नारायणहिटी दरबार अगाडि ‘काग सम्मेलन’

डिसी नेपाल
२ कार्तिक २०८२ १०:४८
224
Shares

काठमाडौं।काग तिहारका अवसरमा कलाकार रमेश दुलाल ‘कागे’ले राजधानीको नारायणहिटी दरबार संग्राहलयद्वार अगाडि ‘२२औं काग सम्मेलन’ सम्पन्न गरेका छन्।

टप राजधानी रोधी र ग्रीनसिटी अस्पताल वसुन्धाराको सहआयोजनामा भएको कार्यक्रममा दुलालले आफ्नो विशेष कला प्रस्तुत गर्दै कागलाई आकर्षित गरे। आज बिहान पौने ६ बजे सुरु भएको कार्यक्रममा उनले कागको आवाज निकाल्नासाथ काग भेला भएका थिए।

दुलालले कागसहित १७३ प्रकारका जनावर र चराचुरुंगीका आवाज नक्कल गर्छन्। उनीसँग मुखकै सहायताले मादल, सनाई, सारंगी, पियानो, ड्रम सेट, मुर्चुंगा र गितारको धुन निकाल्ने कला पनि छ।

उनका अनुसार, विगतका वर्षहरूमा उहाँले कहिले रत्नपार्कस्थित शान्ति बाटिकामा, कहिले विमानस्थल परिसरमा, त कहिले सामाजिक सन्देशसहित ‘काग सम्मेलन’ गर्दै आएका छन्। दुलालले भने, “काग तिहारको दिन काग सम्मेलन गर्न थालेको अहिले २२ वर्ष भयो । कागलाई यमराजको दूतका रूपमा मानिन्छ । यसपटक भने शुद्ध सांस्कृतिक उद्देश्यले यो सम्मेलन गरेको हुँ।”

काग तिहारलाई धार्मिक र सांस्कृतिक दुवै अर्थमा मनाइने परम्परालाई जोगाउन तथा जनचेतना जगाउन दुलालको यो कार्यक्रमलाई उपस्थित दर्शकहरूले सराहना गरेका छन् भने बहुप्रतिभाको धनी दुलालको चर्चा गरेका छन्।

कार्यक्रमको मुख्य प्रायोजकमा मोर्डन राप्ती रियल स्टेट र भरत विश्वकर्मा रहेका छन् भने सहप्रायोजकमा ह्याम्स हस्पिटल, शंकरप्रसाद आचार्य, चुडा मैनाली, होराइजन स्पा, नौकरी नेपाल र शान्ति तथा ग्रामीण विकास केन्द्र नेपाल रहेका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.