‘सगरमाथा संवाद’का विशिष्ट पाहुनालाई देखाइयो सगरमाथा

डिसी नेपाल
४ जेठ २०८२ १०:५१
116
Shares

काठमाडौं। बहुप्रतिक्षित ‘सगरमाथा संवाद’मा सहभागी विशिष्ट विदेशी पाहुनालाई हिमशृङ्खला दृश्यावलोकन गराइएको छ। पर्वतीय उडान (माउन्टेन फ्लाइट)मार्फत उनीहरूलाई सर्वोच्च शिखर सगरमाथासहितका हिमालको दृश्यावलोकन गराइएको हो।

वन तथा वातावरणमन्त्री ऐनबहादुर शाहीको नेतृत्वमा विदेशी पाहुना ‘माउन्टेन फ्लाइट’मा गएका थिए। यसका लागि परराष्ट्र मन्त्रालय र नेपाल पर्यटन बोर्डले समन्वय गरेका थिए। करिब एक घण्टाको ‘माउन्टेन फ्लाइट’मा सहभागीले नीलो आकाशमुनि चाँदीका घेराझैँ टल्किने मनमोहक हिमशृङ्खलाको दृश्यावलोकन गरेका थिए।

साहसिक गन्तव्यको प्रवर्द्धन गर्ने उद्देश्यले विदेशी पाहुनालाई ‘माउन्टेन फ्लाइट’ गराइएको नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले जानकारी दिए।

‘जलवायु परिवर्तन, हिमाल र मानव जातिको भविष्य’ विषयक पहिलोपटक आयोजित अन्तरराष्ट्रियस्तरको ‘सगरमाथा संवाद’मा स्वदेशी र विदेशी गरी तीन सय ५० जनाभन्दा बढी विशिष्ट व्यक्तिको सहभागिता छ।

नेपालका केही निजी वायुसेवा कम्पनीले पर्वतीय उडान भर्दै आएका छन्। त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट बिहान ७ः०० बजे पर्वतीय उडान हुने गरेको छ। पर्वतीय उडान करिब एक घण्टाको हुने जनाइएको छ। उडानमा सगरमाथा, मकालु, नुप्से, गौरीशंकरलगायत अन्य हिमशृङ्खलाको मनोरम दृश्य हेर्न सकिन्छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.