कसरी हाँस्न सिकौं सन्नाटामा हामी?

गेहनाथ गौतम
३ चैत २०८१ १०:५७
1.6k
Shares

उनले पल्टाउँदै गइन्, काँपेका हातले
कपडाका पोकाहरू, साडीका सप्काहरू
सानो बुटिस र उनीको चोलो
प्रयोग गरिरहेको रूमाल र पछ्यौरी
पातलो धोती र पेटीकोटहरू
उनीका न्याना टोपीहरू।

जाडोका लुगाहरू
गर्मीका हल्का पहिरन
औषधीका चक्कीहरू
रक्तचाप, थाइराइड र ग्यास्ट्रिक
खोकी र यस्तै यस्तैको
आँखा रसिलो बनाउने थोपा
अक्सिजन बनाउने मेसिन
नाकसम्म लैजाने पाइप।
अहिले देखिन्छ अर्थहित सबै
यी सबैले कसैलाई पर्खिरहे जस्तो
आफ्नै उपयोगिताको महत्व खोजे जस्तो।

धनकी देवी लक्ष्मीको चित्र
आफ्ना प्रिय दाजुको तस्वीर
हाम्रै तस्वीहरूको सङ्गालो
चम्चा, प्लेट र गिलासहरू।
हेर्दै जाँदा डसना मुनि
प्लास्टिकका नयाँ पुराना झोलाहरु
ओच्छ्यानमा तन्ना र सिरकको जोडी
सिरानी र तकियाको थुप्रो
सबैतिर उहाँकै मगमग सुवास
धोएर पखाल्न मनै नलाग्ने स्मृति।

जतन जगेडाको दसी प्रमाण
रूद्राक्षको माला, सातु र हर्लिक्स
दुई चार ओटा पुराना सिक्काहरू
भैट्न आउनेलाई बाँड्न बाँकी रहेका
अलिकति मिश्री र चकलेटरूरू
सानो कन्तुर र त्यहाँभित्र गहनाहरू
हामीलाई अर्थहीन लाग्ने पोकाहरू
कठै, उहाँलाई मनपर्ने बस्तुहरू।

अहिले झन् नियास्रो थपिँदो रहेछ
सन्नाटामा उहाँकै खोजी हुँदो रहेछ
ढलेको वृक्ष उठ्दैन, थाहा छ
विलाएको अस्तित्व फर्किन्न थाहा छ
तर आँखाहरू किन त्यही खोजिरहन्छन्
सम्झँनाले परेला भिजाएका आँशु
देखाउन पनि मन छैन
लुकाउन पनि सकिन्न।

किनकी हामीले छहारी गुमाएका छौँ
शितलपनको अभावमा तड्पिएका छौँ
के यो सबै देखिन्छ र कहीँबाट?
प्रतीक्षा उस्तै छ पहिले झैँ
विधाताले मानुन् वा नमानुन्
फेरि नजिकै आएर
उस्तै आवरणमा टुक्रुक्क उभिएर
उही हाउभाउमा लवज मिलाएर
मायालु नजरले पुलुक्क हेर्दै
स्नेही हातले शीर थपथपाउँदै
वर्षाउन मिल्दैन ममताको झरी?
भर्न मिल्दैन आशिर्वादको थाली?

साँच्चै,
अब कहिल्यै भेट हुन्न रे हाम्रो,
कसरी हाँस्न सिकौँ सन्नाटामा हामी?


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *