संस्मरण

जनयुद्ध

भूमिका गैरे तिमिल्सिना
२० पुष २०८१ ७:२१
212
Shares

आफ्नो अधिकार खोज्दै गरेको अवस्थामा अर्को पक्षसँग देखा परेको संघर्षको अवस्था नै द्वन्द्व हो।

नेपाल कम्युनिष्ट पार्टी (माआवादी) ले १ फाल्गुन २०५२ सालदेखि मुलुकमा नियोजित तरिकाले छापामार युद्ध पहिले रोल्पा, डोल्पा, दैलेख, प्युठान र गोर्खाका उत्तरी भेग हुँदै विस्तार गर्‍याे।

चन्दा असुल्ने, बैंक लुट्‌ने र विकासका काम, कार्यालयहरुमाथि आक्रमण गर्न थाल्यो। धम्काउने, तर्साउने गर्दा कति काम ठप्प भए भने कतिले सम्बन्धित ठाउँबाट राजीनामा दिए।

चिनियाँ माक्र्सवादी विचारक तथा चिनियाँ गणतन्त्रका संस्थापक नेता माओका लेखनी र सौम्य नीतिमा आधारित विचारधारा हो। यसलाई साम्राज्यवाद र उदा‌रवादी बौद्धिकवृत्तको निन्दा र वर्ग चिन्तनयुक्त विद्रोहले चिनिन्छ।

माओत्सेतुङ चिनका कम्युनिष्ट पार्टीका अध्यक्ष, सन् (१८९३-१९७६) क्रान्तिकारी, राजनीतिक विचारक र साम्यवादी दलका नेता थिए। उनको नेतृत्वमा चिनमा क्रान्ति सफल भएको र जनवादी गणतन्त्र स्थापना भएको थियो। माक्र्सवादी लेनिनवादी विचारधारालाई सैनि‌क रण‌नीतिमा जोडिएको उन‌को सिद्धान्तलाई माओवाद‌को नामले चिनिन्छ।

वर्गसंघर्षको ऐतिहासिक अनुभव र विकासका क्रममा अन्तर्राष्ट्रिय सर्वहारा वर्गको क्रान्तिको विज्ञानका रुपमा माक्र्सवादको विजारोपण हुँदै अनुसन्धान यसको भयो।

वर्गसंघर्षका नयाँ अनुभव र समस्याहरू‌का सन्दर्भमा लेनिनद्वारा माक्र्सवादलाई त्यसको समग्रतामा विकासको दोस्रो चरण लेनिनवादको चरणमा पुर्‍याउने काम गर्थ्यो।

आज यो विज्ञान संघर्षकै क्रममा विकासको तेस्रो, नयाँ र उच्च चरणमा पुगेको छ। यो चरण माओत्सेतुङ‌द्वारा विकास गरिएको माओवाद‌को चरण हो।

सर्वहारावर्गको उत्थानमा माओवादलाई आज विश्वको माक्र्सवाद-लेनिनवादका रूपमा ग्रहण नगरी कोही पनि सच्चा कम्युनिष्ट बन्न सक्तैन्।

चीन‌मा प्रति‌क्रान्ति भएपछि माओका योगदानहरूमाथि भइरहेको दक्षिणपन्थी हमलाका पृष्ठभूमिमा कैयौं हिजोका क्रान्तिकारीद्वारा पनि आतंकित भएर विचारधारा शब्द‌को प्रयोग माओका योगदानको अवमूल्यन गर्ने, त्यसलाई माक्र्सवाद‌को विकासको तेस्रो चरणका रुपमा र सर्वभौम सिद्धान्तका रूपमा स्वीकार नगर्न कोसिस गरेको पाइन्छ।

नोकरशाही पुँजीवाद चरित्रको विश्लेषण माओको एउटा महत्त्वपूर्ण खोजी हो। सामान्तवादसँग साँठ‌गाँठ गरी जनता लुट्ने एकाधिकार पुँजीवाद‌को प्रतिनिधिको रुपमा उत्पीडित राष्ट्र‌हरूमा नोकरशाही पुँजीवादको विशेषताको रहस्य उद्‌‌घाटन गरेर नवऔपनिवेशिक अवस्थाको साम्राज्यवाद‌को दानवीय चरित्रलाई नङ्‌‌ग्याउन तथा अर्कोतिर उत्पीडित राष्ट्र‌को क्रान्तिको निशाना स्पष्ट गर्न मद्दत गरेको छ।

नेकपाको एकता केन्द्र‌द्वारा फुटेर बनेको माओवादी देशका विभिन्न जिल्लाहरूमा रहेका चरम गरिबी, बेरोजगारी र स्थानीय जाली फटाहा नेताहरूको गठबन्धन र सामान्ती शोषणको चोटिलो उपज थियो।

नेकपा माओवादीले आफूलाई देशव्यापी स्तर‌मा २०४७ सालको संविधान र बहुदलीय प्रजातन्त्रको निम्ति सबैभन्दा ठूलो प्रत्यक्ष शत्रुका रूपमा प्रस्तुत गर्न पुग्यो। यो विज्ञानलाई कार्लमाक्र्स भलादिमिर, लेनिन र माओत्सेतुङ जसले यसको स्थापना र विकासका लागि महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए। तीन जना गुरुहरूले विकास गरेका सिद्धान्तको नामबाट यसलाई माक्सवाद-लेनिनवाद-माओवाद नाम दिइएको हो।

विवाह पूर्व पनि माओवादीका हल्ला व्यापक सुनेकी थिएँ। चारैतिर त्राही-त्राही मच्चिएको, कहिले कता त कहिले कता विध्वंसात्मक क्षति भएको खबर सुनिन्थ्यो।

जनजीवन यस्ता दिनहुँका खबरले भयभित भएको महसूस हुन्थ्यो तथापि त्यति साह्रै नजिकबाट यस्ता मानवीय, भौतिक क्षति भएको थाहा पाइन।

बरु साना-साना केटाकेटी रूदा माओवादी आएर बोरामा हालेर लान्छ, रुनु हुँदैन भन्दा डरले चुप लागेका हुन्थे। कसैले केही बिगार गर्‍याे, नराम्रो गर्‍याे, झै-झगडा पर्‍याे भने तलाईं माओवादी लगाउनु पर्ने भन्ने पनि सुनिन्थ्यो। यस्ता घटनाले चाहिँ मनमा एक किसिमको डर पैदा भएको हुन्थ्यो।

प्रत्यक्ष रुपमा त्यतिबेलासम्म माओवादी देखेकी थिइन्। लाग्थ्यो डरलाइदा हुन्छन्, तिनीहरुमा दया, माया, करूणा भन्ने भाव हुँदैन। चौरतिरका कहाली लाग्दा खबरले, टेलिसिरियल, सरकारी पक्ष र द्वन्द्वरत पक्षको भिडन्त, छापा हान्ने गतिविधि, बेला-बेलामा गोली चल्ने, कार्फ्यु लाग्ने हुदा अनेक शंका उपशंका उब्जने गर्थ्यो। लाग्थ्यो, यो सब देशमा व्यक्त चरम गरिबी, बेरोजगारी र कमजोर शासन पद्धतिको उपज हो, जस्तो। हामी घर बाहिर निस्कन डराउथ्यौँ र एक्लै हिड्दैन्थ्यौँ पनि।

विसं २०५९ सालमा म गैंडाकोट ४ , निवासी विश्वनाथ तिमिल्सिनासँग वैवाहिक सम्बन्धमा गाँसिए। स्थायी घर गैंडाकोट ३ र ४ भएको हुँदा हामी दम्पती गैंडाकोट ४ मा नै बस्थ्यौँ। २०६० साल साउनको महिनामा मलमास बार्ने क्रममा साविक गैंडाकोट वार्ड नं. ३, ढोडेनी एकहप्ते बसाईका लागि गएकी थिएँ।

एक बिहान हामी घरका सासुआमा (विष्णुमाया तिमिल्सिना), सासुराबुवा (शिवकान्त तिमिल्सिना) र म लेखक स्वयम् (भूमिका गैरे तिमिल्सिना ) थियौँ। हाम्रो बिहानीको भान्सा उम्किएको थियो। करिब ११:०० बजेको हुँदो हो।

गाउँ‌भरि हल्ला चल्यो, लौ माओवादीको हुल गाउँमा छिरे रे, लस्करे आएका छन् रे। अब खाना बनाएर ख्वाउनु पर्छ भनेको सुनेर केही डराएकी थिएँ।
करिब १५० जनाको सङ्‌‌‌ख्यामा रहेका माओवादीहरुका जवान गाउँभरि छरिए। हाम्रो घरमा पनि १५/१६ जनाको संख्यामा आए। घरमा म र ससुरा बुवा थियौं।

“ल बुवा हामीलाई खाना बनाउनुस् “भन्दै बन्दुक बोकेका जवान लस्करै आँगन‌मा आए। बुवाले नम्र स्वरमा भन्दै हुनुहुन्थ्यो , सायद डराएर पनि होला। “के खान्छौं बाबु हो, घरमा आएका जो भएपनि खाना ख्वाउनु हाम्रो धर्म हो।” फेरि भन्नुभयो, “के बनाउन लगाऊ खानामा।” उनीहरू मध्ये एक अलि पाको जवानले जवाफ दिए।

बुवा हजुरले जे दिनुहुन्छ हामी त्यहीँ खान्छौं, “तीन दिन भयो हामीले खाना नखाएको, घरमा आटो, पिठो, मकै भटमास, ढेडो, भात, मीठो,नमिठो जे भएपनि हामीलाई हुन्छ” भन्दै थिए। म भने भित्रबाट सबै कुरा सुनिरहे‌की थिएँ।

बुवाले खाना बनाउने आदेश दिनुभयो, म भान्सामा पसें, खाना बनाएर आँगन भरि लस्करै बसेका ती २१/२२ वर्षका कलिला, अल्लारे जवानको काँधमा बन्दुक बोकेको देखेर ती अनुहार हेर्दा भयभित भई अलि हच्किए। त्यो देखेर एकजनाले भन्दै थिए, “नडराउनुहोस् दिदी! हामी तपाईंहरूलाई केही गर्दैनौं, हाम्रो पनि घरमा आमा, दिदी ,बहिनी, श्रीमती छन्, हामी पनि परिवार भएका मान्छे हौं।’

त्यो सुनेर बुबाले भन्नुभयो, “अनि किन त बाबु घरमा जग्गा जमिन पनि हुँदो हो, कुटीखेलो गरेर बसे हुन्थ्यो नि! यस्तो डाँडाकाँडा, कतिबेला के हुने हो थाहा छैन किन हिड्नु? ” भन्दै सम्झाउन थाल्नुभयो। त्यसै बिचमा एकजनाले भने, ” सबै गएका छन्, पछि भविष्य छ भने क्यारे! लहैलहैमा लागेर हिँडियो। के गर्ने बुवा? अहिले त घरमा जान पनि डर छ। माओवादीको ट्‌याग लागिहाल्यो। अहिले घरमा जान पनि डराउनु पर्छ। परिवार‌लाई कतै केही हुने हो की भन्ने डर हुन्छ। ” भन्दै जवा‌फ फर्काए। अनि बुवाले घर कहाँ हो नि बाबुहरुको भनि सोध्दा, ” हामी घरको ठेगाना कसैलाई पनि भन्दैनौं” प्रतिक्रिया जनाए।

सबैले खाना लस्करै आँगनमा बसेर खाए। खाना खाएको १० मिनट पछि हल्ला चल्यो। ल-ल छिटो गरेर निस्कनु पर्‍याे। प्रहरीसँग भिडन्त हुने सम्भावना छ, लागौं-लागौं भन्ने आवाज सुनियो। सबै निस्किए। एकैछिनमा सबै गाउँबाट बाहिरिए। त्यसपछि को थिए, कहाँ गए, के गरे थाहा भएन।

१ फाल्गुन २०५२ सालबाट शुरु भएको जनयुद्ध ५ मङ्सिर २०६३ मा अन्त्य भएको थियो। बाह्र बुँदे सम्झौता , १९ दिने जनआन्दोलन र विस्तृत शान्ति सम्झौतामा टुङ्गिएको थियो। यसरी माओवादीको १० वर्ष ९ महिना ८ दिन सम्म चलेको सशस्त्र संघर्षको अवधिलाई आम नेपाली जनताले १० वर्षे जनयुद्धका नामले चिन्छन्। उक्त अवधिमा १७ हजार मानिसको ज्यान गएको थियो र राज्यले यति ठूलो भौतिक क्षति बेहोर्नु परेको थियो।

प्रत्येक वर्ष माओवादीले फाल्गुन १ लाई जनयुद्ध दिवसको रुपमा स्मरण गर्दै आएको छ ।

गैंडाकोट ४, नवलपुर


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *