लघुकथाः आवेश

ईश्वर पोखरेल
१६ चैत २०८१ ७:२७
408
Shares

बाझाबाझ चल्दै थियो-जेठी र कान्छीका बीचमा।

जेठी धेरै मोटी, कान्छी खिनौटी।

‘बढी बोल्छेस् तँलाई ढुंगाले प्याक्क हानेर ठाउँका ठाउँ लडाई दिऊँ?’ कान्छीको आवाज।
‘तँलाई त म हत्केलामा राखेर किचिपिची पारी दिन्छु;, अनि देख्छेस्।’ जेठी बोली।

‘त्यत्रो ज्यान छ। यसले त साँच्चै किचिपिची नै पार्छ होला।’ रमिता हेर्न उभिएको केटाले खुसुक्क साथीसँग भन्यो।
बाजाबाज उत्कर्षमा पुग्नै लागेको बेला जेठी पुक्लुक्क लडी।

कोकोहोलो मच्चियो।

जान्नेबुझ्ने मान्छे जम्मा हुँदानहुँदै जेठी परपर हेर्न थालिसकेकी थिई।
जान्नेले जेठीको नाडी छाम्यो र ओठ लेप्रायो।

‘जेठी भाउजूले ब्लडप्रेसरको औषधि नियमित खान्नथिइन् कि कसो हो ?’ हेल्थपोस्टको अहेब बोल्यो।
उसको प्रश्नपछि केहीबेर सन्नाटा छायो।

जेठीको प्राणपखेरु उडिसकेकोमा सबै स्पष्ट भए।

‘ह्वाँ…! अब मैले कसलाई दिदी भन्नु !!’ कान्छीले नै कंकलाशब्द निकालेर रुने कामको भव्य आरम्भ गरी।

‘अघिसम्म जसका लागि त्यति साह्रो कुभलो सोचियो, उसैका लागि यस्तो बिलौना नगरेको भए हुने-यति चाँडै ।’ धेरैको मनमा हुँडलियो यो कुरा।

एकजना वृद्धाको थर्थराउँदो आवाज सुनियो- ‘तिमीहरू यता सौतासौता, उता माइतमा चै साख्खे दिदीबहिनी हौ क्यारे; होइन त?’
बृद्धाका कुराले कान्छीको मनमा अझ नुनचुक छरियो।

उसलाई सम्हाल्न कसैले सकेन।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *