चुरा जस्तै जिन्दगी, सिसा जस्तै जिन्दगी

ज्ञानेन्द्र विवश
२६ माघ २०८१ ६:४३
84
Shares

जीवनका रङहरू अनेक हुन्छन्। कोहीको जीवन चुराजस्तो- रङ्गीचङ्गी, चम्किलो र शोभायमान। कोहीको जीवन सिसाजस्तो- निर्विकार, नाजुक र चिटिक्क परे पनि फुट्न तैयार। म पनि कहिलेकाहीँ सोंचिरहन्छु– मेरा दिनहरू चुराजस्तै छन् कि सिसाजस्तै?

यस्तै एउटा दिन थियो, जब म एक जना पुराना कलाकारसँग भेट्न गएका थिएँ। उनको चित्रकलाले मलाई सधैं लोभ्याउने गथ्र्यो। तर उनको जीवनको कथा सुन्दा मन केही भारी बन्यो।

‘जीवन चुरा जस्तै हुन्छ, भाइ।’ उनले मुस्कुराउँदै भने।

‘किन ?’ मैले सोधेँ।

‘चुराले हात सजिन्छ, झिलिमिली देखिन्छ, तर एक झट्कामा फुट्छ पनि। रङ्गीन त छ, तर क्षणभंगुर पनि छ।’

मैले टोलाएर उनका कुरा सुनेँ। उनका चित्रहरू झिलिमिली थिए। उनको जीवनभोगाइ उस्तै थियो भनेर अनुमान गर्न सकिनँ। उनले जीवनभर संघर्ष गरे। कलालाई कर्म बनाए। तर अन्त्यमा कुनै पहिचान नपाए झैं लाग्थ्यो।

‘सिसाजस्तो पनि त हुन सक्छ, होइन ?’ मैले फेरि सोधेँ।’ उनले गम्भीर मुद्रामा भने, ‘चिटिक्क पारेर राख्यो भने बलियो देखिन्छ, उज्यालो देखिन्छ,। तर एक झट्कामा टुक्रिन्छ। धेरै संवेदनशील हुन्छ, होस गुमायो भने अस्तित्व सकिन्छ।’

मैले उनको अनुहार हेरिरहेँ। उमेरको बोझले खुम्चिएको निधार। तर आँखामा अझै कलाप्रतिको अनुराग झल्किरहेको थियो। उनी आफैं एक सिसाका पात्रजस्ता देखिन्थे- चिटिक्क, तर नाजुक।

‘तर सिसा फुटे पनि टुक्राहरूमा प्रतिविम्ब बाँकी रहन्छ।’ मैले भनेँ।

उनी हल्का मुस्कुराए। ‘त्यसैले त हामी कलाकारहरू क्षणभंगुर जीवन जिउँछौं, तर हाम्रो प्रतिबिम्ब समयभरि रहिरहन्छ।’

मैले त्यो दिन एउटा कुरा बुझेँ-हाम्रो जीवन कहिले चुराजस्तो हुन्छ, कहिले सिसाजस्तो। कहिले रङ्गीन, झिलिमिली, तर नाजुक। कहिले स्थिर, बलियो देखिए पनि एक झट्कामा चकनाचुर। कलाकारहरू पनि यस्तै हुन्।

तिनका सिर्जनाहरू चुराजस्ता झिलिमिली हुन्छन्, सिसाजस्तै संवेदनशील। तिनीहरू आफैं त टुट्न सक्छन्। तर उनीहरूका कला भने समयको ऐनामा सदैव प्रतिविम्बित भइरहन्छन्।

चुराजस्तै जिन्दगीकै सिलसिलामा अर्को घटना सम्झन्छु-

एक साँझ, मेरो प्रिय मित्रले अचानक फोन गरे। उनको स्वरमा केही अनौठोपन थियो। हतार–हतार भेट्न चाहेको सुनाए। हामी शहरकै एउटा पुरानो चियापसलमा भेट्यौँ। उनी अलि थाकेका, तर उत्सुक देखिन्थे।

‘जीवन साँच्चै अचम्मको छ, है!’ उनले सुस्केरा हाल्दै भने, ‘आज बिहान मात्र पुरानो साथीको खबर आयो। अब उनी रहेनछन्। भर्खरै त भेट्ने योजना बनाएका थियौँ।’

मैले केही भन्न सकिनँ। जीवनको अनिश्चितता, क्षणिकता- सबै कुरा एकैचोटि मनभरि गुञ्जन थाले। जिन्दगी साँच्चै विश्वासघाती लाग्छ कहिलेकाहीँ। हिजो मात्र भेटेको मान्छे, भोलिपल्ट बिदाइका शब्दहरूमा सीमित हुन सक्छ।

हामी दुवै मौन भयौँ। चियाको कपमा देखिएको बाफजस्तै हाम्रो वार्ता केही समय अल्पविराममा रह्यो। हावासँगै उडेर विलायो।

उनले टेबलमा औंला टक्टक्याउँदै भने, ‘तिमीले निबन्ध लेख्यौ नि, त्यही– जिन्दगी प्याट्ट फुटेको चुरा हुनसक्छ भनेर। साँच्चै, जिन्दगी त यस्तै रहेछ। एकछिन चम्किन्छ, फेरि आफैँ टुक्रिन्छ। सिसा जस्तै।’

मैले सहमति जनाएँ। मैले लेखेको निबन्धको भावना अहिले हाम्रो बीचमा जिउँदो भएर उपस्थित थियो। हामीले एकअर्कालाई हेर्‍यौं।

जीवनले कतिखेर, के उपहार दिन्छ, के खोस्छ, कसैले जान्दैन। कुनै अधूरा प्रश्नहरू भोलिका लागि राखेर नसोधिने स्थिति आउन सक्छ। त्यसैले मन्दिरमा बलिने दियो झैँ बलेको बेला झलमल्ल बल्नुपर्छ, सम्बन्धहरूलाई खुलेर आत्मीयताले सिँगार्नुपर्छ।

मैले उनलाई सोधेँ, ‘भेट्ने योजना थियो भने किन ढिलो गर्‍याै ?’

उनले लज्जित मुद्रामा मुस्कुराए। ‘बेलैमा भनेको भए, भेट्न सकिन्थ्यो होला। तर हामी सधैँ समय बाँकी छ भन्ने ठान्छौँ। आखिर जिन्दगी त चुराजस्तै रहेछ।’

त्यस साँझ, हामीले धेरै कुरा गर्‍यौं- केही अधूरा इच्छाहरू, कतिपय अपूरा संवादहरू। जिन्दगीको अस्थिरतालाई महसुस गर्दै हामी छुट्टियौँ। त्यसबेला, मलाई फेरि आफ्नै निबन्धका लेखकीय भावहरूको सम्झना आयो।

हो, जिन्दगी साँच्चै प्याट्ट फुटेको चुरा पनि हुनसक्छ। त्यसैले, जे भन्नुछ, आजै भनौँ। जे गर्नु छ, आजै गरौँ। किनभने भोलि कसैलाई थाहा छैन। भोलिको भरोसमा नबसौं।

हामी कति निर्दोष र चम्किला हुन्थ्यौँ, चुरा जस्तै निख्खर, सिसा जस्तै सफा। समयसँगै जीवनले धक्का दिँदै लाने, केही सम्झनाहरू चिप्लिने, केही त चकनाचूर हुने। तर जबसम्म पूर्ण रूपमा भाँचिन्न, जिन्दगीको रङ्गीन पल बाँकी नै रहन्छ।

केही वर्षअघिको एउटा घटना सम्झिएँ। मेरो कलाकार साथी शान्तकुमार राईसँग उनकै निवास भैसेपाटीमा खानपानसँगै गफिएका थियौं। जीवन, भविष्यका योजना, सिर्जना-साधना यी सबै विषयमा खुलेर कुरा भयो। हामीले ठूलो आत्मविश्वासका साथ योजना बुनेका थियौँ। कलाकार्यशाला, कलासमीक्षाको गोष्ठी गर्ने आदि।

मानौं भोलि हाम्रो नियन्त्रणमै छ। ‘हामीले धेरै नै काम गर्नु छ।’ उनले भनेका थिए।

‘धेरै कुरा गर्नु छ, तर पहिला तपाईले आफ्नो स्वास्थ्यको पनि ख्याल राख्नुहोला।’ मैले अनायासै भनेको थिएँ। उनले पनि मलाई यही कुरा दोहोर्‍याएर भनेका थिए।

त्यो बेलासम्म मलाई लाग्थ्यो, जिन्दगी भनेको योजनाबद्ध यात्रा हो। तर शान्तको कथा कहिल्यै पूरा भएन। केही दिनपछि ऊ दिदीको निम्तोमा युरोप भ्रमणमा गयो। लामो युरोप भ्रमणबाट नेपाल फर्किएर भ्रमणको वार्ता गर्नै नपाइ ऊ अस्पताल भर्ना भयो।

कलाकार श्रीजनकुमार राजभण्डारी र म उसलाई अस्पतालमा भेट्न गयौं। विचरा उसको अवस्था देखेर हामी भत्रक्र्क गल्यौं। त्यस्तो हट्टाकट्टा ज्यानको साथी हाडछालाको अस्थिपञ्जरमा झरेको थियो। केही सातापछि हामीलाई छाडेर, सबै योजनाहरू अधुरै राखेर ऊ सादाका लागि गयो।

त्यो घटनाले मलाई नराम्ररी हल्लाइदियो। योजना, आकांक्षा, सपना सबै क्षणभरमै टुक्रिन सक्छन्। जीवन साँच्चै विश्वासघाती हुनसक्छ। चुराजस्तै प्याट्ट फुट्न सक्छ। त्यसपछि म धेरै सोच्न थालेँ- के जिन्दगीमा पछुताइरहने गरी इच्छाहरू अधुरा राख्नु उचित छ त ? के चाहिएको हो, त्यो अहिले नै किन नगर्ने ?

आज पनि जिन्दगीले मलाई अनेक प्रश्न सोध्छ। तिमीले के लेख्न चाहन्छौ ? के भन्न चाहन्छौ ? के देख्न चाहन्छौ ? यदि यी प्रश्नहरूलाई टारिरहेँ भने, भोलि मसँग जवाफ दिने अवसर नहुन सक्छ।

भित्तामा सजाइएको चित्र हेर्दै म केहीक्षण मौन रहेँ। त्यो पुरानो भए पनि अझै चम्किरहेको थियो। चित्रलाई सुरक्षा–कवज दिने सिसाको कुनै भरोसा थिएन। तर चित्र सधैं बाँचिरहन्छ। म त्यो कलात्मक चमकमा एउटा निबन्ध देख्न थालेँ- ‘चुरा जस्तै जिन्दगी, सिसा जस्तै जिन्दगी।’

जीवनका अधुरा इच्छाहरू पूरा गर्ने संकल्पको लेखनमा डुब्दै गएँ। आखिर जिन्दगी आज छ, भोलि छैन– चुरा जस्तै, सिसा जस्तै। इच्छाहरू अधुरा राख्नुभन्दा, तिनलाई पूरा गर्नका लागि केही न केही गर्नुपर्छ। भोलि भाँचिनुपरे पनि, आज बाँच्नुपर्छ।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *