युक्रेनमा १ करोड ३० लाख मानिसलाई तत्काल मानवीय सहायताको आवश्यकता
कीभ। युक्रेनमा एक करोड ३० लाख मानिसलाई तत्काल मानवीय सहायताको आवश्यकता रहेको मानवतावादी मामिलाका लागि राष्ट्रसंघीय उपमहासचिव टम फ्लेचरले बताएका छन्।
युक्रेनीहरुको अवस्थाबारे सुरक्षा परिषद्लाई जानकारी दिँदै संयुक्त राष्ट्रसंघका राहत प्रमुखले अन्तर्राष्ट्रिय समुदायलाई सहयोग र समर्थन गर्न आह्वान गरे। उनले द्वन्द्वरत पक्षले अन्तर्राष्ट्रिय कानूनअनुसार नागरिकको रक्षा गर्नु पर्ने विषयमा जोड दिए।
उनका अनुसार रूस–युक्रेन युद्धका कारण लगभग ३७ लाख युक्रेनी विस्थापित भएका छन् भने सात लाख हाल शरणार्थीका रूपमा बाँचिरहेका छन्। यसै गरी रूसले कब्जा गरेका डोनेट्स्क, खेरसन, लुहान्स्क र जापोरिझ्जियाका अनुमानित १५ लाख नागरिकसम्म पुग्न असमर्थ रहेको मानवीय सहायताकर्मीहरूले बताएका छन्।
बढ्दो आवश्यकताका बावजुद युक्रेनमा दुई अर्ब ६० करोड अरब डलर राष्ट्रसंघीय नेतृत्वको मानवीय प्रतिक्रिया योजनाले आवश्यक कोषको १७ प्रतिशत मात्र प्राप्त गरेको जनाइएको छ।
रूसी राजदूत भासिली नेबेन्जियाले युक्रेनी मिडियाले आफ्नो देशलाई जानाजानी शान्ती प्रयासलाई कमजोर पार्ने देशको रूपमा चित्रण गरिरहेको बताएका छन्।
यसैबीच संयुक्त राष्ट्रसंघका लागि युक्रेनकी स्थायी प्रतिनिधि क्रिस्टिना हायोभिशिनले आफ्नो देशमा भएको आक्रामक कार्यका लागि रूस जवाफदेही बन्नुपर्ने बताएकी छन्। उनले युद्ध अन्त्य गर्न छलफल मात्र नभए वास्तविक दबाब दिन आवाश्यक रहेकोसमेत बताइन्।
हायोभिशिनले रूसले तत्काल ३० दिनको अन्तरिम युद्धविरामका लागि अमेरिकी प्रस्तावको जवाफ दिई युक्रेन विरुद्धको आक्रमक युद्ध समाप्त गर्नुपर्ने बताइन्।
संयुक्त राज्य अमेरिकाको प्रतिनिधित्व गर्दै कार्यवाहक प्रतिनिधि डोरोथी सियाले आफ्नो देश न्यायपूर्ण र स्थायी शान्ती प्राप्त गर्न प्रतिबद्ध रहेको बताए। उनले रूस र युक्रेनसँगको द्विपक्षीय संलग्नतामा अमेरिकाले पूर्ण युद्धविरामको प्रस्ताव गरेको उल्लेख गरे।
शान्ती कायम गर्नका लागि युक्रेन र रूसले पहिले नै गरिसकेका युद्धविराम प्रतिबद्धताहरू पूर्ण रूपमा कार्यान्वयन गर्नुपर्ने बताउदै उनले पूर्ण रूपमा कार्यान्वयन गरियो भने जीवन रक्षा र जीविकोपार्जनमा सुधार हुने बताए।
No ads found for this position


डिसी नेपाल
Facebook Comment