रूपन्देही क्रिकेट संघद्वारा सात खेलाडीलाई मासिक सुविधा

डिसी नेपाल
१७ मंसिर २०८१ १८:१०
392
Shares

भैरहवा (रुपन्देही)। रुपन्देही क्रिकेट संघले चालु आर्थिक वर्षमा सात जना खेलाडीलाई मासिक सुविधा दिने निर्णय गरेको छ। खेलाडी कल्याणकारी कोषअन्तर्गत आर्थिक वर्ष २०८१/८२ का लागि मासिक रु पाँच हजार दिने गरी सात जना खेलाडी छनोट गरिएको संघका अध्यक्ष हरिबहादुर थापाले जानकारी दिए।

थापाका अनुसार क्रिकेट खेलमा निरन्तर लागेका खेलाडीलाई पलायन हुनबाट रोक्नु कल्याणकारी कोषको मुख्य उद्देश्य हो। मासिक सुविधा पाउने खेलाडीमा सिनियरतर्फ दुई जना, यु–१९ तर्फ दुई र महिला क्रिकेट खेलाडीतर्फ तीन जना छन्

‘खेलाडीको संरक्षण गर्ने भनेर कल्याणकारी कोष खडा गरेका थियौं’, अध्यक्ष थापाले भने, ‘कोषमा उपलब्ध रकमबाट खेलाडी संरक्षण रकम प्रदान गर्दै आइरहेका छौं।’ संघका अनुसार चालु आर्थिक वर्षमा सिनियरतर्फ कृष्ण कार्की र अजय चौहानले मासिक रु पाँच हजार सुविधा पाएका हुन्।

यस्तै, यु– १९ तर्फ सन्तोष यादव र रमेश कुर्मीले यो सुविधा प्राप्त गर्दा महिलातर्फ कृति अधिकारी, सन्ध्या चापागाईं र एञ्जिला पाठकले मासिक सुविधा पाएका छन्।

थापाका अनुसार खेलाडी कल्याणकारी कोषका लागि रुपन्देहीको सियारी गाउँपालिका वडा नम्बर १ का वडाध्यक्ष अरुण शाही र वडा नम्बर २ का वडाध्यक्ष जनार्दन यादवले आफूले पाउने पारिश्रमिक वापत कल्याणकारी कोषमा रकम उपलब्ध गराउँदै आएका छन्।

‘हामीले दुईजना वडाध्यक्षले उपलब्ध गराएको रकम र रुपन्देही क्रिकेट एकेडेमीबाट हुने आम्दानीबाट खेलाडीलाई मासिक सुविधा दिइरहेका छौं’, थापाले भने, ‘सहयोगी दाताहरु थपिँदै जानुभएको छ। यसमा थप रकम जुटाउन पनि हामी लागिपरेका छौं।’

अध्यक्ष थापाका अनुसार कल्याणकारी कोषको रकम वृद्धि गर्न सकेमा कम्तिमा सिनियर, यु–१९ र महिला टिमका सबै सदस्यलाई मासिक सुविधा दिन सकिनेछ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *