कविता : प्रिय पलाञ्चोक
पलाञ्चोक !
तिमीले मलाई बग्न सिकायौ-सनकोशीजस्तै
हाँस्न सिकायौ-गौंरीशंकरजस्तै
पवित्र बन्न सिकायौ-ईन्द्रावतीजस्तै
एकाबिहानै तेमाल डाँडामा ठोक्किएर उदाएको घाम
मलाई न्यानो लाग्थ्यो।
पूर्णिमाको रातमा पलान्चोक भगवतीको
चरणलाई चुमेर पोखिएको जून
मलाई शीतल लाग्थ्यो।
लहरै पर्वतका ढिकहरुलाई छोएर बग्ने बतास
मलाई प्रिय लाग्थ्यो
कति मीठो!
पातालको वनपाखामा चराहरूको गीत
कति मनोहर!
भोटेखोलाको कोख चिर्दै बगेको
अनगिन्ती छाँगा–छहराको नृत्य
हेरिरहूँ लाग्थ्यो
उँभोबाट धोत्रेखोला कुल्कुलाउँदै झरेका कुलेसाहरू
चाख्खोमा मिस्सिएको सुन्दर दृश्य
भान्से डाँडदेखि सिधा माथि
आकाशमा छरपस्ट फुलेका बादलका बुट्टाहरु टिपेर
च्यात्तिएर उजाड भएको जीवनको छेउ/कुनामा
टालटुल गर्न मन लाग्थ्यो।
प्रिय पलाञ्चोक तिमी
प्रवासी सकस दिनचर्याको तरेलिमा
सम्झना बनी आइदिन्छ हरदम
०००
सुनिरहुँ लाग्थ्यो
साँझपख सन्ध्यालाई साक्षी बनाएर
चैनपुर पाखामा बजेको झ्याउँकीरीको संगीत
बसन्तमा कोइलीको मोहिनी आवाजले
सजिएको ठूली वन
तिमी लजाउँथ्यौ शिशिर ॠतुमा
पाँचखाल फाँट कुहिरोको घुम्टोमा लुकिदिँदा
तिमी रमाउँथ्यौ
श्रावण को अविरल दर्के झरीमा
झिँऊ खोल ठूलो नदि जस्तै बनेर बग्दै गर्दा
पलाञ्चोक!
तिमीलाई मैले केही समयको लागि छोडेर हिंडे पनि
मेरा पैतालाका डोबहरू त्यतै छन्
मेरा हाँसोका गुञ्जन र तरङ्गहरू त्यतै छन्
मेरा आँसुका र पसिनाको ढिकाबाट
हुर्केका लाखुरि र आँपको रुखहरू त्यतै छन्
कल्पनामा नै सही
मैले
तनभरि बोकेको छु-चौंरी देउराली को सिरेटो
मनभरि फुलाएको छु-भान्सेडाँडा /लम्बडी डाँडाको रातो गुराँस
नसा-नसामा बगाएको छु–ठाँणा डाँडाको लहर
मुटुमा छचल्काएको छु-मादे खोलाको पानी
हो, पलाञ्चोक!
मेरो भौतिक देह यता भए पनि
मैले मुटु उतै छोडेर आएको छु।
प्रेमको फूलबारी उतै गोडेर आएको छु
अजम्बरी प्रीत उतै लाएर आएको छु।
पाँचखाल-११,काभ्रेपलान्चोक
हाल-लिमासोल,साईप्रस
No ads found for this position


Facebook Comment