सदनमा रास्वपा सांसदको नाराबाजी, विनियोजन शीर्षकमाथि छलफल जारी

डिसी नेपाल
८ असार २०८२ १२:०९
32
Shares

काठमाडौं। प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को विरोध र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को बहिस्कारका बीच प्रतिनिधिसभाको आजको बैठक जारी छ

बैठकमा विनियोजन विधेयक, २०८२ अन्तर्गत राष्ट्रपति कार्यालय, उपराष्ट्रयलसहित विभिन्न मन्त्रालयसहित विनियोजनका विभिन्न शीर्षकमाथि छलफल भइरहेकाे छ।

आजको बैठक सुरू हुनेबित्तिकै प्रतिपक्षी दल रास्वपा र राप्रपाका सांसदले आफ्नो आसनबाट उठेर विरोध गरे।

सभामुख देवराज घिमिरेले बैठक नियमित सञ्चालन गरी आर्थिक विधेयक पारित गरेर आगामी आर्थिक वर्षको बजेट पारित गर्नुपर्ने भएकाले बैठक सञ्चालनको वातावरण बनाइदिन आग्रह गरे। तर उनीहरुले सभामुखको आग्रह मानेनन्।

बैठकमा रास्वपाका अशिम शाहले ‘भिजिट भिसा’ प्रकरणमा तत्काल निष्पक्ष छानबिन नभएसम्म आफूहरुको विरोध जारी रहने बताए। सदन एक महिनादेखि विरोध भइरहे पनि सुनुवाइ नभएको गुनासो गरे। राप्रपाका धवलशमशेर राणाले तीनकुने घटनाको निष्पक्ष छानबिन गर्न माग गरे।

त्यसलगत्तै सभामुख घिमिरेले बैठक नियमित कार्यसूचीमा प्रवेश गर्ने घोषणा गरेपछि रास्वपाका सांसदले नाराबाजीका साथ वेल घेराउ गरिरहेका छन्। बैठक सञ्चालनका लागि वातावरण बनाउन सभामुखसँग माग गर्दै सत्तापक्षका सांसदहरुले पनि रास्वपा र राप्रपाका सांसदहरुलाई अवरोध नगर्न अनुरोध गरे।

आजको बैठकमा विनियोजन विधेयक, २०८२ अन्तर्गत युवा तथा खेलकुद मन्त्रालय, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, अर्थ मन्त्रालय, सहरी विकास मन्त्रालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालय, राष्ट्रप्रतिको कार्यालय एवं उपराष्ट्रपतिको कार्यालयको शीर्षकमाथि छलफल हुनेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *