माझी समुदायको सक्रियता : नदीबाट बस्ती जोगाउन गाउँ नै उठेर श्रमदान

डिसी नेपाल
४ जेठ २०८२ ११:५१
228
Shares

रामेछाप। गएको भदौ र असोज महिनामा तामाकोशी नदीमा आएको बाढीले निक्कै क्षति पुर्‍यायो। बस्ती नजिकै तामाकोशी नदी पसेर कटान गर्‍यो।

फेरि त्यस्तै बाढी नदीमा आयो भने बस्ती जोखिममा पर्ने अवस्था सिर्जना भयो। नदीले बस्तीमा नै क्षति पु¥याउने अवस्था सिर्जना भएपछि मन्थली नगरपालिका–८ गाईखुराका माझी समुदायको बैठक बस्यो।

बस्ती जोगाउन के गर्ने ? समूहमा लामै छलफल भयो। ग्याभिनवाल लगाउन पाए गाउँ जोगिन्थ्यो भन्ने निष्कर्ष निस्कियो। ‘ग्याभिन वाल लगाउन जाली खोजियो, विपद् व्यवस्थापन समिति रामेछाप मार्फत पाँच लाख रुपैयाँ आयो।

करिब १५ मिटर जाली भर्ने, खेल मैदान सम्याउने र खानेपानीको इनार संरक्षण गर्ने काम गर्दा सो पैसा सकियो। पूरै गाउँ संरक्षण गर्नेगरी तारजाली पाइएन, पुगेन’, स्थानीय बालकृष्ण माझीले भने।

ल्याएको तारजाली स्थानीयले भरे। तर तारजालीको पर्खाल अपुरो भयो। ‘अब के गर्ने ? बुढापाकाहरूले फुको गाह्रो लगाउने उपाय निकाले, पहिला पहिला पनि चौडा खालका फुको पर्खाल लगाउने चलन थियो। त्यस्ता फुको पर्खालले नदी कटान जोगाउन निक्कै सहयोग गरेका थिए। हाम्रो गाउँमा पनि पुरानो फुको गाह्रो थियो। त्यसैले फुको गाह्रो लगाउने निष्कर्षमा पुगेका हौँ’, बालकृष्णले भने।

त्यसपछि गाइखुराका माझीहरू घरलौरी श्रमदानमा निस्किए। श्रम गर्नेहरूको लागि घरमा नै स्थानीय मुन (जाँड) तयार भयो। तिहारमा देउसी खेलेर जम्मा गरेको रकमबाट खाजाको बन्दोबस्त गरियो।

बिहान ५ बजेदेखि नदीका ढुङ्गा नतात्दासम्म श्रमदान गर्न गाउँलेहरू जुटे। के महिला, के पुरुष सबै सराबरी खटे। लगातार एक हप्ता ४० देखि ५० जनासम्मले श्रमदान गरे। श्रमदान गरेरै स्थानीयले लामो सुक्खा पर्खाल लगाएका छन्। सो पर्खालले गाइखुराको ८५ घरधुरीलाई जोगाउने स्थानीयको विश्वास छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *