लघुकथा: यदाकदा
दीपक चोकमा निस्केको के थियो, एउटा बाइक बेतोडमा आयो।
कसो ठोक्काएन!
दीपकले हेल्मेट खोलेर आँखामा आँखा जुधाएर भन्यो ‘सुट गतिलो लगाएर मात्र पुग्दैन, मिस्टर! बाइक पनि सही तरिकाले हाँक्नु पर्छ।’
हरियो बत्ती बलेपछि दीपक अगाडि घुँइकियो।
अर्को चोकमा रातो बत्ती बल्दा दुबै बाइक कसोकसो सँगसँगै रोकिएछन्।
यसपटक त्यो अगाडि लाग्यो।
दीपक पार्टीमा जाँदै थियो- विवाह पार्टीमा।
बाइक पार्किङ गरेर फर्किँदा दीपकले उसलाई पनि त्यही पार्टीमा देख्यो। देखादेख भयो, ऊ मुसुक्क मुस्कुरायो।
दीपकले मनमनै भन्यो- ‘अघि कसो हात हालाहाल भएको थिएन, अहिले हाँस्छ!’
पार्टीमा दीपकका साथीहरू आउन बाँकी थियो, दुइटालाई फोन लगायो, दुइटैले ‘आउँदै छु’ भने।
यसपटक दीपक आफैं त्यही नजिक गयो र भन्यो- ‘लौ, तपाईं पनि यहीँ!’
श्याम रहेछ- त्यसको नाम। बैंकको जागिरे। उसको ससुराली पनि सुखनगरका बजगाईं। लगत्तै साँडदाजु र साँडभाइ भई हाले। बसोबास पनि नजिकैनजिकै।
श्यामले भन्यो- ‘माफ गर्नु होला!’
तुरून्तै दीपकले भन्यो- ‘यदाकदा त्यस्तो भई हाल्छ नि।’
पार्टीबाट दुबै सँगसँगै फर्किए।
त्यसपछि बाक्लै भेटघाट हुन थाल्यो, घनिष्ठता बढ्यो। हँस्सीमजाक पनि हुन थाल्यो। बजगाईं चेलीहरूका बीच आउजाउ पनि बढ्यो।
आज दीपकले घरमा परिवारै बोलाएको छ। श्यामले छोरालाई सुटमा चिटिक्क पारेर ल्याएछ।
छोरो नानीको साइकलमा बसेको थियो, लडायो। श्यामले भन्यो- ‘सुट मात्र गतिलो लगाएर पुग्दैन, मिस्टर! …’
आज पहिले झै तनाव भएन, रमाइलो भयो।
No ads found for this position


Facebook Comment