लोक प्रचलित भूत पिसाच कथा संग्रह : ग्रामीण मनोविज्ञानको ऐना

गेहनाथ गौतम
५ माघ २०८१ ७:१४
408
Shares

‘लोक प्रचलित भूत पिसाच कथा संग्रह’ गाउँघरमा भूत पिसाचको विगविगी हुने मनोविज्ञानलाई स्वानुभूतिजन्य शैलीमा प्रस्तुत भएको बेजोडको कथा संग्रह छ। कृतिकार नेत्रप्रसाद गौतमले आफू आठ दशक वसन्त पूरा गरेको समय पारेर हालसालै लोकार्पण भएको यस कृतिमा ३१ ओटा कथाहरू संग्रहित छन्।

यी कथाहरूमा ‘दानी भूत, प्रेतरूपी भूत, टटले भूत, अन्तरे झाँक्री, अबोला पिसाच,एक्ले बाको चमत्कार, वीर मसान,, भाग्य भए,, मामा पो, भूतसँग भेट, भूत र पिसाच, भूतले थिच्दा, गाइजात्रे भूत, बाघे भूत, गन्थने पिसाच, पिसाचको खेल, पिसाचकव खेदो, भूत लाग्दा, बाटामा राँकेभूत भेटियो, बोक्सी, बाहुनको जात, होटलको भात, कुखुराको मासु, औँसीको चतुर्दशी, ममाइली आमाको गाँड, धामीको ज्यान, रनसुरे, कान्छा दाज्यू, देवताको भाकल, आलम सर नै जान्ने र मुहुनी ‘ यस संग्रहका कथाहरू हुन्।

‘लोक प्रचलित भूत पिसाच’ कृति लेखकको प्रकाशित चौथो सिर्जना हो। श्रीमती सुमातादेवी गौतम प्रकाशक र ठमनाथ घिमिरे भाषा सम्पादक रही २०८१ साल असारमा प्रथम संस्करणका रूपमा प्रकाशित यो कृति १०६+१८ पृष्ठको छ।

प्रकाशकीय र डा. रघुनाथ अधिकारी ‘निलमशेखर’को समीक्षात्मक मन्तव्य पृष्ठभूमि खण्डमा रहेका छन्। आइएसविएन ९७८९९३७१६९७६९ र मूल्य रु. ३४५ कायम गरिएको यस कृतिको शीर्षकलाई ‘मसान, भूत, प्रेत, पिसाच, अन्धविश्वास र रूढीका औपन्यासिक कथा’ शब्दावलीले थप पुष्ट्याइ गरिएको छ।

प्रगतिवादी साहित्यले सामाजिक कुरिति र अवैज्ञानिक विश्वास पद्धतिका जरामा वस्तुपरकताको खुँडा प्रहार गर्छ। यसले यथास्थितिमा रमाउन अभ्यस्त समाजमा चेतनाको विगुल फुक्न सहयोग गर्छ।

जीवनलाई यही चेतबाट निर्देशित गर्दै चलायमान बनाउन सफल ८० वर्षीय लेखक नेत्रप्रसाद गौतमको यो कथा संग्रहले तत्कालीन समाजमा चल्दै आएको भूत, प्रेत र पिसाचका अनेक सन्दर्भहरूको यथार्थपरक कथाकथनका माध्यमबाट कालक्रमिक ऐना देखाएको छ।

लेखकले बाल्यकालदेखि नै लामो समय जीवन विताएको सङ्खुवा सभा जिल्लाको चैनपुर मूल सेरोफेरोमा केन्द्रित यस कृतिले बाबुबाजे पुस्तामा चलेको गूडगुडे हुक्का, देवानहरूको जमिनदारी, अड्डा अमाल, हैकम,, बेठबेगार खेतालाका प्रसंग छन्।

दानी मसान कथामा लेखकले आफ्ना पिताजीले सुनाएको पुलुङ गाउँ पुछारमा देवान र मसानको साक्षात्कार र उनीहरूले दिएको एक भाग खाना सुन भएको र विजुवाको सल्लाहमा तागाधारीको मसान पन्साउन राम, सीता र लक्ष्मणको मन्दिर बनाएर मुक्तिको बाटो खुलाएको चाख लाग्दो कथानक घटना उल्लेख छ।

भञ्ज्याङ्खर्कको कोलडाँडामा पिङ खेलेर सुत्न घर जाँदा कान्छा बाको पिसाचसँगको जम्काभेट र उसमाथिको विजय चाखलाग्दो छ। टटले भूत भेटेपछि पिताजी विरामी ऐउको घटना छ। कान्छी आमाले बनझाक्रीले ६ महिनासम्म ‌ओडारमा राखेर झाँक्री विद्या सिकाएको अन्तरे झाँक्रीले भूतको दोहोलो काढ्न विछट्ट जान्ने भएको कुरा बताएको प्रशंग जनविश्वामा आधारित र चाखलाग्दो छ।

त्यो समयमा एकान्तम रहेको गोठमा एक्लै एक्लै बस्ने चलन थियो। लेखकका पिताजीको पात्लेखेतको गोठमा भूत वा वनझाँक्रि जस्तै अवोला पिसाचसँगको एकान्तमा साक्षात्कार काँढा उम्रिने खालको छ।

बल्ल तल्ल फकार गोठबानिकाले पछिको सुताइलाई उसरी प्रस्तुत भएको छ,’ सुत्नु त भएछ मुख नछोपी कान ठाडा ठाडा लगाएर आँखाले यताउता हेर्दै र मनले भूतलाई पर्खिँदै। किर्किटी अस्ताउनै लागेको बखत अब त उज्यालो भयो भन्ने लागेपछि मात्र उहाँको आँखा, कान र मनले विश्राम लिएछ।’ हेरक बेलुका उसले दु दिन थाले पछि गोठ सार्नु पर्ने बाध्यताले ल्याउने परिणामको प्रस्तुति मार्मिक छ।

यसपछि कथाको सिलसिलामा कान्छा बाको स्मरणबाट एक्ले बाको प्रवेश हुन्छ। उहाँहरू त्यो पिसाचलाई पोल्ने जुक्ति निकाल्दै नौनी घिउ र सल्लाको खोटो लिएर त्यहफ गोठमा गएको कथा छ।

आफूहरु नौनी घिउ घस्ने र उसलाई सल्लाको खोटो घस्न दिने अनि आखिरमा राँको बालेर अभिनय गर्दै उसलाई आगो लगाएर भगाएको घटना चाख लाग्दो छ। त्यसपछि थला परेका साहस र अक्कलका धनी एक्ले बा नउठेको घटना कारणिक पनि छ। कान्छी आमाको मुखबाट सुनिएको वीर मसान जगाएर खेती गराउने खत्रीले आफ्नी श्रीमती गुमाएको कथा चाख पनि उत्तिकै लाग्दो र कारूणिक दुवै छ।

बेलुका खाना खाइवरी घरको अगेनामा आगो ताप्दै जेष्ठ सदस्यहरूले पालैपालो आआफ्ना अनुभव र अनुभूति सुनाउने अनि बालबालिकाले चाहिँ चाख मानेर यस्ता रमाइला कुरा सुन्ने परिपाटी नेपाली समाजको विशेषता हो।

तेस्रो दिनको कथा भेलामा भाग्य भए दुध डोकामा पनि अडिन्छ भन्ने नेपाली उखान कान्छी आमाबाट मुखबाट निस्कन्छ। यसमा लेखकका पिताजीको ठाडै असहमती हुन्छ भने कान्छा बाको चाही मध्यमार्गी कुरा हुन्छ, ‘भाग्य भए धन खोज्न टाढा जानु चाहि पर्दैन’।

यी फरक फरक आसयमा ९, १० वर्ष उमेरका लेखक अलमलिनु स्वाभाविकै हो। यस पछि कान्छी आमाका माइती ओख्रेका गरिव कार्कि परिवार गाडधन भेटेर महाजन भएको, गाडधनमा हात हाल्न काली बोकाको भोग दिनुपर्ने, गाडधन नागमणीले रूङ्ने भएकाले वत्ती बल्ने र भाग्यमानी पुर्खाले गाडधन मात्र राख्न सक्ने जस्ता अभिव्यक्तिहरू चाख लाग्दा छन्।

यो कथाहरू पढ्दा आफ्नो बाल्यकालको याद आउँछ। अँध्यारो चोटामा रहेका झ्यालहरूबाट राता आँखाले चियाएको र त्यसपछि ओच्छ्यानमा सुत्न नै डर लागेका अनेक घटनाहरूको मानसपटलमा पुनरावृत्ती गराउँछ।

साँझमा खस्रे बाँसघारिको बाटो हिड्दा सरर र सर्याक सुरूक गर्दै अनौठा आवाजहरू आएर तर्साएको याद आयो। अहिले लाग्छ, सायद बाँसका पट्याँसहरू बजेको थियो होला त्यी समयमा। यो कृतिले यस्ता विस्मृत भैसकेका अनुभूतिहरूको समेत आत्मसात्करण हुने गरी जीवन्तता थपेको छ।

कथामा भूत प्रेत पिसाच बाहेक चन्द्रग्रहणको प्रसंग पनि चाख लाग्दो र बाल्यकालमा सुनेकै कहानीसँग जोडिएको छ। राहुले चन्द्रमालाई निल्न खोज्छ तर उसको शरीर नभएकाले मुखबाटै उकेलिदिन्छ। यतिवेला मानवले नुवाइधुवाइ गरेर शुद्ध मनले राहुलाई चन्द्रमालाई मुक्त गरिदिन आह्वान गर्ने प्रचलन छ।

राहुलाई सार्की समुदायको मामा मान्ने र छोडिदेउ भनिने अनि सार्की दाजुले ‘छोड्दे मामा’ भनेको घटनाले बाल मष्तिस्कमा पारेको प्रभाव र कान्छी आमाको चातुर्यको परख पनि चाखलाग्दो छ। रातमा ग्रहण नुहाउन जाँदा देखेको दारीवाल अबोला भूतलाई लेखकको ठम्याइ चहिँ कुनै अर्धपागल हुनुपर्छ भन्ने छ।

भूत र पिसाचहरु भाका फेरि फेरि कराउँछन् भन्ने मान्यता र भीरमा बस्तु लडेर मर्दा त्यस पहरामा भूत पिसाच बसेको हुनु पर्ने भन्ने विश्वास र डिहीघरमा हुच्चिल कराउँदा लेखकले खुकुरी बोकेको फेरि उल्टै आफूलाई काट्ला भने  लुक्दै वनदेवता भाकेको र आँखा चिम्लिएर साकार देवताको कल्पना गरेको घटना पनि उत्तिकै जीनन्त छ।

पात्लेखेतमा खेताला लगाएर विटा लगाइ सकेपछि सबै खेताला घरघर गए। लेखक एक्लैले खलेकटेरी बनाउन नभ्याएर चुटेका बिटा हुरेल्दै बनाएको परालभित्र बर्कोले गुटमुटिएर घुस्रिए पछिको कथा रोचक र मार्मिक छ।

भूतले थिचेको जस्तो लागेर डराएको बेलामा आएको सोच यस्तो छ, ‘ मसानले त आमने सामनेको मानिसलाई मात्र खाने हो। पिसाच त निहु खोजाह मात्र हो। लागोको रूपमा लाग्ने गर्छ। भूत चाहिँ अलि जवर्जस्त हुन्छ। आज यसैले भेट्यो।’

यो विचारले जनमानसमा रहेको मसान, भूतप्रेत र पिसाच सम्बन्धी विश्वासको प्रतिनिधित्व गर्छ। कथाकारले कान्छी आमाका भूतका कुरामा कम विश्वास हुन थाल्नु र बाक्लो परालभित्र गुम्सिएर निस्सासिएको यथार्थ अवस्था आत्मसात गर्नुलाई उमेर, चेतनासँगै विश्वास पद्धतिमा आएको स्वाभाविक परिवर्नका रूपमा लिन सकिन्छ।

कथाकारले बाटामा देखेको राँके भूतको कथा भन्ने क्रममा नेपाली समाजको तत्कालिन चित्र उतार्न सफल हुनु भएको छ। ‘त्यो समय र नेपालको ग्रामीण क्षेत्रको सामाजिक बजारमा त एकछत्र राज राँके भूतकै थियो। म पनि त्यसकै सदस्य भएकाले छुट्टै तर्क गरी हाल्ने क्षमता थिएन।

फेरि तर्क गर्नेहरुसँग अनुसन्धानातेमक रिपोर्ट पनि थिएन। खाली थियो रे को भरमा चलेको थियो। ‘ यो कथनले हाम्रो सामाजिक विश्वास पद्धतिको वास्तविक अवस्था देखाएको छ।

यस कथामा राति अध्याँरीमा जंगलको बाटो हिँड्न पर्दा सबैभन्दा पछि हिड्नेलाई आफूभन्दा पछिबाट भूतले तर्साउने वा बाघभालु जस्ता जंगली जनावरले जम्टिने डरले सताउने गरेको प्रस्तुति जति मर्मस्पर्शी छ त्योभन्दा बढी लेखक समुहले अनुसन्धान गरेर राँके भूतको वास्तविकता पत्ता लगाउन गरेक प्रयास जिउ सिरिङ् गर्ने खालको छ।

बवक्सी कथामा खेतबारीमा बेक्सी लागेर चौपट हुने र घरभित्र चाहिँ भूतले सह खाइदिने मान्यताको सप्रमाण चर्चा छ। रिठ्ठे झाँक्रीले कालो पाठी, हाँस र कुखुराका डिम्बा, मौरीका छावा, सातजोर माछा, सिन्दुर, भेटी, फूलपाती, अक्षता र बत्ती समेतको जोहो गरेपछि धामीले बोक्सी मन्साएको हुन्छ।

यति गर्दा पनि भूले अन्नको सह खाइदिएपछि भदौ लाग्दा नलाग्दै मकैको ढिँडो र गुन्द्रुक कप्ल्याक कुप्लुक निल्नु परेको थियो। यसबाट बच्न फेरि लाउने जोगीलाई घरभित्र कोठा चोटा र बुइँकलसम्म जोडले फेरि लगाए पनि अझ बाँधेर भूत घरभित्र पो राखियो त भनेर रुद्री लगाएको घटना विश्विम आधारित छ। तर लेखकबाट अन्त्यमा श्रममा विश्वास गर्नुपर्ने तर्क पेश भएको छ।

‘आलम सर नै जान्ने’ भन्ने कथाले एकातिर तत्कालिन समयमा यति मात्र सहाराले पनि जीउन सहारा मिलेको वस्तुपरक चित्रण गरेको छ भने अर्कातिर शिक्षा र स्वास्थ्य मौलिक अधिकार भएको मुलुकले अभ्यास गरि ल्याएको अल्पउपचार पद्धतिमा सुधार गर्नै पर्ने गतिलो सन्देश दिएको छ।

संग्रहको अन्तिम कथा ‘मुहुनी’ ले जात भन्दा प्रेमको शक्ति ठूलो हुने जुन सन्देश दिएको छ अहिले हाम्रो समाजले यसलाई तीव्रताका साथ अवलम्वन गरिरहेकै छ। यस्तै यस्तै सामाजिक विश्वासमा आधारित र कथाहरू, जातभातका आधारमा गर्न हुने र नहुने कामको चलन र प्रभाव जस्ता विषयहरूका साथै उमेर र अनुभवसँगैका विशेल्ष०त्मक अनुभूतिजन्य कथाहरू यस कथा संग्रहमा समेटिएका छन्।

कथाबाचानको सन्दर्भ र गाउँले घरायसी परिवेशको निकै सुन्दर चित्रण छ यस संग्रहमा। कथाका शीर्षकहरू पनि कथानकसँग जोडिएका छन्। ‘२२ होटलको भात’ शीर्षकमा २२ औँ कथाक्रम लेखिएको छ।

सबै कथाको यसै गरी क्रम राखिएको भए अझ कथा नं. भन्नेर संकेत गर्न पाठकलाई अझ सहज हुने थियो। यो कृति नेपाली समाज अझ निम्न वर्गीय पूर्वेली समाजमा प्रचलित विश्वास परम्परा र जनजीवनको कालजयी अभिलेख बन्ने देखिन्छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *