकी म छोरी
दाइ जन्मियो भाइ जन्मियो
मेरो कुनै चाह भएन
म जन्मिए अरु ३ वटा छोरी जन्मिए
छोराको रहर कहिले मरेन
म कहरमा जन्मिएकी छोरी
समाजले कोेरेको थियो लक्ष्मणरेखा
त्यो पार गर्दा समाजको बेइज्जत हुन्थ्यो
नगर्दा मेरो इज्जत कहाँ रहन्थ्यो
समाजको घेरा र आफ्नै फेरा फैलाउँदै
स्वाभिमानका साथ बाँच्न खोजेकी म छोरी
अर्काको घर जाने जात पढाउँदिन भन्दा परिवारसँग लडेकी
छोरीका बुबाआमाको इज्जत नगर्ने यो समाजलाई चुनौती दिएकी
बुबाको दरिलो काँध बन्न नपत्याएकी
आमाको वृद्धाअवस्थामा साथ दिन नसकेकी
पराईको इज्जत भन्दै पराइ बनेकी म छोरी
पराइ घरमा अरुको घरबाट आएर पराइ बनेकी
आफ्नोपनको कहिल्यै आभास नपाएकी
न यता कि न उताकि
बीचमा अड्किएकी
कसैकी नभएकी म छोरी ।
विदुर-१, नुवाकोट, नेपाल
No ads found for this position


Facebook Comment