लघुकथा : प्लेटफार्म
भुर्तेलजीका दुई छोरा र एक छोरी गरी जम्मा तीन सन्तान।
पोहोर कान्छाको विवाह गरिदिए। विराटनगर कान्छाको ससुराली।
त्यसअघि नै दुई सन्तानको व्यवहार गरी सकेकै थिए। छोरी सिन्धुलीतिर स्कुलमा स्थायी शिक्षक छे, मिर्चैया हुँदै जानुपर्छ-उसले। उसको घर लालबन्दी हो, श्रीमान उतै अफिस गर्छ। जेठो जलेश्वरमा हाकिम छ; उसकी श्रीमती लहानमा स्कुल चलाउँछे। कान्छो सिन्धुलीमा व्यापार गर्छ। उसकी श्रीमती इटहरीमा बैंकमा मैनेजर छे।
भुर्तेलजीको घर ढल्केबर कालोसडकबाट जम्मा एकसय छयालीस मिटर उत्तर। धेरै वर्ष डेरामा बसे। आफ्नै घरमा बस्ने धोको थियो- भुर्तेलजीको। धेरै लामो यत्नले पूरा भयो-यो धोको।
घरमा प्रायः बुढाबुढी मात्र हुन्छन्। छोरा-बुहारी र छोरी-ज्वाइँको ओहोरदोहोर चलिरहन्छ। यदाकदा पस्छन् पनि। कहिले त एक रात बस्छन् पनि। फेरि कहिलेकाँही त यसरी जम्मा हुन्छन्, कोठा नपुग्ने अवस्था पनि हुन्छ। फेरि उज्यालो खस्दानखस्दै सबै आआफ्नो बाटो लाग्छन् र घर रित्तो-रित्तो हुन्छ। घरमा कहिले त बन्दा-भान्टाधरि हुँदैन।
एक दिन घरबाट सडकछेउको प्लेटफार्म हेरेर टोलाइरहेको मुद्रामा देखिए-भुर्तेलजी।
भुर्तेलजी घरलाई घरकै दर्जा दिन प्रयत्नशील छन्। छोरा-छोरी र ज्वाइँ-बुहारीले जेसुकै ठानून्, भुर्तेलजी घरलाई सडकछेउको प्लेटफर्मका रूपमा देख्न पटक्कै तयार छैनन्।
No ads found for this position


Facebook Comment