कविता: याद !
सम्झनाको फिरफीरे
मन को आकाशमा घुम्दै फिरिरिरिरी
बतास सँगै
आउँछन् अनि जान्छन्
जीवन दिनचर्याको मझेरीमा
अद्भुत यादहरु-
मलाई म जस्तै बनाउन साथ दिनेहरु
मलाई दुखेर पीडा हुँदा रुझ्ने नयनहरु
म बाटो भुलेर अलमलमा पर्दा
डोर्याएर बाटो देखाउने साथहरु
कोही छुटेर टाढा पुगे
कोही भुलेर बिस्मृत हुँदै गए।
तर बेला बखत
आइरहन्छन् प्रीय यादहरु…
०००००
कहिलेकाही यादहरु
सबैभन्दा प्रिय मान्छेको
मुखमा दागबत्ती दिएको पल बनेर आउँछन्
कहिलेकाही सबैभन्दा शक्तिशाली सम्झेको
सुपर हिरोको
पार्थिव शरीर चित्तामा लडेको क्षण बनेर सताउ छन्
मलाई नै ओझेलमा पारेर।
बग्रेल्ती आउँछन्-
अनि फर्की जान्छन् यादहरु
भौतिक रुपमा भेट्न मुस्किल
एक होइन अनेकन यादहरु-
याद हरु आउँछन्।
जिस्काउँछन्-फकाउँछन् रमाउछन् अनी फर्कन्छन्
कति यादहरु हल्ला गर्दै आए
चुपचाप गए।
कति यादहरु
हतारिँदै मुटुको जस्केलोबाट छिरे
अनि मनका पर्दा हटाउँदै
लुसुक्कै निस्किए।
केही नभनी चुपचाप
पहिलो पटक भेटघाट भएको प्रेमी र प्रेमिका जसरी
०००००
साच्चिँकै यादहरु
आदिम पुरानो खण्डहर वस्तीझैँ
उजाड बनेर उराठ छोडेर गए
अनि थुप्रै यादहरु
खुशी को आवादी बोकेर आए
खण्डहर बनेर बग्नावशेषे भएका
जीवनको पठार भरी
शरद र वसन्त नाँच्न थाले
बेली र चमेली कोकिल कण्ठमा गाउन थाले
एउटै जीवनकालमा
अनेकन यादहरु
साँझमा साँझ बनेर अस्ताए
बिहान मिरमिरेको साथ
घाम बनेर उदाए।
साँच्चिकै जीवन भनेको त
केवल यादै यादको
थाक न त रहेछन्
याद गरेर सम्झनेहरुको निम्ति
भुल्दै बिर्सेर याद नगर्नेहरुको निम्ति
हाल- लिमासोल,साईप्रस
No ads found for this position


Facebook Comment